जिर्मले, साउनः गत वर्ष देखि गएको पहिरो यस वर्ष समेत नरोकिएपछि जिर्मले ५को सिङ्गो गाउँनै जोखिममा परेको छ । गत वर्षको असार १५ गतेको अविरल वर्षपछि जिर्मले ५ रम्भ्याङ्गमा गएको पहिरो यसपाली समेत नरोकिएकोले आधा दर्जन जति घरहरु उच्च जोखिममा रहेका छन् भने सोही वडाका आधा भागमा धाँजा परेको कारण जनजीवन त्रासदीपूर्ण बनेको छ । जिर्मले ५को पुछरमा रहेको सिद्धि खोलासँगै जोडिएर करिब एक किलोमिटर जति लामो पहिरोले अमृत राई र टीकाबहादुर राई, केशर सापकोटा लगायतको घर नजिकै आईपुगेको कारण उक्त घरहरु उच्च जोखिममा रहेको छ ।
त्यस्तै, करिब पचास मिटरको सिधा माथि दुरीमा विक्रम राई, गंगाबहादुर राई र भुपेन राईको घर रहेको छ । पहिरोले हालसम्म करिब दुई सय रोपनी जति बारी कटान गरिसकेको छ । पहिरोले बुद्धिमान राई, सुरेस राई, गुमान सिंह राई लगायतको अलैंची र अम्लिसो बारी र यसैपाली धान रोपेको खेत पूर्ण रुपले बगाएको छ भने डिल्लीबहादुर राईको अलैची बारी र जिर्मले ५ को ठूलो खेत समेत फूटेर धाँजा परेको कारण पूर्ण रुपले जोखिममा रहेको स्थानिय डिल्लीबहादुर राईले बताए ।
पहिरोको बिचमा ठूलो पानी उम्रिएको र अहिले पनि पहिरोमा लेदो बगिरहेको कारण आफू रातभर ननिदाइ बस्ने गरेको सुरेस राईले बताए । यता पहिरोको करिब पाँच सय मिटर माथी आले गाउँसम्म धाँजा फाटेको कारण सिङ्गो गाउँनै असुरक्षित छ जस्तो लागेको स्थानिय रंजित राईले बताए । विगत दिनमा जिर्मले प्रहरी चौकीबाट आएका प्रहरीहरुले स्थलगत रुपमा अवलोकन गरेको भएपनि त्यसपछि हालसम्म कसैले केही सहयोग गरेका छैनन् । ‘छिमेकीहरुले घर सर्ने सल्लाह त दिने गरेका छन् सबैकुरा छाडेर कहाँ र कसरी जानु ?’ स्थानिय अमृत राई बताउछन् ।
पहिरोको जोखिमको कारण नजिकै रहेको ठुलो खेतमा समेत रोपाईं गर्न नसकिने अवस्था रहेको स्थानिय सुरेन राईको भनाइ रहेको छ । यदि धाँजा परेको भागहरु बगेर जाने हो भने जिर्मले ५को सिङ्गो गाउँनै सखाप हुने भएकोले गाउँनै जोखिममा रहेको स्थानिय राजीव राईले बताए । पहिरोले हालसम्म करिब तीस मन उत्पादन हुने जति अलैंची बगान, अम्लिासो बारी बगाइसकेको छ ।
0 comments:
Post a Comment