चियबारी समचारहरुको संगालो बुधबार दिनभरीका समाचार एकैठाउँ


सेतीदेवी सहकारीको पुँजी चार करोड पचास लाख
इलाम १५ भदौः इलाम सदरमुकाममा वि.सं. २०५५ साल देखि महिलाद्धारा संचालनमा आएको सेतीदेवी वहुउद्देश्यीय सहकारी संस्थाको कुल पुँजी चार करोड एकाउन्न लाख चौरहत्तर हजार तीन सय एकहत्तर रुपैंयाँ पुगेको छ । बुधबार सदरमुकाममा आयोजित संस्थाको उन्नाइसौ साधारण सभामा उक्त कुराको जानकारी गराईएको हो । सो संस्थामा हाल एक हजार छ सय छयहत्तर जना महिला, चार सय पचास जना पुरुष शेयर सदस्यहरु रहेका छन् । संस्थाले जिल्लाको माईपोखरी गाविसमा समेत गरेर अठ्ठाई वटा समुह मार्फत बचत परिचालनको कार्यक्रम संचालन गरिरहेको छ । संस्थाले सदस्यहरुमा ऋण प्रवाह गर्नको लागि रुरल माईक्रो डेभलोपमेन्ट सेन्टर (आरएमडिसी) बाट पचास लाख रुपैंयाँ ऋण लिएर सदस्यहरुमा कर्जा लगानी गरिरहेको छ । इलाम जिल्लामा पहिलो पटक खुत्रुके बचत कार्यक्रम भित्राएको यस संस्थाले यसै आर्थिक वर्ष देखि बीस हजार रुपैंयाँको सदस्य मृतक राहत कोष र सुत्केरी भएका सदस्यहरुलाई पौष्टिक आहार वापत एक हजार पाँच सय रुपैंयाँ प्रदान गर्ने भएकोछ । जेष्ठ नागरिकहरुको लागि जेष्ठ नागरिक बचत कार्यक्रम पनि यसै आर्थिक वर्षमा शुरुवात गर्ने संस्थाको योजना समेत रहेको छ । आफ्ना सदस्यहरुको सम्मान गर्नको लागि हरियो, पहेलो र सेतो कार्ड वितरण गरी ऋण प्रवाह गर्ने जनाएको छ ।
संस्थाको वार्षिक कार्यक्रम अनुसार आयोजित साधारण सभामा प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंक इलाम शाखाका प्रबन्धक उपेन्द्र दाहाल, विशेष अतिथी महिला जागरण संघ इलामका अध्यक्ष विष्णु दाहाल, महिला जागरण संघका कार्यकारी निर्देशक राजन ताम्राकार, कमला बराल लगायतले संस्थाको प्रगतिको कामना गर्दै मन्तव्य राखेका थिए । कार्यक्रममा असल बचतकर्ता, असल ऋणीहरु, सदस्यभित्रका एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने छोराछोरीहरुलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष सुसिला सापकोटाका अध्यक्षतामा भएका सम्पन्न भएको थियो ।
स्थानीय उत्पादनको बिक्री केन्द्र बन्दै राँकेबजार
इलाम, १४ भदौ ः पर्यटकीय स्थलको रुपमा लिइने पाँचथर र इलाम जिल्लाको सिमाना राँके बजारमा पछिल्लो समय स्थानीय उत्पादन र जडिबुटिजन्य वस्तुको व्यापार फस्टाउँदै गएको छ । स्थानीय उत्पादन अकबरे, नौनी घिउ, छुर्पी, ललीपप, मेलको चुक, अग्र्यानिक ग्रिन टि, ब्ल्याक टि त्यस्तै लेकाली जडिबुटिजन्य वस्तुहरु चिम्फिङ, खानक्पा, टिमुर आदिको व्यापार राँके बजारमा फस्टाएको हो । सडक किनारामै थापिएका स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको लोभलाग्दो पसलले राँके पुग्ने जो कोहीको पनि मन तान्छ । विभिन्न साइजका बट्टामा नुन, तेल, मसला लगायतका आवश्यक सामग्री लगाएर तयार पारिएका जडिबुटि १ सय ५० देखि ३ सय रुपैंयाँसम्ममा बिक्री हुने अनुशा भेराइटिजका प्रोपाइटर अनिता तामाङले बताइन् । स्थानीय उत्पादनमा अकबरे, नौनी, छुर्पी, ललीपप, लेकाली ग्रिन टि र ब्ल्याक टि राँकेको मौलिक चिनारी हो । नजिकैको चिलिङ्देन गाविसमा उत्पादित अकबरे बाहिर बजारसँगै राँके बजारमा बेच्ने गरिएको छ । चिलिङदेन गाविसलाई जिल्ला कृषि विकास कार्यालय पाँचथरले अकबरेको लागि पकेट क्षेत्र नै घोषणा गरेको छ । पाँचथरको पौवासारतपा–७, चिलिङ्देन–४ र इलामको चमैता–२ को संगमस्थल राँके बजार मेची राजमार्गको पहुँचमा रहेकाले पनि मानिसहरुको बाक्लो आवत–जावत हुने स्थानीय टेक चेम्जोङ बताए । प्राकृतिक सुन्दरतासँगै स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको ब्यापारले राँकेलाई साँच्चिकै रहरलाग्दो बनाएको राँके हुँदै यात्रा गर्ने यात्रुहरु समेत अनुभव सुनाउँछन् ।
आज कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिन
इलाम, १५ भदौ ः आज कुशे औंसी,अर्थात् बाबुको मुख हेर्ने दिन । आज हिन्दुहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर—घरमा भित्रियाउँदै छन् । हिन्दू धर्मअनुसार कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा स्वीकार गरिएकाले विभिन्न धर्म अनुष्ठानमा यो पवित्र घाँसको प्रयोग अनिवार्य भएको हो ।
हरेक वर्षको भाद्र कृष्ण औंसीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन काटिएको कुशलाई घरमै राख्ने र जजमानकोमा लगिदिने प्रचलन रहेको छ । विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राह्मण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
बाबुको मुख हेर्ने दिनका नामले प्रख्यात यो दिनलाई गोकर्णे औंसी भनिन्छ । आजको दिनमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्छन् । प्रवासमा रहनेहरुले भने आफ्नो बाबुलाई फोन तथा अनलाइन मार्फत सम्पर्क गरी आफ्नो बाबुुबाट आशिर्वाद लिने गर्दछन । बाबु नहुनेहरु विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । 
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने राजधानीबाट १२ किलोमिटर पूर्वमा रहेको बागमती किनारमा रहेको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ–आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदा दान गर्नेहरूको बिहानै देखि ठूलो घुइँचो लागेको छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बाबुुलाई श्रद्धापूर्वक रुचि अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आज मोती जयन्ती
इलाम, १५ भदौ ः राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ५१ औं जन्मजयन्ती बिहीबार देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । विक्रम सम्वत् १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीबृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले नै गजल विधा र गद्य कवितालाई भित्राएको मानिन्छ । उनैले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्राएका थिए ।
क्याम्पसमा क्रान्तिकारीको विरोध
इलाम, १५ भदौ (चियाबारी संवाददाता)ः इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा नवनियुक्त भएका क्याम्पस प्रमुख यादव भारद्धाजले विद्यार्थीहरुले असन्तुष्टी व्यक्त गरेको शिक्षक नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुख विरुद्ध ज्ञापनपत्र बुझाएको छ । 
उक्त ज्ञापनपत्रमा भारद्धाज क्याम्पस प्रमुख नियुक्त हुने बित्तिकै आकस्मिक र अनपेक्षित रुपमा छापामार शैलीमा शिक्षक नियुक्ति विगत क्याम्पस प्रशासन समक्ष राखेको मागका विषयहरुमा सम्बोधन नभएको उल्लेख छ । क्रान्तिकारीको ज्ञापनपत्रमा व्यवस्थापन संकायमा कोर्ष करारका शिक्षक प्रति असन्तुष्टि राख्दै विद्यार्थीहरुले हस्ताक्षर संकलन गरेको, कर्टिकल्चरको समस्या समाधान, क्याम्पस प्रशासनले अभ्यास शिक्षणलाई प्रभावकारी बनाउन मौन रुपमा विद्यार्थी संगठनले स्विकृतिमा शुल्क बृद्धि भएको तर शिक्षण संस्था मेलाबजार जस्तो भएकोले उक्त शुल्क बृद्धि फिर्ता लिनु पर्ने लगायत एघार वटा मागहरु पेश गरेका छन्

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment