चियाबारी डेस्क
इलाम, ११ भदौ : मालपोत कार्यालय इलामका एक सेवाग्राही चियाबारी दैनिकको कार्यालयमा आइपुगे विज्ञापनको पैसा भुक्तान गर्नका लागि । हामीले रकम तिरेको मुल्य लेखिएको नगदी रसिद उनलाई दियौ । उनले मालपोत कार्यालयमा आफुले रकम तिरेको रसिद नपाएको बताए । कुरा खोतल्दै जादा रसिद नपाएको रकम पनि एक सय रुपैयाँको मात्र रहेछ । त्यो रकम तिरिएको रहेछ धनीपुर्जा प्रिण्ट गरे बापतको अतिरिक्त शुल्क, मार्फत लेखापढी गर्ने व्यवसायी । मालपोतको प्रिण्ट गर्ने कक्षमा सेवाग्राहीलाई सय रुपैयाँ लिने चलन पुरानै हो । त्यो चलन हाल सम्म कायम छ भन्ने कुरा सो परिसरमा दैनिक ठोकिने ‘चरा मुसा’लाई पनि थाहा छ । तर हाल हाएर सिधै पैसा लिने कामलाई रुट परिवर्तन गरिएको रहेछ । प्रिण्ट गर्ने कक्षका कर्मचारीले लेखापढी गर्ने व्यवसायीका नाममा प्रति प्रिण्टको गन्ती गरेर एकमुष्ठ रकम लिने गरेका रहेछन् । हाल मालपोत कार्यालयमा भ्रष्टचार गर्ने शैली परिवर्तन भएको छ । लेखापढी गर्ने सामान्य मजदुरलाई हतियार बनाएर जनतासँग पैसा असुलिन्छ । अनि बिचमा परेका उनै लेखापढी गर्नेलाई दोषी देखाइन्छ । केहि वर्ष अगाडी मालपोतको प्रिण्ट गर्ने कर्मचारीलाई तत्कालिन प्रमुख जिल्ला अधिकारीले कार्यालय प्रमुख मार्फत यस्तो अवैध रकम जनताबाट नलिन चेतावनी पनि दिएका थिए । तर उनीहरुले सिडिओको चेतावनी र निर्देशनलाई किन टेर्थे र । कुरा सय रुपैयाँको, तर समाचार किन हजारको जस्तो भन्ने जो कोही पाठकलाई लाग्न पनि सक्छ । कुरा सय र हजारको मात्र होइन, लाखको हो, लाखको । हिसाब गर्नुस् कि दैनिक रुपमा ४० जना मात्र सेवाग्राही प्रिण्ट गर्नुपर्ने काम लिएर गए भने एक सय रुपैयाँले दैनिक अवैध रुपमा चार हजार रुपैयाँ संकलन भयो । महिनाको एक्त्तीस सरदर दिन संख्यामा चार दिन शनिबार घटाउदा हुन आउने सत्ताईस दिनलाई चार हजारले गुणन गर्दा मासिक अवैध रुपमा संकलन हुने रकम एक लाख आठ हजार रपैंयाँ प्रिण्ट गर्ने कर्मचारीको भागमा । अब उनै कर्मचारीले ओकले भने मात्र थाहा हुन्छ, एक लाख रुपैंयाँ भन्दा बढी रकम क–कसको भागवण्डामा पर्छ । मालपोत कार्यालयमा तपाईलाई कसैले पनि अतिरिक्त रकम मागे भने हामीलाई सोझै सम्पर्क गर्नुस्, नजिकैको जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुस् या हेल्लो सरकारको फोन ११११ मा निःशुल्क उजुरी गर्नुस् ।
0 comments:
Post a Comment