इलाम, २६ असारः नेपालको संविधानको भाग ३३, धारा २९५ को उपधारा (३) र (४) बमोजिम स्थानीय तहको सीमा निर्धारण गर्ने सम्बन्धि स्थानीय तहको सीमाना निर्धारण गर्ने व्यवस्था भए बमोजिम नेकपा एमालेले इलाम जिल्लाको सीमा निर्धारण गरेको छ ।
इलाम एमालेले निर्धारण गरेको इलाम जिल्लाको सीमा निर्धारणमा तीन नगरपालिका, दुई प्रस्तावित नगरपालिका, दुई सम्भावित नगरपालिका र सात गाउँपालिका रहेको आइतबार नेकपा एमाले जिल्ला कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा सीमा निर्धारण कार्यदलका संयोजक तथा एमाले जिल्ला कमिटीका सचिव महेश बस्नेतले जानकारी दिए अनुसार सीमा निर्धारण गर्दा भौगोलिक सामिप्यता र आवगमनको सुगमता, विकास भएको बसोबास र व्यापारिक–प्रशासनिक केन्द्र, व्यापारिक–व्यवसायिक–शैक्षिक–प्रशासनिक पहुँच र सुगमता, भौगोलिक विशिष्टता, प्राकृतिक स्रोतहरुको प्रयोगमा सरलता, बसोबास तथा जनसंख्याको सन्तुलन, ऐतिहासिक तथा सांस्कतिक महत्वका विषयहरुलाई आधार मानेर सीमांकन गरिएको हो ।
प्रस्ताव गरिए अनुसार हालको इलाम नगरपालिकामा साङरुम्बा गाविसको वडा नं. ७ बाहेक सबै वडा, शान्तिडाँडा गाविसको १, २ र ३ नं. वडाहरु, गोदक गाविसको १, २, ३ र ४ नं वडाहरु समेट्नु पर्ने जनाईएको छ । जसको जनसंख्या अठ्ठाईस हजार सात सय ६७ हुनेछ । त्यस्तै सुर्योदय नगरपालिकामा गोदक गाविसको ५, ६, ७, ८ र ९ नं. वडाहरु, लक्ष्मीपुर गाविसको वडा नं. ८ बाहेक सबै वडाहरु समेटिनु पर्ने जनाईएको छ । यसो गर्दा त्यस नगरपालिकाको जनसंख्या तीस हजार नौ सय ५६ हुनेछ । अर्को देउमाई नगरपालिकामा एकतप्पा गाविसका सबै वडाहरु, शान्तिडाँडा गाविसको १, २ र ३ नं. वडा बाहेकका सबै वडाहरु समेट्नु पर्ने बताईएको छ । यस नगरपालिकाको जनसंख्या उन्नाईस हजार चार सय १३ हुनेछ ।
यता प्रस्तावित नगरपालिकाहरु मध्ये चालीस हजार पाँच सय तीस जनसंख्या भएको माई नगरपालिका रहेको छ । जसमा महमाई, दानाबारी, चिसापानी गाविस तथा लक्ष्मीपुर गाविसको वडा नं. ५ समेटिएको छ । जसको केन्द्र दानाबारीको शितलु बजार प्रस्ताव गरिएको छ भने बाईस हजार तीन सय नब्बे जनसंख्या भएको पशुपतिनगर नगरपालिकामा गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ गाविस हुनेछ जसको केन्द्र बौद्धधाम तोकिएको छ ।
त्यस्तै सम्भावित नगरपालिकामा पहिलो चुलाचुली गाउँपालिका रहेको छ । जसमा चुलाचुली गाविसका सबै वडाहरु, बाँझो गाविसको वडा नं. २ र साकफारा गाविसको वडा नं. १ र २ हुनेछ । यसको जनसंख्या बाईस हजार एक सय अन्ठानब्बे हुनेछ र यसको केन्द्र पेल्टीमारी प्रस्ताव गरिएको छ भने दोस्रोमा नामसालिङ, सोयाङ, प्याङ, नयाँबजार र जोगमाई गाविसको संयुक्त रुपमा सिद्धपोखरी गाउँपालिका प्रस्ताव गरिएको छ । यसको जनसंख्या एक्काईस हजार पाँच सय एकसठ्ठी रहनेछ भने यसको केन्द्र नयाँबजार प्रस्ताव गरिएको छ ।
यता प्रस्ताव गरिएको गाउँपालिकाहरुमा पहिलो बाँझो गाविसको वडा नं. २ बाहेकका सबै वडाहरु, साकफारा गाविसको १ र २ नं. वडा बाहेक सबै वडाहरु, इभाङ र गजुरमुखी गाविसलाई समेटी माङमालुङ गाउँपालिका रहेको छ । यस गाउँपालिकाको जनसंख्या सत्र हजार नौ सय पच्चीस रहनेछ भने यसको केन्द्र माङमालुङ बजार अर्थात रक्से बजार हुनेछ । दोस्रोमा लुम्दे, फुएतप्पा, आमचोक र फाकफोक गाविसलाई समेटी फाकफोक गाउँपालिका प्रस्ताव गरिएको छ । प्रस्तावित फाकफोक गाउँपालिकाको केन्द्र आमचोक रहनेछ भने यसको जनसंख्या पन्ध्र हजार आठ सय एकहत्तर हुनेछ । तेस्रोमा चमैता, साखेजुङ र पुवामझुवा गाविस समेटेर रत्न गाउँपालिका प्रस्ताव गरिएको छ । बाघखोर अर्थात प्रस्तावित रत्नबम नगर केन्द्र रहने यस गाउँपालिकाको जनसंख्या बाह् हजार आठ सय त्रिसठ्ठी हुनेछ । चौथोमा बरबोटे, सुम्बेक, सुलुबुङ र माईपोखरी गाविस समेटेर माईपोखरी गाउँपालिका प्रस्तावित गरिएको छ । यसको केन्द्र जसबीरे तोकिएको छ र जनसंख्या सोह् हजार नौ सय उन्नाईस रहनेछ । पाँचौमा माईमझुवा, माबु र जमुना गाविसलाई समेटेर सन्दकपुर गाउँपालिका प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र माबु र जनसंख्या नौ हजार आठ सय अठार हुनेछ । छैठौंमा शान्तिपुर, इरौटार, कोलबुङ र जिर्मले गाविस समेटेर पाथिभरा गाउँपालिका प्रस्ताव गरिएको छ । प्रस्तावित गाउँपालिकाको केन्द्र कोलबुङ र जनसंख्या उन्नाइस हजार एक सय सत्ताईस हुनेछ । र सातौ गाउँपालिकामा जीतपुर, सिद्धिथुम्का र सोयाक गाविसलाई समेटेर सिद्धिथुम्का गाउँपालिका प्रस्ताव गरिएको छ । यसको केन्द्र खान्द्रुङ बजार र जनसंख्या तेह् हजार छ सय अठ्चालिस रहनेछ ।
नेकपा एमाले इलामको पाँचौ सचिवालय कमिटिको बैठकले इलाम जिल्लाको गाउँपालिका तथा नगरपालिका पुर्नसंरचना पारित गरी सार्वजनिक गरिएको बताईएको छ । पुर्नसंरचना कार्यदलको संयोजकमा महेश बस्नेत तथा सदस्यहरुमा सुरेश नेम्बाङ, गणेश बराल, शोभा पराजुली, खिनु लङ्वा, जसबहादुर लुङ्गेली, दिलनाथ फुएल, उपेन्द्र आचार्य र सन्तोष पराजुली रहेका थिए ।
0 comments:
Post a Comment