काठमाडौं, १३ भदौ : हकप्रद सम्बन्धी कुनै पनि निर्णय साधारण सभाले पारित गर्नु पर्नेछ । साधारणसभाको एजेन्डाको रुपमा यो निर्णय सार्वजनिक हुने हो । तर, साधारण सभा हुने ७ महिना अघिनै हकप्रदको निर्णय गरेर बजारमा हल्ला फिजाईं शेयर भाउ बढाउने प्रचलन छ । सानिमा माईले मात्र हैन नेपाल बंगलादेश बैंक (एनबी)ले समेत यस्तै गरेको छ ।
एनबीले आगामी पुसमा साधारण सभा गर्छ, तर उसले हकप्रद दिने निर्णय गत असारको शुरुमै सार्वजनिक ग¥यो । ७ महिनापछिको साधारण सभाले पारित गरेमा मात्र उसले हकप्रद निष्काशनको प्रक्रिया शुरु गर्न पाउने हो । त्यसका लागि पनि थुप्रै प्रक्रियाहरु छन् । तर, ७ महिना अघि नै हकप्रदको हल्ला चलाएर बोर्ड बैठकबाट निर्णय गराउनुमा शेयर बजारमा प्रभाव पार्ने नियतबाहेक केही हुन सक्दैन् । सानिमा माईको केसमा पनि यही हो । कसरी चलाखीपूर्ण ढंगबाट हकप्रदको निर्णय गरी बजारमा चलखल गरिएको छ भने यसले संस्थापकहरुलाई केही दिनमा करोडौं कमाउने मौका दिएको छ । सानिमा माइको आइएपीओ जारी भएको अहिले ३ वर्ष पुग्यो । यही असोजबाट ३ वर्ष पुग्नासाथ कम्पनीको सबै संस्थापक शेयर साधारणमा परिणत हुन्छ । त्यसपछि संस्थापकहरुले आफ्नो हिस्साको शेयर बेच्न पाउँछन् ।
यसअघि उनीहरुको शेयर संस्थापकको रुपमा भएको र बिक्रीमा बन्देज पनि थियो । जब संस्थापक शेयर कन्भर्ट भएर साधारण बन्न समय आयो तब सो कम्पनीको शेयर मूल्य बढाउनका लागि हकप्रदको निर्णय गरिएको छ । नत्र सानिमा माईलाई अहिले हकप्रद निष्काशन गरेर पुँजी जुटाउनुपर्ने कुनै आवश्यकता नै थिएन ।
जबकी उसले आफैले बनाएको क्यास्केड आयोजना समेत सम्पन्न भैसकेको छ । अहिले उसको हातमा कुनै नयाँ आयोजना छैन । त्यसै किन पूँजी जुटाउनु प¥यो ? यदी नयाँ आयोजना बनाउने हो भने सोही कम्पनीबाट पुँजी जुटाउन सकिन्थ्यो । यसको मतलब सिधा बजारमा शेयर मुल्य बढाएर संस्थापक शेयरलाई महंगोमा बेच्ने दाउपेच मात्र हो ।
सानिमा माईले अर्को आयोजना बनाउने नै भए पनि अहिलेकै एक अर्ब ५ करोडबाट ६० करोडसम्म लगानी गर्न सक्छ । यदी त्यतिले नपुग भएमा थप २०–२५ प्रतिशत हकप्रद पनि निष्काशन गर्न सक्छ । तर अहिले एकैपटक आवश्यकता नै नपरी शतप्रतिशत हकप्रद निष्काशन गर्नु भनेको बजारमा चलखल गर्न नै हो । धितोपत्र बोर्डले यस्तो हकप्रदको स्विकृति दिँदा उसको थप परियोजनाबारे पनि विस्तृत अध्ययन गर्नु जरुरी छ ।
हाल १ अर्ब ५ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको सानिमा माई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्छ । चालु आर्थिक वर्षको चैत्र मसान्तमा २ करोड ३८ लाख ५ हजार ८ सय ३३ रुपैंयाँले जगेडा कोष नै घाटामा रहेको कम्पनीले उक्त अवधिमा २ आयोजनामा ५० लाख रुपैंयाँ मात्र लगानी गरेको छ । उक्त अवधिमा २६ करोड रुपैंयाँको विद्युत बिक्री गरेको कम्पनीले ६ करोड २४ लाख ३१ हजार रुपैंयाँ खुद नोक्सान व्यहोरेको छ । प्रति शेयर आम्दानी ५ रुपैंयाँ ९२ पैसाले ऋणात्मक रहेको कम्पनीको प्रति शेयर नेटवर्थ अंकित मुल्यभन्दा पनि कम अर्थात ९७ रुपैंयाँ ७४ पैसा छ । ६ करोड घाटामा रहेको कम्पनीको हकप्रदकै लागि भनेर लगानीकर्ताहरु महंगोमा शेयर किनिरहेका छन् । सानिमा माई मात्र हैन । यसअघि अरुणभ्याली, अपी, वरुण र रिडी हाइड्रोपावर कम्पनीले यस्तै तरिकाबाट रकम जम्मा गरी सञ्चालकहरुले व्यक्तिगत लाभका लागि उपयोग गरेको समाचार सार्वजनिक भइसकेको छ । शेयर बजार साप्ताहिकमा प्रकाशित
0 comments:
Post a Comment