इलाम, ३० साउन : घरेलु तथा साना उद्योग विकास समिति इलाममा विगतमा दर्ता भएका उद्योगमध्ये आधा मात्र उद्योग सञ्चालनमा रहेको पाइएको छ । समितिमा दर्ता भएका दुई हजार ८ सय ३७ वटा उद्योग मध्ये एक हजार ४ सय ५२ वटा उद्योगमात्र सञ्चालन भएका हुन् । बाँकी उद्योग बन्द रहेको घरेलुले जनाएको छ । चियाका ७९ वटा, राइस मिल २ सय ६२ वटा, कम्प्युटर प्रशिक्षणका ६३, दूध डेरीका १ सय ७० वटा उद्योग सञ्चालनमा आएका छन् । यसैगरी निर्माण व्यवसायीतर्फ १ सय ९, सिलाइ कटाइ १ सय २९, हाउस वाइरिङका १८, ग्रिल तथा काष्ठ फर्निचर ६८, ब्युटिपार्लर ५३ र विविध ५ सय १ गरी एक हजार ४ सय ५२ वटा मात्र उद्योग सञ्चालनमा छन् ।
दर्ता भएका उद्योगमध्ये एक हजार ३ सय ८५ वटा उद्योग नियमित नवीकरणसमेत नभएको र निष्क्रिय रहेका कतिपय उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख नवराज राउतले जानकारी दिए । उद्योग दर्ता गर्नेमध्ये थोरैले मात्र उद्योग÷व्यवसाय राम्रोसँग सञ्चालन गरेको राउतले जानकारी दिए । समितिले माइमझुवा गाविसमा मौरीपालन तथा मह प्रशोधन तालिम, इलाम नगरपालिकामा आधुनिक सिलाइ कटाइ, माइपोखरीमा फ्रेविक पेन्टिङ, देउमाई नगरपालिकामा प्लम्बिङ र महमाई गाविसमा हाउस वाइरिङ तालिम दिइने जनाएको छ । गत चालु आवमा तीन लाख रुपैंयाँ बजेटबाट २० जना लघु उद्यमीलाई आर्थिक सहयोग गर्ने जनाइएको छ । आर्थिक पहुँच नभएका, दलित, अपाङ्ग, आदिवासी, विपन्न उद्यमीलाई व्यवसाय सञ्चालनका लागि सहयोग गर्ने कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment