चियालाई भीरको चिण्डो नपारौं

सम्पादकीय

चिया उत्पादन इलामको चिनारी हो । संसारमा मानिसहरुले पेयका रुपमा प्रयोग गर्ने हजारौं पदार्थ होलान् चिया यसमध्ये एक हो । चिया बाहेकका कतिपय वस्तुहरु नेपालीले देखिएको सम्म छैन होला तर चिया प्रयोग गर्ने मात्र नभएर उत्पादनमा महत्वपूर्ण योगदान गर्ने क्षमता विकास गर्न सफल ठानिएको छ– इलाम । इलाममा करिब ८ दशक अगाडि सोक्तिमबाट चिया खेती शुरु गरिएकोमा अहिले इलामका लगभग ६० प्रतिशत मानिसहरु आफैं उत्पादन गरेर चिया पिउँछन् । दजनौं चिया कारखानाहरु खुलेका छन् । उस्तै चिया सहकारीहरु पनि खुलेका छन् । एउटा उत्साह थियो– नगदेबालीमा चिया सर्वोत्तम हो । सरकारी प्रोत्साहन र बैंकहरुबाट ऋण सहयोग पनि जनताले पाएका हुन् । पर्याप्त मात्रामा चियाले किसानहरुलाई आकर्षण गर्यो, घुर्यान र धान फल्ने ठाउँहरुमा किसानहरुले चिया रोपे । शुरुका दिनहरुमा स्थानीय बजारमा खपत हुन सकुञ्जेल किसानहरुले हाते अथोडक्सबाट राम्रो कमाइ पनि नगरेका होइनन् तर जब उत्पादनको मात्रा बढ्दै गयो बजार अभाव हुन थालेको हो । यो अभावलाई निजी कारकाखानाहरुको स्थापनाले पूरा गर्यो । सरकारी भनिएका बगानहरु निजी कम्पनीहरुले ठेक्कामा लिए । आखिर उनीहरुको बजार पनि हालसम्म आन्तरिक र बाहिर भनेको भारत, त्यसमा पनि मोटामोटी दार्जिलिङ रहेको छ । 
चिया खाएर छाक टार्न सकिने उत्पादन होइन । स्थानीय बजारमा यसको माग न्यून छ । उत्पादन भन्दा बजार माग बढि भएमा लाभको मात्र बढ्नु अर्थशास्त्रीय नियम हो । भौगोलिक कारणले चियाको उत्पादन हुन नसक्ने मुलुकहरुमा चियाको अत्याधिक माग रहेको छ तर नेपालमा उत्पादित चिया त्यहाँ पुर्याउने क्षमता विकास गर्न तर्फ हामी लाग्नै सकेनौं । यसका ३ वटा प्रमुख कारणहरु औंल्याउन सकिन्छ ।
हामी उत्पादन केन्द्रित भयौं । कुन गुण र परिमाण भन्ने ख्याल अहिले सम्म गर्न सकेनौं । दोश्रो हामीमा कुशलता र दीर्घ योजनावद्ध प्रतिवद्धता भएन र तेश्रो सर्वसाधारण किसानलाई यसबारेमा सजग गराउने आधिकारिक र बाध्यकारी संयन्त्र भएन । अर्थात सरकारले अन्य क्षेत्रमा जस्तै किसानहरुलाई सापेक्ष सल्लाह र निर्देशन गर्न सकेन । अमेरिकामा चियाको राम्रो बजार छ भनियो तर कसरी, कसले र कस्तो कति चिया लगेर बेच्ने भन्नेमा नत सरकारले हालसम्म चासो राखेको छ न त किसानको क्षमता छ । खुलेका कारखानाहरुले बजारको अवस्था लगभग गोप्य राखेर दलालीकै स्वरुपमा आजसम्म चिया किने । उनीहरुको पनि मुख्य बजार दार्जिलिङ रहेको रहस्य खुल्न आएको छ र यस्तो अवस्थामा जब नेपालको चियामा अन्तराष्ट्रिय मापदण्डको गुण छैन भनेर दार्जिलिङको लोगोमा समुद्रपार बजारमा मिसाएर बेच्न नसकिने अवस्था आयो । अब इलामको चियाले सङ्कट झेल्नु पर्ने देखिन्छ । चिया न दाउरा, घाँस न त घर बनाउन काठमा प्रयोग गरिन्छ । यो उत्पादनको पिक मौसममा आएको यो कुरा यथार्थ हो भने हाम्रो आजसम्मको चिया परिश्रम र गरि खाउला भन्ने अपेक्षा निराकार हुने छ । सरकारले बेलैमा सोचोस् किसानलाई के भन्ने र के गराउने । किसानहरुले सोचौं चियालाई भीरको चिण्डो बनाउने, ल्हासाको सुन बनाउने वा विश्व बजारको मापदण्ड अनुरुपको उत्पादन गर्ने । कारखानाहरु दलालीको शैलीमा छन् भने उनीहरुको प्रतिकार गरौं तर यो नभुलौं अन्तराष्ट्रिय बजारले आधिकारिक शद्धतालाई आधार मान्ने गर्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment