इलाम, १८ साउनः विश्वमा दुलर्भ मानिएको रेडपाण्डा संरक्षण नहँुदा नेपालबाट लोप हुने अवस्थामा पुगेको छ । समुद्र सतहको २२ सय मिटरदेखि चार हजार मिटरसम्म पाइने रेडपाण्डा खुला सिमाना, चोरी शिकारी, डढेलो, अनियन्त्रित वन फँडानीका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको हो । महिलाले बोक्ने झोला, टोपी तथा विलासिताका सामाग्री निर्माणमा रेडपाण्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपाण्डाको चोरी तस्करी हुने गरेको छ । हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिएपनि अहिलेसम्म रेडपाण्डाको संख्याको यकिन तथ्याङ्क छैन । वासस्थानको अतिक्रमण, विनाश, आगलागी र मानवीय गतिविधिका कारण रेडपाण्डाको संख्यामा कमी हुँदै आएको छ ।
नेपालका सबै स्थानमा रेडपाण्डा भेटिएपनि अध्ययन नभएको रेडपाण्डा नेटवर्कका सामुदायिक संरक्षण संयोजक डम्बर विष्टको भनाइ छ । हाब्रे, पुडेकुदो जस्ता नामले चिनिने रेडपाण्डा पूर्वी नेपालमा पाइने पुष्टि भइसकेकाले अब खोटाङ्ग, जुम्ला, जाजरकोट र कालिकोटमा अध्ययन शुरु गर्ने नेटवर्कको योजना छ । सन् २००६ मा रेडपाण्डा नेटवर्कले पूर्वी नेपालका तीन जिल्लामा समुदायमा आधारित संरक्षण कार्यक्रम संचालन गरेको थियो । तीन जिल्लामा २ सय १८ वटा रेडपाण्डा रहेको अनुमान गरिएपनि यकिन तथ्याङ्क भने छैन । २२ गाविसमा गरिएको कार्यक्रमबाट ग्रामीण क्षेत्रमा जनचेतनाको विकास भएपनि श्रोत अभावले निरन्तरता दिन समस्या भएको छ । लामटाङ राष्ट्रिय निकुञ्जमा चार वर्ष अघिदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले संरक्षणका कार्यक्रम गर्दै आएपनि सबै क्षेत्रमा लागु गर्न समस्या छ । पुर्वी नेपालदेखि पश्चिम नेपालसम्म रेडपाण्डा पाइने गरेकाले बजेट अभावले सबै क्षेत्रमा संरक्षण योजना लागु गर्न समस्या रहेको पर्यावरणविद् डा.महेश्वर ढकालले बताए ।
चोरी तस्करी अत्याधिक बढेकाले विभागले रेडपाण्डाका साथै लोपोन्मुख वन्यजन्तुका बासस्थानको संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, अन्तराष्ट्रिय सीमा क्षेत्रमा लागु हुने गरी पाँच वर्षे कार्ययोजना निर्माण गरिरहेको छ । राम्रो पैसाको लोभमा रेडपाण्डाको तस्करी बढेकाले त्यसको निगरानीका लागि १४ जिल्लामा १२ वटा वन्यजन्तु अपराध नियन्त्रण युनिट रहेका छन् । रेडपाण्डा तस्करी हुनेमा स्थानीय सरकार नभएकाले प्रभावकारी संरक्षण हुन नसकेको पर्यावरणविद् ढकालले बताए ।
हेर्दै आर्कषक देखिने र लजालु स्वभावको यो जन्तु सोझो तथा हलुका रातो, सेतो र कालो रंगको हुने रेडपाण्डा विकास निर्माण, परम्परागत पशु प्रणाली, बासस्थान विनास, कुकुरको आक्रमण, आहाराको विनास अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनमा उल्लेख छ । रेडपान्डा इलाम, पाँचथर र ताप्लेजुङका हिमाली क्षेत्रमा पाइएपनि सरकारी तवरबाट यसको संरक्षणमा कुनै पहल हुन नसकेको उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्थाका फिन्चु शेर्पाले बताए । विभिन्न स्थानमा ट्रेपिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आएपनि भारतसँगको खुल्ला सिमानाका कारण रेडपाण्डको संख्या दिनानुदिन घटदै गइरहेको शेर्पाले बताए ।
0 comments:
Post a Comment