इलाम, १४ भदौ ः धरानका कृष्ण केसी र उनका साथीहरुले यसपाली साईकलबाट सन्दकपुरको यात्रा गरेका छन् । इलाम र सन्दकपुरको प्रचारका लागि उनीहरुले साइकलयात्रा गरेका हुन् । साइकलबाटनै सन्दकपुर पुग्न सकिन्छ भन्ने सन्देशका साथ सन्दकपुर नेपालमै पर्छ भन्ने सन्देश उनीहरुले छरेका थिए । साइकल पर्यटनलाई प्रवद्र्धन गर्ने टोलीको अर्को मुख्य उद्देश्य रहेको थियो । ‘प्रोमोसनल राइड अफ टुर डे इलाम’ नाम दिइएको सो यात्राको संयोजन ‘टष्क माउण्टेन बाइक स्टोर’ धरानले गरेको थियो । केसीसँगै दिलिप राई बान्तवा, साहिल ठकुरी र सुजन चौधरीले धरानदेखि सन्दकपुरको यात्रा गरेका थिए । यसअघि उनीहरुकै साथी डाक्टर समिर चौधरीले पहिलोपटक एकल सन्दकपुर साइकल यात्रा गरेका थिए । यसपटकको यात्रा टोलीलाई नेतृत्व गरेका उनै कृष्ण केसीको भाषामा सन्दकपुर साइकल यात्राको वर्णन ः– हाम्रो ५ दिने साइकल यात्रा श्रावण २९ देखि भाद्र १ सम्म धरानबाट इलामको इलाम बजार बिब्ल्याटे हुँदै माइपोखरी, देउरालीको जीवनजीको व्यवस्थित होमस्टेमा एक रात बिताएर ३० गते बिहानै जीवनजी र भाउजुसँग बिदा भएर हामी इलामको माइमजुवा तिर गयौ र बाटोमा पर्ने बुधबारे बजारमा खाना खाएर ११ बजे तिर फेरी हामी हाम्रो यात्रा अगाडी बढायौ । कहिले बाटोमा यात्रा गर्दा साह्रै रमाइलो गर्दै गयौ, कुनै कुनै स्थानमा हामी धेरै बेर अल्मलिन्थ्यौ । त्यहाँको प्राकृतिक भू–वनौटले हामीलाई मोहनी लगाएको महसुस हुन्थ्यो । कोही साथीहरु पनि हिड्नु नमान्ने अझै एक छिन बसौ न भन्दै समय नै बितेको पत्तै पाउदैनथ्यौ ।
बल्ल बल्ल उकालो बाटो भर्खर डोजरले खानेको नयाँ बाटो पानीले रुज्दै रुज्दै राती ८ बजे तिर श्रीयाङ्जीको मिङमा डोमा शेर्पाको गोठमा पुगेपछि बल्ल सास आयो । हामी त्यो रातमा घर नभेटेर जंगल मै बस्नुपर्छ जस्तो लगेको थियो तर त्यस्तो भएन । मिङमा दिदीले राती नै भए पनि हामीलाई कुनै झर्को नमानी आलु उसिन्दिनु भयो टिम्मुरको चट्नी बनाईदिनु भयो र तातो तातो चिनी बिनाको चिया दिनु भयो । हामी त्यो खाएर मजाले सुत्यौ र ३१ गते बिहान ८ बजे तिर सन्दकपुरलाई गन्तव्य बनाई उकालो लाग्यौ । कहिले साइकल कुदाउदै, डोहो¥याउदै त कहिले काँधमा बोक्दै लगभग ३ घण्टामा त्यो उकालोलाई पछि पारेरै छाड्यौ । जब सन्दकपुर देखिन थाल्यो, मन तेसै तेसै उडेर तेही पुगे जस्तो लाग्दो रहेछ, हेर्दा नजिकै तर निकै फन्को मार्नु पर्ने त्यो अजङ्गको पहाडलाई दुइटा बाटो एउटा हाम्रो देश नेपाल र अर्को छिमेकी देश भारतको बाटोले फनफनी बेरेको रहेछ । हामी नेपाली बाटो तर्फ लाग्यौ । बिच बाटोमा मुसलधारे पानी प¥यो । धन्न हामी बाटो बनाउन ढुङ्गा फुटाउने दाईहरुले बनाएको त्रिपाल मुनी बसेर त्यो चिसो जाडो र चिसो पानीबाट जोगियौ । यसरी लगभग ४ बजे तिर सन्दकपुर पुग्यौ । त्यहाँ डम्म कुहिरो लगेको थियो । वरपर सबै ढाकेको थियो । जिउ नै लगलग कमाउने तिख्खर जाडो थियो । हामी चिया सुप खाएर बाहिर नियाल्न थाल्यौ । हेर्दा हेर्दै कुहिरो आफ्नो बासथानमा गएझै सफा भएर आयो । हामी त धेरै माथि रहेछौ बादल पनि हामी भन्दा धेरै तल देखेर अचम्म लाग्यो । रमाइलो लाग्यो साह्रै रमाइलो ठाउँ रहेछ । नेपाल भारत भनेर त्यहाँ जङ्गे पिलरले छुट्टाएको रहेछ । अरु स्थानमा जस्तो दस गजा रहेनछ ।
मात्र हाम्रो गाउँघर मा जस्तो आँगन जोडिएको रहेछ । नेपाल भारतको सीमा त्यहाँ हामीलाई नेपाली दाई डेण्डु शेर्पाले बढो स्वागतका साथ आतिथ्य सत्कार प्रदान गर्नुभएको थियो । उहाँको होटेल शेर्पा च्यालेट लजमा हामी आएको सुनेर एकदमै खुशी हुनुभएको थियो । नेपाली त्यो पनि साइकलमा नेपाली झन्डा बोकेर आउँदा उहाँले हामीलाई जय नेपाल भनेर सलाम पनि गर्नुभयो । त्यहाँबाट थाहा हुन्थ्यो हामीलाई कति माया र वहाँले सम्मान गर्नुभयो भनेर । साँझ पर्दै गयो, चिसो झनै बढ्यो हामी त्यहाँको लोक्कल रक्सीसँग गफिन थाल्यौ । रमाइलो नै भयो त्यो रात । लगभग राती १२ बजे तिर निदायौ र बिहान सुर्य उदाइको हेर्ने रहर तर कुहिरोको कारण हेर्न पाएनौ । केही क्षणपछि आकाश खुल्यो । हामीले भुटान भारत लगायत संसारको शिर सगरमाथा र कुम्भकर्ण, मकालु, कञ्चनजङ्गा र पाथिभरालाई आँखा भरी हेरेर ९ बजे सन्दकपुरबाट बिदा भयौ । फर्किदा कालपोखरी हुँदै भारतको सिंहलीला नेसनल पार्क हुँदै मानेभन्ज्याङ भारतको सीमाना हुँदै नेपाल भारत भन्सार नाका पशुपतिनगर राती ९ः३० मा आईपुग्यौ । बजार शुन्य सबै बन्द भईसकेको नेपाल प्रहरीले जानकारी दिए र सुरेन्द्र शाहको गुरु कृपामा बस्न जान सल्लाह दिए । हामीले फोन ग¥यौ । राती १० बजे सुरेन्द्रजी उठेर हामीलाई होटल लैजानुभयो । बडो प्रेमले खाना बनाएर खुवाउनु भयो । बिहान ८ बजे पनि हामीलाई खाजा खुवाउनु भयो । उहाँको त्यो आतिथ्यलाई हामी कहिले पनि भुल्दैनौ । भदौ १ गते पशुपतिनगरबाट फिक्कल, कन्याम हुँदै झापा हुँदै धरान आईपुग्यौ ।
यदि कसैलाई साईकल पर्यटनका विषयमा तथा इलाम सन्दकपुर साइकल टुरको विषयमा थप जानकारी लिन चाहनुहुन्छ भने कृष्ण केसी ९८५२०५६७३७ र डाक्टर समिर चौधरी ९८४२२५९३८४ मा सम्पर्क राख्न सक्नुहुनेछ ।
0 comments:
Post a Comment