आदर्श उमाविमा हिनामिना भएको भन्दै अखिलको विरोध


इलाम, १३ भदौः इलाम सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कार्यरत लेखापालले लाखौं रुपैंयाँ हिनामिना गरेको आरोप अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले लगाएको छ ।
सोमबार अखिलले विद्यालयलाई बुझाएको ज्ञापन पत्रमा विद्यालयमा कार्यरत लेखापालको रुपमा कार्यरत रक्षा पालुङवाले केहि वर्ष देखि रकम हिनामिना गर्दा समेत विद्यालय प्रशासन मौन बसेकोले संगठनको ध्यानार्कषण भएको जनाएको छ ।
ज्ञापन पत्रमा पालुङवाले विद्यार्थीले शुल्क तिर्दा कार्बन नराखी रसिद काट्ने, रसिदको प्रतिलिपी केरमेट गर्ने गरी दैनिक आम्दानी खातामा कम आम्दानी देखाउने तर विद्यार्थीको व्यक्तिगत खातामा भने विद्यार्थीले बुझाएको वास्तविक रकम नैं उल्लेख गर्ने, नगदी रसिदको क्रम संख्या समेत केरमेट गर्ने गरेको उल्लेख छ । साथै आर्थिक वर्ष ०७१/०७२ मा बेरुजु देखिएको छ लाख पैसठ्ठी हजार रुपैंयाँ बैंक दाखिला गरेको र आ.व. ०७२/०७३ मा करिब बाह् लाख रुपैंयाँ जति बेरुजु देखिने भएकोले अखिलले गम्भीर ध्याकर्षण गरेको छ ।
यसै विषयमा विस्तृत जानकारी लिनको लागि चियाबारी दैनिकले आदर्श उच्च माविमा सम्पर्क गर्दा उक्त विद्यालयको सामाजिक परीक्षण सहयोग समितिका संयोजक शिरोमणी भट्टराईले भने– ‘हामीलाई विद्यालयको सामाजिक, शैक्षिक, भौतिक र आर्थिक क्षेत्रको मौजुदा अवस्था हेर्ने जिम्मेवारी दिएको हुन्छ, सोही अनुरुप अखिलको प्रारम्भिक कमिटिले दिएको ज्ञापन पत्रमा उल्लेख भएका कुराहरुमा छानबीन गर्दैछौ । अब कम्तिमा पनि साता दश दिन भित्र के भएको हो वास्तविकता आउनेछ जसलाई हामी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतका माझ सार्वजनिक गर्नेछौ ।’ उनले अगाडि भने– ‘प्रत्येक विद्यार्थीले काटेको रसिदहरु केलाएर हेर्नु पर्ने बाध्यता रहेको छ, त्यससँगै विद्यार्थीको रेकर्ड राखेको धड्डु पल्टाएर हेर्नु पर्ने भएको हुँदा समय लागेको हो ।’
गत आर्थिक वर्ष ०७१/०७२ को लेखापरिक्षणको क्रममा विद्यालयको वास्तविक आम्दानी जसमा– विद्यार्थीहरुको मासिक शुल्क, ट्रान्सक्रिप्ट शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क लगायतका आम्दानीहरु प्रक्षेपण गरे भन्दा कम देखिएपछि वास्तविकता पत्ता लगाउन आन्तरिक लेखापरीक्षण गर्ने क्रममा केहि रसिदहरुमा गल्ती देखिएको एक शिक्षक कर्मचारीले बताए । 
अखिले विद्यालयमा बुझाएको ज्ञापन पत्रको बोधार्थ प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा अधिकारी समक्ष दिएको छ । नेपाल सरकारको प्रत्यक्ष अनुदानमा संचालन भईरहेको विद्यालय आधारभूत विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने संस्था हो । विद्यार्थीले तिरेको शुल्क हिनामिना गरी उल्टै विद्यालय चलाउन समस्या भएको भन्दै शुल्क बृद्धि गर्नु अनुचित भएको आदर्श उच्च मावि प्रारम्भिक कमिटिका सचिव सुमन दियाली बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment