सामाजिक सदभाव विथोल्दै छ इलामको खानेपानी

राजेश पराजुली

इलाम, २९ साउनः इलाम सदरमुकाममा वितरण हुने खानेपानीको थिती–बेथितीको बारेमा समाचार लेख्नु भनेको अब समाचारपत्रको पाना भर्ने मात्र काम भएको छ । समाचार लेख्नेलाई त्यस्तो लाग्दो हो भने पाठकहरुलाई पनि त्यस्तै लाग्न सक्छ । अब इलामको समाचारपत्रहरुमा इलाममा खानेपानीको हाहाकार, हिउँदमा खानेपानीको चरम अभाव हुने, तेस्रो इलाम बजार खानेपानी आयोजना सरकार आफैले बनाउने, खानेपानीको महसुल चर्को भयो भन्ने शिर्षक भएका समाचार प्रकाशित हुनु भनेको नजिकिदै गएको गाईजात्रालाई चुनौती दिनु बराबर हुन सक्छ । तर आज यसै खानेपानीको सन्दर्भ जोडिएर इलामे समाजमा कस्ता कस्ता ‘भुसको आगो’ सल्किरहेको छ भनेर केहि दृष्टान्त चियाबारी दैनिकमा प्रस्तुत गर्ने जर्मको भएको छ ।
प्रसंग नं. १ ः इलाम नगरपालिका वडा नं. ३ महानन्द चोक जाने शहरी सडक छेउको घरमा शनिबार बिहानै सासु बुहारी पानीको निहुँमा विवाद गर्दै थिए । श्रीमान वैदेशिक रोजगारमा गएको तर सासु–ससुरासँग भान्सा छुटेर एकैघरमा मिलेर बसेका सासुु बुहारी त्यसदिन पानी आउने भएको तर पानी नआएको कारण निम्त्याएको समस्याले उनीहरुको सम्बन्ध एकैछिनमा पानी बाराबार बनायो । उक्त घरमा शनिबार बिहान पानी आईहाल्छ भनेर शुक्रबारै पानी खर्च भयो भोलि पल्ट बिहान शौचालय जाने सम्मको पानी नभएपछि बलेसीमा थापेको पानी चलाउने विषयमा विवाद भयो । 
प्रसंग नं. २ ः इलाम बजार भित्र मानिसलाई उपचार गर्ने थलो नजिकै पानी आउने हरेक बिहान मोटर लगाएर पानी तानेको कारण पल्लो घरमा पानी चढेन भनेर विवाद भइरहन्छ । वल्लो घर पल्लो घर टाँसिएर बसेको त्यहाँ एक घर र अर्को घरबीच बोलचाल नै छैन– कारण खानेपानी मोटर लाएर तान्दा उसकोमा मात्रै आयो मेरोमा आएन । यस्तो समस्या त्यहाँ मात्र होइन जहाँ जहाँ मोटर लाएर पानी तानिन्छ त्यही त्यही समस्या रहेको छ । प्रसंग नं. ३ ः इलाम नगरपालिका वडा नं. ६ स्थित शहर बजार नजिकैको एक वस्तीमा सँगै रहेको दुई घर मध्ये एक घरमा अर्को प्वाईन्टबाट पानी ल्याएको छ, अर्को घरमा अर्कै प्वाईन्टबाट । एउटा घरमा पानी आउने दिन बिहान साँडे पाँच बजे देखि आठ साँडे आठ बजे सम्म निरन्तर पानी झरिरहन्छ र त्यही समय अर्को घरमा जम्मा पैंचालीस मिनेट । यसरी पानीको बेथिती वितरणले कम पानी आउने घरले नगरपालिकामा आफ्नोमा कम र अर्को घरमा धेरै पानी आउने गुनासो सुनायो । स्वभाविकै हो जहिले पानी कम आएपछि गुनासो गर्नु । तर नगरपालिकामा गुनासो गरेको कुरा छिमेकीले थाहा पाएपछि कहिले काँही पैचौं दिने गरेको खानेपानी अर्को घरलाई दिनै बन्द भयो ।
प्रसंग नं. ः ४ इलाम नगरपालिका वडा नं. ७ स्थित एकथरीको डाँडा नाम रहेको स्थानको एकघरमा डेरा लिएर बसेको कर्मचारी र विद्यार्थी बिच झण्डै ‘पानीभारत’ हुन पुग्यो । विद्यार्थी जहिले बिहानको समय अध्ययनमा जानु पर्ने । कर्मचारी डेरावालले पानी आएको बेला सबै पानी आफै मात्र थाप्ने गर्दा विद्यार्थीले खाना पकाउने सम्म पानी नपाएपछि कर्मचारी माथी जाइलागे । धन्न अन्य डेरावाले छुट्याएकोले गर्दा झगडाले ठुलो रुप लिन पाएन् ।
प्रसंग नं. ५ ः इलाम नगरपालिका वडा नं. २ चियाबारी स्थित एक प्रतिष्ठित व्यक्तिको घरमा आउने खानेपानीको प्वाइन्टमा सोसँगै जोडिएको अर्को प्वाइन्टवालाले प्लाष्टिकको बुचो हालेर उनकोमा जाने पानी बन्द गरिदिने समस्या उत्पन्न गराएको रहेछ । कसले यस्तो कार्य गर्छ भनेर पत्ता लगाउन त्यस घरका एक सदस्यलाई जहिले पनि मानसिक तनाब हुने । उनी भन्छन्– ‘यस्तो काम गर्ने थाहा पाए भने मेरो त पहिला हात चल्छ अनि मात्र बोली ।’ पक्कै पनि उनीसँगैको प्वाइन्टबाट पानी आउने छिमेकी नै हुनु पर्दछ र त्यो काम पनि उसैको होला ।
यसका अलावा इलाम नगरबाट वितरण हुने खानेपानी प्रयोग गर्ने उपभोक्ताहरु पानी आउने दिन प्वाइन्टबाट घर सम्म ल्याईएको पाइपलाईन चेक जाँच गर्दै, हावा फुक्दै हिड्नु पर्दछ । यसक्रममा कहिले कसैको घरको आँगन, करेसाबारी, कोठेबारी, फुलबारी किच्दैमिच्दै हिड्नु पर्ने वास्तविकता छ । यसो गर्दा बारी किचिने घरको व्यक्ति रिसाउनु स्वभाभिकै हुन जान्छ । पानीको लाइन बनाउने क्रममा कुकुरले टोकेको घट्ना अहिले इलामको समाजमा सामान्य हुन थालेको इलाम नपा २ बसपार्कका सुवास नयौपाने बताउँछन् । अर्का इलाममा जागिर खाएर बसेका राजकुमार यादवको बिहानको मुख्य जिम्मेवारी भनेको पाइपलाईन बनाउनु, हावा फ्याँकेर पानी तान्नु । उनी भन्छन्– ‘म हरेक दिन दुईवटा रेञ्ज बोकेर पानी बनाउन हिड्छु, मलाई त यस्तो लाग्न थालेको छ कि अचेल हरेकको घरमा दुईवटा पाइप रेञ्च पक्कै हुनुपर्दछ ।’ 
माथि उल्लेख भएका घट्नाहरु त प्रतिनिधि मात्र हुन । यस्ता घट्ना समाजमा अनेकौ घटिरहेका छन् । तर यसलाई ‘हल्का’ रुपमा लिइएको छ । यसबाट के अनुमान गर्न सकिन्छ भने खानेपानी नआउनु मात्र समस्या होइन । यसैको कारणबाट उत्पन्न भएका अनेकौ समस्याहरु समाजको सदभावलाई खल्बलाउने एउटा कारक तत्व हो भनेर नर्कान पक्कै नसकिएला ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment