प्रवासमा भोगेको आफ्नो अनुभूतिः


म गोदक निवासी सामान्य किसान परिवारबाट हुर्किएको हुँ । मैले केही वर्ष अघि पढाईको यात्रालाई समाप्त गरेर मेरो भविष्यको लागि केही गर्छु भन्ने मनमा सोच बनाएर मैले घरमा अभिभावकहरुसँग सरसल्लाहले चाडै पासपोर्ट बनाउन भनेर प्रकृयागत कागजातहरु लिएर काठमाडौं गए । काठमाडौंमा एकहप्ता कुरेर पासपोर्ट निकाले पछि पुनः म घर फर्के । पासपोर्ट निक्लियो, तर अब कुन देश जाने भन्ने दुविधा मनमा आयो । केहि दिन सोचेर अब एकपटक बिर्तामोड तिर गएर ऐजेन्सीमा वैदेशिक रोजगारको डिमाण्डहरु हेर्ने सोचका साथ म मेरो पासपोर्ट बोकेर बिर्तामोड तिर लाग्ने निधो गरे । 
मसँग मेरो एकदमै मिल्ने साथी पनि वैदेशिक रोजगार कै सिलसिलामा काठमाडौं जान लागेको थियो । ऊ पनि म सँगै नै थियो, तर उसलाई भने यही मलेसियामा कार्यरत दाइले भिसा पठाउने हुनु भएकोले गर्दा मेडिकल गर्न काठमाडौं हिडेको थियो । म भने बिर्तामोडको ऐजेन्सी अन्जली ओभरसिज कहाँ बुझ्ने मनसायको साथ हिडेको थिए । साथी र म अञ्जली ओभरसिजमा आएको डिमाण्डहरु हे¥यौ तर त्यहाँ आफुले भनेजस्तो काम भेटिएन । त्यहाँबाट निस्केर साथीसँग अब के गर्ने भन्ने सरसल्लाह ग¥यौ । साथीले दाजुलाई फोन गरेर हामी दुवैको भिसा लगाई माग्छु भन्दै दाजुलाई मलेसियामा सम्पर्क ग¥यो । हामी दुवैजनाको लागि भिसा प्रोसेस गरिदिनु हुन अनुरोध गर्दा दाजुले पनि हुन्छ तिमीहरु काठमाडौं ऐजेन्ट कहाँ जाऔ र पासपोर्ट बुझाउनु भन्नु भो । त्यसपछि बिर्तामोडबाट मनै फुरुङ्ग पार्दै साथी र म काठमाडौं तर्फ लाग्यौ । म त्यस समय अति हर्षित बने, ढुङ्गा खोज्दा देउता मिलेको आभाष गरे । 
हामी दुवैजना भोलिपल्ट काठमाडांैमा ऐजेन्टलाई भेटेर पासपोर्ट दियौ, अनि मेडिकल गरेर घर फर्कियौ । हामी दुईजना विदेश जाने समय कहिले आउला भनेर मनै फुरुङग पारेर प्रतिक्षारत रहयौ । हामी प्राय जसोसँगै हुन्थ्यौ, कहिले भिसा आउछ भन्ने हतार थियो हामीलाई । नभन्दै हामी काठमाडौंबाट फर्किएको ४५ दिन पछि दाइले कल गर्नु भयो र तिमीहरुको भिसा झरिसक्यो भनेर सुनाउनु भयो । हामी आज भन्दा तीनवर्ष अधि साउन २२ को दिन घरपरिवार र साथीसंगीहरुसँग बिदावारी मागेर बिदाइको हात हल्लाउदै काठमाडौं तिर लाग्यौ । काठमाडौंमा पुगियो तर फेरि मेडिकल गर्नु पर्छ भन्यो, त्यसपछि फेरि मेडिकल गर्यौ । मेडिकल गरिसके पछि हामी भोलिपल्ट मेनपावर पुग्दा त्यहाँको डाईरेक्टरले तपाईंहरुको फ्लाईट अगष्ट १९ मा मात्र हुन्छ भन्यो । त्यसभन्दा अगाडी मलेसियामा इलामहरुको चाड हरिराय भएकोले गर्दा सबै बिदा हुन्छ भन्यो । त्यो भन्दा अगाडी पठाउदा तपाईंहरुलाई रिसिभ नगर्न सक्छ, परदेशमा बिजोग हुन सक्नुहुन्छ भनेको कारण हामीले धैर्यता गर्नु नै उचित ठान्दै काठमाडौंमा नै बस्यौ । अगष्ट १९ को दिन बिहान ८ बजे एयरपोर्ट लाग्यौ, नेपालबाट १२ बजेको फ्लाईट थियो ।
मेरो प्रवासको अनुभूति
हामी मलेसियाको ६ः३० बजे एयरपोर्टमा झ¥यौ । हामी प्रवासीहरुले ऐजेन्ट पर्खेर बस्ने बेग्लै रुम (प्रतिक्षालय) हुँदो रहेछ । हामी त्यो रुम पुग्दा सबैजना भुईमा लडिराखेको देखे । त्यो देखेर म एकदमै दुःखी भए । किनभने त्यो प्रतिक्षालयमा सयौ श्रमिकहरु यत्रतत्र छरिएर बाध्यताको बिछ्यौना चिसोभूईमा लम्पसार परिरहेका थिए । कोही हप्ता दिन देखि, कोही चार, पाँच दिन देखी ऐजेन्ट लिन आउछ कि भन्दै आशा लिएर बसिरहेकाहरु थिए । हामी पनि एक रात त्यो एयरपोर्टको चिसो भूईमा बस्नु पर्ने बाध्यता भयो । त्यहाँ बस्ने क्रममा सुरक्षार्थ खटिएको रेला पुलिसले हामी प्रवासीलाई गर्ने ज्यादती देख्दा म एकदमै दुःखी भए । यो मानवियता नभएको देशमा पो आईपुगेछु भन्ने आभाष गरायो । साथीहरुसँग एक रात बिताउने क्रममा साथीहरुको गुनासोले म उहाँहरुसँग भावानात्मक रुपले नजिकिनु पुगेछु । त्यतिबेला सम्म कुरा गर्दै जादा मलाई हल्का भोक लग्यो १२ः०० बजेको थियो कति साथीहरु सुतिराखेको थिए, मैले नेपालबाट झोलामा चिउरा र चाउचाउ ल्याएको थिए । त्यो चिउरा र चाउचाउ निकालेर सबैजना साथीहरुसँग मिलेर बाँडीचुडी खायौ । हामी खाजा खाईसकेपछि सबैजना आराम गर्न तिर लाग्यौ । म पनि सुत्ने प्रयास गर्दा गर्दै कतिखेर निदाएछु थाहै भएन ।
बिहान भएपछि मैले दाईलाई कल गरे, दाईले कम्पनीबाट मान्छे लिन हिडिसकेको छ भन्नु भो । नभन्दै केहिबेर पछि कम्पनीको मान्छे हामीलाई लिन आयो । अनि हाम्रो नाम बोलायो, त्यसपछि अलिक खुसी भइयो । तर पनि त्यहाँको साथीहरूको दुःख देख्दा नरमाइलो मान्दै सबै साथीहरुलाई बिदा माग्दै कम्पनीको मान्छेको साथ लागेर हामी कम्पनी आयौ । एयरपोर्टबाट गाडी चडेपछि निन्द्रा लाग्यो म निदाएछु, पाँच घण्टा पछि हामी कम्पनी पुग्यौ । कम्पनीमा दाईसँग भेट भयो, हामी सकुशल मलेसिया आईपुगेको कुरा घरपरिवारलाई जानकारी गरायौ । त्यो दिन यात्राको थकाई भएकोले हामी भोलीपल्टबाट डिउटी शुरू गर्ने कुरा जानकारी पछि होस्टल तर्फ आराम गर्न गयौ । डिउटी शुरु भए सँगै हामी साथी–साथी पनि कामको कारण छुटन पुग्यौ । मेरो काम गर्ने स्थानमा चाईनिज फोरमेन रहेछ । काम चाहि ग्रेन्डर गर्नु पर्ने रहेछ त्यो काम गाह्रो भएको कारण दाजुलाई भनेर काम परिवर्तन गर्न लगाए । त्यसपछि काम परिवर्तन गरेर मलाई स्टोरकिपरको रुपमा काम दिईयो । पहिला पहिला काम गर्न भाषाको अभावले अत्यन्तै गाह्रो भयो । तर समयचक्रसँगै मैले भाषा सिक्दै गए पछि सजिलो हुन थाल्यो । त्यसपछि एक महिना बित्यो, सेलरी र सेवा सुविधा पनि भने जस्तै पाए, मलाई यस कम्पनीको निम्ति काम दिलाउन सहयोग गर्ने मेरो साथी र उहाँको दाजु प्रति आभारी छु ।
यो परदेश बसाई क्रममा मेरो कम्पनी बिदा हुदाँ इलाम जितपुर निवासी मानबहादुर राई दाजुसँग भेट हुने अवसर पाए । उहाँकै सामिप्यताबाट मैले प्रवासी ईलामेली जनसम्पर्क मञ्चको साधारण सदस्यता लिएर यो परदेशमा प्रवासी इलामेली दाजुभाई, दिदीबहिनीहरुसँग सहकार्य गर्ने अवसर पाए । मलेसियामा विभिन्न प्रकारका सास्तीहरु हामीले खेप्नु परेको छ भन्ने कुरा मञ्चमा आवद्ध बनेपछि थाहा पाए । मलेसियाका कतिपय स्थानमा दिनदहाडै होस्टलमा चोरी, डकैती हुने गर्दौ रहेछ । लुटपाटको क्रममा प्रतिवाद गरे लुटेराहरुले अंगभंग पारिदिने गर्दो रहेछ । यहाँ भाषा नजान्नाले तथा कामको दक्षता नहुँदा अनि आफ्नो शरीरले पनि नधान्ने गह्रौ कामहरु गर्नुपर्ने साथै नेपालको ऐजेन्टले भनेको तलब सुविधाहरु नपाउदा पनि श्रमिकहरु अवैधानिक बन्न पुग्दो रहेछ ।  अवैधानिक बनेपछि कुनै भवितव्य दुर्घटना परियो भने सरकारी अस्पतालमा उपचार नपाई कष्टकर जीवनयापन गर्नुपर्ने अवस्था आउन जान्छ । कतिपय अवैधानिक साथीहरुले महिनाभर काम गरेर तलब माग्दा मालिकले पुलिस लगाईदिने धम्की दिने गरेको हुँदा कामको ज्याला छाडेर पुनः अर्को ठाउँ भागेर पुग्नुपर्ने अवस्था झेल्नुपर्दो रहेछ । यहाँ हामी विदेशी कामदारहरुलाई लुटेरा बाहेक भाषा जानेको छैन भने ट्याक्सी ड्राईभर र सुरक्षार्थ खटिएको गस्ती पुलिसले समेत नगद तथा जिन्सी लुट्ने गरेका छन् । मलेसिया पहिला वैदेशिक रोजगारको लागि सुरक्षित गन्तव्य थियो तर हाल ठिक उल्टो अवस्था आएको छ । मलेसियामा हाल व्यापार व्यवसायमा आएको मन्दी तथा दैनिक उपभोग्य सामानहरुको मूल्य बृद्धि तथा पैसाको भाउ घटनाले पनि यो मलेसियामा आर्थिक उपार्जन हुन नसकेको अवस्था छ । तसर्थ जो कोहीले वैदेशिक रोजगारमा जाने सोच बनाउदै हुनुहुन्छ भने मलेसियाको विकल्पमा अन्य देश जान हुन आग्रह गर्दछु । 
वैदेशिक रोजगारको निम्ति लाग्नु अगाडी आफ्नो दक्षता अनुसारको कामको छनौट गर्नुहोस् । वैदेशिक बजार पुगेपछि सामाजिक संघ–संस्थामा आवद्ध हुनुहोस् । विश्वमा छरिएर रहनु भएको हरेक इलामेली दाजुभाई, दिदीबहिनीहरुले कुनै पनि भवितव्यको सामना गर्नु नपरोस् भन्ने कामना गर्दछु । धन्यवाद । जय इलामेली ।
मगर प्रवासी ईलामेली जनसम्पर्क मञ्चको निवर्तमन क्षेत्रिय समितिका सचिव हुनु हुन्छ ।
यस प्रवासका अनुभूति स्तम्भका सम्पादक ः ‘बुद्धिमान राई मुर्ख’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment