गाविसबासीको सानो सानो काममा पनि पैसा माग्छन जमुनाका गाविस सचिव


इलाम, ५ साउनः जमुना गाविसका सचिव चेतनाथ निरौलाले बिना घुस जनताको काम नगर्ने गरेको गुनासो जमुनाबासीले गरेका छन् । उनी जमुना गाविसको कार्यालय जेठ १४ गतेदेखि पुन नपुगेको, सचिव निरौलाले सदरमुकामै कार्यालय स्थापना गरी गाविसको सबै काम जिल्ला सदरमुकामबाट नै गर्ने गरेको जमुनाबासीले गुनासो गरेका छन् । उनले नागरिकताको सिफारिस बनाइदिए वापत जमुना ३ का मानबहादुर खाम्दाकबाट एक हजार पाँचसय रुपैयाँ लिएका छन् । उनले सो रकम लिएको मानबहादुरका छोरा मञ्जित खाम्दाकले पुष्टि गरेका छन् । सो अवैधानिक रुपमा रकम दिएको विरोधमा सोमबार खाम्दाक लगायतले गाविस भवनमा तालाबन्दी गर्ने तयारी गरेपनि गाविस सचिवले ‘बसेर छलफल गरौँ’ भनेर अनुरोध गरेपछि तालाबन्दी रोकिएको मञ्जित खाम्दाकले बताए । उनले भने, ‘म मेरो बुबाको रकम मागेर लग्यो भन्दैमा रिसाएको होइन, बेतिथिको विरोध गरेको हुँ ।’ उनले थपे, ‘सरकारले सुशासनको पालना नगर्नेलाई कारवाही गर्नुपर्छ ।’ उनले प्रतिप्रश्न गरे, ‘गरिब जनताको नागरिकताको सिफारिस गरेको १५०० लिन मिल्छ ?’ मानबहादुर खाम्दाक आफ्नो भतिजो प्रेमबहादुर खाम्दाकको नागरिकताको सिफारिस लिन इलाम आउदा गाविस सचिवले सो रकम माग गरेका हुन् । सचिवले शुरुमा ४ हजार माग गरेका थिए । मानबहादुरले ५ सय रपैंयाँ मात्र दिदा सचिवले पैसा फ्याकि दिएकोले मान बहादुरले १ हजार थपेर १५ सय रुपैंयाँ दिएको मञ्जितले बताए ।
जमुना ८ का गर्जमान राईले गाविस सचिवको आचरण नै पैसा माग्ने प्रकृतिको भएको बताए । उनले भने, ‘सचिवले पहिले मलाई नै घुस मागेका थिए, तर मैले दिईन । मैले दिदै नदिएपछि मेरो लागि छुट गरिदिएको भन्थे ।’ जमुना ४ का हिरालाल खनालले गाविस सचिव गाविसमा उपस्थित नभएको बताए । एमाओवादीका जमुना प्रतिनिधि भोजप्रसाद खतिवडाले सचिवले पैसा लिएको विषयमा छलफलका लागि बैठकमा आफुलाई निम्तो आए पनि आफु नगएको बताए । उनले भने, ‘रकम लिने गरेको वहाँको गुनासो छ, खाएको हो भने कारवाही भोग्नुपर्छ ।’
यता गाविस सचिव चेतनाथ निरौलाले लामो समयदेखि आफु गाविस नगएको विषय स्विकार गरे पनि जनताबाट रकम लिने गरेको अस्विकार गरे । आर्थिक वर्षको अन्त्य भएकोले हिसाव किताबका लागि आफु सदरमुकाममै रहेको उनले बताए । उनले आफु विरुद्ध लाग्नेहरुले आफुलाई ओरालो लागेको मृग बनाएको टिप्पणी गरे । सचिव निरौलाले जनताबाट अतिरिक्त रकम नलिए पनि विभिन्न ब्यक्तिहरु आफुलाई फसाउने नियत राखेको बताए । उनले भने, ‘मैले ४१ गाविसका सचिवभन्दा फरक व्यवहार जनतासँग गरेको छैन, म चिनी रोगी भएकोले नियमित डाक्टरको निगरानीमा हुनुपर्ने भएकोले पनि गाविसमा म हप्ता दिनमा मात्र जान सकेको हो । मैले जिविसमा नजिकको ठाउँमा आफुलाई सारिदिन पनि अनुरोध गरेको छु ।’ यसरी जिविस अन्र्तगतका कर्मचारीहरुमा बेथिति बढ्नुमा जिविस नै दोषी भएको जानकारहरु बताउँछन् । केहि गाविस सचिवहरु सदरमुकाममै बसेर कार्यालय सञ्चालन गरेको विषयमा जिविस जानकार भएपनि सचिवहरुलाई कारवाही नगर्नुले वेथिति मौलाएको जानकारहरुको ठहर छ । घटनाका विषयमा स्थानीय विकास अधिकारी मदन कोइरालालाई पटक पटक फोन गर्दा फोन उठेन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. us lai sugar xa re tehi vayera v.d.c. ko ofice nai sadarmukam ma ya payak parne thaw ma re testo kura gare ko alik suhayena hola sala ghuskhori lai

    ReplyDelete