आदर्शलाई नेवि संघको मागपत्र
इलाम, ३० साउन (चियाबारी संवाददाता) ः आदर्श उच्च मावि इलामले विद्यार्थी संगठनहरुको सहमति बिना शुल्क बृद्धि गरेकोमा ध्यानर्कषण भएको जनाएको छ । विद्यालयमा शौचालयको उचित व्यवस्था नभएको, पुस्तकालयमा पर्याप्त पुस्तकहरु नभएको, पिउने पानीको उचित व्यवस्था नभएको, नयाँ विद्यार्थी भर्नामा संकायगत सन्तुलन कायम नगरेको जस्ता विषयहरुमा नेपाल विद्यार्थी संघ आदर्श उच्च मावि इकाईले आइतबार विद्यालयलाई मागपत्र पेश गरेको छ । इकाई कार्यवाहक सभापति प्रविन कट्टेलद्धारा हस्ताक्षरित संचारकर्मीलाई उपलब्ध गराईएको मागपत्रमा माथि उल्लेखित समस्याहरु समाधान गर्न अनुरोध गरेको छ । समस्यालाई सम्बोधन नगरे संघ कडा आन्दोलनमा उत्र्ने समेत जानकारी दिएका छन् ।
गुणस्तरीय अलैंची उत्पादनमा प्रतिवद्धता
पाँचथर, ३० साउन (चियाबारी संवाददाता)ः पूर्वी पहाडी जिल्ला पाँचथरमा उत्पादन हुने अलैँचीको गुणस्तरीयता सुधार गरिने भएको छ । नेपाल अलैँची ब्यवसायी महासंघले वि.स. २०६५ सालमा निर्धारण गरेको अलैँचीको ग्रेडिङ कार्य र मूल्य समायोजना अनुरुप गत साउन १६ गते बसेको सरोकारवाला सम्मिलित भेलाले अलैँचीको गुणस्तरीयता सुधार गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम यसलाई अब तुरुन्तै कार्यान्वयन गरिने नेपाल अलैँची ब्यवसायी संघ पाँचथरका जिल्ला अध्यक्ष खेम अधिकारीले जानकारी दिए । उनले भने, ‘गत साउन १६ गते बसेको अलैची कृषक, संकलक, ब्यापारी र निर्यातकर्ता बीच भएको छलफलले अलैँचीको गुणस्तरीयता सुधार गर्ने निर्णय गरेको थियो ।’ भेलाले अलैँचीमा धुवाँजन्य पुल्ठो लगाउने कार्य प्रतिवन्ध गर्ने, अलैँचीमा पानी हालेको, धुलो मिसाएको र राम्रोसँग भट्टी नलगाएको अलैँचीको खरिदमा पूर्ण प्रतिवन्ध, मानव स्वास्थ्यमा असर गर्ने चुरुम्पो मिसावटमा पूर्ण प्रतिवन्ध लगाइएको छ । यस्तै नक्कली अलैँचीको आयात र मिसावट पूर्ण रुपमा नियन्त्रण गर्न र आयातलाई रोक्न प्रभावकारी कदम चाल्ने, अलैँचीको खरिदकर्ता वा विक्रेताले अनिवार्य डिजिटल काँटाको प्रयोग गर्नुपर्ने निर्णय गरिएको थियो । नेपाल अलैँची ब्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिपक नेपाल, महासंघका केन्द्रिय सदस्य नरेन्द्र अधिकारी लगायतले उक्त निर्णयलाई कार्यान्वयन गर्न सबै सरोकारवाला निकाय कटिवद्ध भएर लाग्न आग्रह गरे ।
पाँच सय ५१ असई पदमा जागिर खुल्यो
काठमाडौं, ३० साउनः नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो । आइतबा। एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो । दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ । असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस(टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन सक्नेछन् । मेची अञ्चलका लागि अञ्चल प्रहरी कार्यालय, चन्द्रगढीमा आवेदन बुझाउन सकिनेछ ।
झापा पनि बन्यो दुधमा आत्मनिर्भर
झापा, २९ साउनः झापामा एक वर्षमा चार अर्ब ५० करोड रुपैयाँ बराबरको दूध उत्पादन भएको छ । गत आर्थिक वर्ष ७२÷७३ मा झापामा दुई हजार तीन सय मेट्रिन टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय झापाले जनाएको छ । जसको बजार मुल्य साढे चार अर्ब रुपैंयाँ पुग्छ । झापा जिल्ला विगत केही वर्षदेखि दुधमा आत्मनिर्भर हुदै आएको छ । जिल्लामा उत्पादन भएको दूधमध्ये ८० प्रतिशत आन्तरिक खपत र २० प्रतिशत भारतको सिलिगुडी जाने गरेको जिल्ला पशुसेवा कार्यालय झापाको तथ्याङ्कले देखाएको छ । कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीका अनुसार जिल्लामा १०५ वटा व्यवसायिक गाई फार्म दर्ता भई सञ्चालनमा छन् । जिल्लामा पाँच हजार लिटरभन्दा बढी दुध खपत गर्दै आएका दुई ठूला एनएमसी डेरी र ऋतिका डेरी सञ्चालनमा आएपछि दुग्ध उत्पादनमा लागेका कृषक झनै लाभान्वित भएका छन् । आ.व. ७३÷७४ मा झापालाई दुधमा आत्मनिर्भर भएको औपचारिक घोषणा गरिने जिल्ला पशुसेवा कार्यालयको तयारी रहेको अधिकृत खत्रीले बताए । जिल्ला पशुसेवा कार्यालयले सञ्चालन गरेको कृत्रिम गर्भाधान र गाउँ÷गाउँमा सुव्यवस्थित ढङ्गले सञ्चालनमा आएका ठुला गाईफार्मका कारण झापामा दूधको उत्पादन बृद्धि भएको हो । जिल्लामा नशल सुधारका लागि १२ वटा सामुदायिक प्रजनन केन्द्र, १७ वटा सेवा केन्द्र र निजी क्षेत्रले समेत काम गरिरहेका छन् । रासस
0 comments:
Post a Comment