जिर्मले, १४ भदौः गत असारको शुरुवात देखि लगातार गइरहेको पहिरोले विस्थापित बनेका दक्षिण पुर्वी जिर्मले गाविसका पीडितहरुले हालसम्म कुनै सहयोग पाएका छैनन् । जिर्मले–५को सिङ्गो गाउँनै जोखिम परेपछि इलामका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका टोलीले स्थलगत निरिक्षण गरेको एक महिना पछि गाउँ विकास समिति जिर्मलेले हिजो भदौ १४ गतेमात्र स्थलगत मुचुृल्का गरेको छ । मुलुक जनप्रतिनिधिविहिन भएको बेलामा जनप्रतिनिधिको समेत जिम्मेवारी बहन गरेका गाविस सचिव सर्वसाधारणको कामप्रति कति उदासीन हुँदा रहेछन् भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।
गत वर्षको असार १५ गतेको अविरल वर्षापछि जिर्मले–५ रम्भ्याङ्गमा गएको पहिरो यसपाली समेत नरोकिएकोले आधा दर्जन जति घरहरु उच्च जोखिममा रहेका र सोही वडाका आधा भागमा धाँजा परेको कारण जनजीवन त्रासदीपूर्ण बनेको समाचार प्रमुखताका साथ प्रकाशन तथा प्रसारण भएपछि इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख सुनिलकुमार यादव, सशस्त्र प्रहरी श्रीअन्तु गुल्मका प्रहरी नायब उपरिक्षक लकेशकुमार तुम्वाहाम्फे लगायतको प्रशासन र सुरक्षा निकायका प्रमुख टोलीले गत साउन १६ गते नै स्थलगत निरिक्षण गरेको थियो ।
पहिरोको निरिक्षण पछि प्रजिअ दाहालले अवस्था निक्कै गम्भीर रहेकोले अल्पकालिन रुपमा गाविस मार्फत जोखिममा रहेको घरहरुको पहिचान गराई उनीहरुलाई पुर्नबासको लागि व्यवस्था गराउने र दिर्घकालिन रुपमा पहिरो नियन्त्रणको लागी दैपी प्रकोप उद्धार समितिमा निर्णय गरेर आवश्यक कार्यक्रम गरिने बताउदा केही आशावादी बनेका स्थानीयबासीहरु गाविसको काम गर्ने शैली र सुस्तताले निक्कै निरास बनेका छन् । पीडितलाई राहत र पुर्नस्थापनाको काममा भएको ढिलाइ बारेमा गाविस सचिव डाकबहादुर घतानीसँग कुरा गर्दा काममा ढिलो भएको छैन प्रकृया नै यस्तै हो भन्ने हास्यास्पद जवाफ दिए । उता छिमेकी गाविस इरौटारमा सोही समयमा गएको पहिरो पीडितको लागि उक्त गाउँ विकास समितिले तत्काल दुई हजार रुपैंयाँ नगद तथा सत्तरी किलो चामल र जिल्ला दैवी प्रकोप समितिमा तत्कालै सिफारिस समेत पठाएर पुर्नबासको लागि पालको व्यवस्था गरेको इरौटारकी सामाजिक परिचालक राधा पौडेल बताईन । उनका अनुसार अनुगमन अगाडी नै गाविसले पीडितको लागत संकलन गरेर जिल्ला दैवी प्रकोप समितिमा सिफारिस गरेको थियो । जिर्मले–५को पुच्छरमा रहेको सिद्धि खोलासँगै जोडिएर करिब एक किलोमिटर जति लामो पहिरोले अमृत राई, टिकाबहादुर राई, देवी सापकोटा, भुपेन राई, बिक्रम राई, अम्बिका राई लगागत छ वटा घर विस्थापित तथा अन्य सात वटा घर उच्च जोखिममा एवम सिङ्गो गाउँनै जोखिममा रहेको सचिव डाकबहादुर घतानीले बताए ।
0 comments:
Post a Comment