बिचौलिया व्यापार नियन्त्रण गर

सम्पादकीय.....

इलाम बजारलाई राजधानी शहर काठमाण्डु भन्दा पनि महङ्गो मानिन्छ । लजिङ फुडिङ र किनमेल पनि अतिनै खर्चालु भएको गुनासो बाहिरबाट आउने मानिसहरु बताउछन् । इलामेलीहरु बाहिरका शहरहरुमा घुमेर आउदा भोगेको अनुभव पनि यस्तै बताउने गर्छन् । यो कुरा आम इलामबासीलाई पनि थाहा छ । मेची लोकमार्गका कारण र भारतीय सीमाना फाटक जोड्ने पक्की सडक यातायात छ । इलामेलीहरु सबै प्रकारका अन्न तथा सब्जी लगायत नगदे बाली उत्पादनमा पोख्त छन् । इलाम बजार बाहेकका ग्रामिण भेकका जनता खाद्यवस्तुहरु कमैमात्र किनेर उपभोग गर्छन् । इलाम बजार भित्र रहने बासिन्दा, पढ्न आउने विद्यार्थी, कर्मचारी र आगन्तुकहरु हप्तामा २ दिन हाट लाग्ने बजारमा सब्जी, फलफूल लगायतका खाद्य सामाग्री किन्न बाध्य हुन्छन् । आपूर्ति कम भएमा बजारमा भाउ बढ्ने अर्थशास्त्रीय नियम छ तर इलाममा यी वस्तुहरुको आपूर्ति भाउमै यस्तो ठूलो अन्तर हुने गरी कम भएको महसुस हुदैन् ।
इलाम बजारमा रु. ६० प्रति केजी भन्दा कम मुल्यको कुनैपनि सब्जी किन्न पाइदैन । वर्खे आलुको यो सिजनमा आलु ६० रुपैंयाँ प्रति केजी छ । इलाम आलु निर्यातक जिल्ला हो । फर्सी र इस्कुसका मुण्टा यस सिजनमा पनि एक रुपैंयाँ पचास पैसा प्रति मुण्टा र दाना इस्कुस रु. १० भन्दा कम मुल्यमा पाइने कुनै सम्भावना छैन । प्रायजसो हाटका दिनहरुमा मात्र गाउँलेहरुले सब्जी ल्याउने गरेका छन् । बिहान ६ बजे देखि ग्राहकहरु बाटो कुरेर बस्ने गरेका देखिन्छन् । मुख्य बजारमा आइनपुग्दै सब्जीको बिक्री भैसक्ने गरेको देखिन्छ तर ती ग्राहकहरु उपभोक्ता नभएर बिक्रेता हुन् । यिनीहरुलाई बिक्रेता भन्नु भन्दा पनि बिचौलिया भन्न करलाग्ने देखिन्छ । गाउँबाट आउने सब्जी व्यापारीलाई बस्ने ठाउँ सम्म दिइदैन भन्ने सुन्नमा आउने गरेको छ । बिचौलियाहरुले नै नगरपालिकाले तोकिदिएको ठाउँ कब्जा गर्छन् । गाउँलेहरुको अर्को समस्या भनेको पसल थापेर दिनभरी बस्न नभ्याउनु पनि हो । यस्तो किनमेलमा खुद्रा क्रेता सधैं उपेक्षित हुनुपरेका लाखौं उदाहरणहरु छन् । तात्पर्य हो बिचौलियाहरु बिहिबार आइतबार सम्म र आइतबार बिहिबार सम्म पुग्ने गरी गाउँले सब्जी किन्छन् । तौलने वस्तुको मुल्य लगभग दोब्बर र मुठा एकको दुई बनाएर बेच्ने गर्छन् । होटल र व्यक्ति उपभोक्ताले त्यही खरिद गर्न बाध्य हुनु पर्छ ।
नगरपालिकालाई यस बारेमा कुनै उजुरी परेको छैन रे । आफ्नो शहरमा बजार, बजार भाउ कस्तो छ, अन्य वस्तुहरु लगायत खाद्य वस्तुहरुको के कस्तो गुणस्तर छ स्वभावैले नगरपालिका र उद्योग वाणिज्य संघले ब्यवस्था मिलाउनु पर्छ । इलाम बजार रमणीय भैकन पनि २ कारणले गुल्जार हुन सकेको छैन । एउटा हो पानीको अभाव र अर्को महङ्गी । सरसफाईमा इलामबजारले गौरव गरेको सुनिन्छ । यो बोक्रे गौरव हो । आँखा सोझी मुख्य सडकहरु मात्र सफा छन् । तरकारी बजार मात्र हेरेमा यसको राम्ररी पुष्टि हुन्छ । बजार पछाडिका भागहरु र छिँडीहरु दूर्गन्धले छिरिनसक्ना छन् । रिङरोड आसपासका स्थानहरु डम्पिङ स्थल सरह छन् । यही भागमा मानिसहरुको घना बसोबास रहेको छ । फोहोर मानिसकै कारण उत्पन्न हुन्छ, कमसेकम सम्बन्धित निकायले सचेतना र फोहोर ब्यवस्थापन बारेमा अनुगमन गर्न चासो राखोस् । यो कुनै गर्नै नसकिने वा खर्चिलो काम होइन केवल बेवास्ता मात्र हो । हरितनगरी इलाम बनाउन, स्वच्छ र संमृद्ध इलाम बनाउने हो भने महङ्गी नियन्त्रण र सफाईलाई प्राथमिकतामा राख्ने कोशिश गर । बिचौलिया ब्यापारीलाई नियन्त्रण गर ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment