‘नगरपालिकाले नगरबासीको प्रेसर थेग्न सकेन’

गाउँगाउँमा सूचना प्रवाह गर्नु कार्यालयको कर्तव्यः इ.न.पा.

इलाम, ३० असारः इलाम नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अनुसार यस आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार नगरपालिकाको वडा नं. ५ स्थित महमाई निम्न माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । तर इलाम नगरबासीहरुले यस सार्वजनिक कार्यक्रमलाई केबल झारा टार्ने माध्यमको रुपमा लिएका छन् । उनीहरुले इलाम नगरपालिकाले नियतबस बिहीबार साप्ताहिक हाटको दिन पारेर विरोधको आवाज नउठोस् भनि अपायक स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको बताएका छन् ।
इलाम नगरपालिका वडा नं. १ मा फोटो स्टुडियो व्यवसाय संचालन गरेर बसेका बिक्रम श्रेष्ठ भन्छन्– ‘नगरपालिकाले बिहीबार हटियाको दिन पारेर त्यो पनि निकै टाढा सार्वजनिक सुनुवाई गर्नु भनेको नगरबासीको सक्रिय उपस्थिती नहोस् भन्ने नैं हो । पक्कै पनि नगरपालिकाले हामीले उठाउन मुद्दाको प्रेसर थेग्न नसकेरै व्यस्त दिन पारेर सहभागिता कम हुने स्थानमा कार्यक्रम आयोजना गरेको हुनुपर्छ ।’ यता इलाम चस्मा घर सञ्चालन गरेका अर्का व्यवसायी शैलेस श्रेष्ठले भने हामीलाई कार्यक्रम गरेको स्थलसँग गुनासो छैन तर बिहीबारको दिन पारेर कार्यक्रम गर्नु भनेको हाम्रो सहभागिता नहोस भन्ने नैं हो । वर्षाको बेला अलिअलि व्यापार हुन्छ, त्यो व्यापार छाड्नु कि सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिता जनाउनु ? उनी उल्टै प्रतिप्रश्न गर्छन् ।
इलाम बसपार्कमा इलामको उत्पादन बिक्री गर्ने सुवास न्यौपानेलाई नगरपालिकाकाको यो शैली प्रति चित्त बुझाउदैनन् । उनी भनछन्– ‘नगरको अधिकांस समस्या वडा नं. १ र २ मा छ । समस्याहरुको उठान गर्ने वडाकै प्रतिनिधित्व नभएको सार्वजनिक सुनुवाई औचित्य के रहयो र । कार्यालयले किन आफ्नो महत्वपुर्ण कार्यक्रम सहभागिता कम हुने ठाउँमा गरयो कारण दिन सक्नु पर्दछ ।’ 
आफ्नो धारामा नौ महिना देखि खानेपानी नआएको तर पानी र सरसफाईको शुल्क भने तिरिहेको कुरालाई यसपटक सार्वजनिक सुनुवाईमा उठाउने तयारीमा रहेका इलाम न.पा–२ का कृष्ण भक्तराज तब जिल्लिए जब सार्वजनिक  सुनुवाई कार्यक्रम आयोजना स्थल भञ्ज्याङ हो भनेर सूचना पाए । ‘आज बिहीबार सुनुवाई कार्यक्रममा जानु कि यता छोरा–बुहारीको पसलमा सघाउनु ? हटिया दिन देखि बाहेक कार्यक्रम आयोजना गरिदिएको भए हामीलाई सहज हुन्थ्यो ।’
क्रियाशिल युवा व्यवसायीहरुले विगत केहि महिना अघिदेखि उनीहरुकै शव्दमा उठान गरिरहेको ‘ढाड सेक्नेगरी कर बृद्धि’को कुरा यसपटक अलिक सघन ढंगले आवाज आउने भएर सुनुवाई कार्यक्रमलाई व्यस्त समयमा पारिएको अनुमान छ बच्चाका सामाग्री बिक्रेता किड्स वल्र्डका प्रोपोराइटर केशब खनालको । उनी भन्छन्– यस्तो कार्यक्रम जुनै स्थानमा गरेपनि केहि फरक पर्दैन, हामी उपस्थित हुन्छौं तर समय अलिक भएन, बुधबार वा शुक्रबार गर्दा के पो बित्थ्यो र ? यता इलाम नगरपालिकाको कार्यालय इलामले इलाम नगरपालिकाका १ र २ वडालाई मात्र इलाम नगरपालिका भन्ने आम बुझाई हुनु गलत भएको बताएको छ । 
इलाम नगरपािलकाका अधिकांश सेवा सुविधालाई पनि नपाले १ र २ वडामा मात्र केन्द्रित गरेको अन्य वडाबासीले गुनासो गर्दै आएका छन् । सरकारको विकेन्द्रिकरणको नीति र बटम टु टपको एप्रोचलाई पनि आत्मसाथ गर्न यसपटक भञ्ज्याङमा कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । यसै सन्दर्भमा नगरपालिकाका शाखा अधिकृत राम शाहले भने, ‘हाम्रा लागि सबै वार्डका बासिन्दा हाम्रा लागि समान छन्, बर्षौ देखि सबै वार्डका मानिसहरु १ र २ वडामा भएको कार्यक्रममा सहभागीता जनाउदा भएको थियो भने यस बर्ष बाँकी वडाका नागरिकहरु वडा नं. ५ मा आयेजित कार्यक्रममा सहभागी हुँदा के फरक भयो र !’ 
उनले यसै बर्षदेखि विकेन्द्रिकरणको नीति कार्यन्वयन गरेर भञ्ज्याङमा कार्यक्रम आयोजना गरि उदाहरणीय कार्य गरेकोमा नगरबासीले धन्यबाद दिएको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment