झापा, ३२ साउनः झापा लगायत मेची अञ्चलकै सवारी चालक अनुमती पत्र(लाइसेन्स) नक्कली बनाउने गिरोह सक्रिय भएको खुलासा भएको छ । गत २०६८ सालदेखि यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमति पत्रमा कडाई गर्नुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधन चेक जाँच कडा पारेपछि नक्कली लाइसेन्स बनाउने गिरोह सक्रिय भएको हो । झापाको विर्तामोड स्थित यातायात व्यवस्था कार्यालय मेची बाहिर खटिएका गिरोह सक्रिय भएपछि पछिल्लो समयमा मेचीमा नक्कली लाइसेन्स छयाप्छायापी पाइन थालेको छ । यस गिरोहमा कार्यालयका कर्मचारी, डा«इभिङ् सेन्टर, यातायात सम्बन्धि काम गर्ने बिचौलीया र पेशेवर दलालीको संलग्नतामा नक्कली लाइसेन्स दिने काम भइरहेको स्रोतको दाबी छ ।
नक्कली लाइसेन्स बनाउने गिरोहले सवारी चालकबाट मोटो रकम असुल्दै सक्कली जस्तै देखिने नक्कली लाइसेन्स दिने गरेको ट्राफिक चेकजाचको क्रममा फेला परेको छ । ट्राफिक प्रहरीले सवारीसाधन चेक जाँचको क्रममा झापाका विभिन्न स्थानबाट सवारी चालकको लाइसेन्स नक्कली फेला पारिसकेको छ । नियन्त्रणमा लिएका लाइसेन्स सम्बन्धी चालक लिन नआउदा यातायात कार्यालयमा सो नम्बरको लाइसेन्स बुझन पठाएपछि लाइसेन्स नै नक्कली भएको पुष्टि हुन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका इन्स्पेक्टर ढुण्डीराज गिरीले बताए ।
ट्राफिक प्रहरीले फेला पारेको लाइसेन्स नम्बर ०१–०४२१३६ मा झापा पृथ्वीनगर बस्ने यामकुमार महत नाम रहेपनि उक्त नम्बरको लाइसेन्समा सिराह रामनगर मिर्चियाका नथुनीप्रसाद शाहको नाममा जारी भएको यातायात कार्यालयको रेकर्डमा देखिन्छ । शाहको नाममा रहेको लाइसेन्स ए र बि भएपनि महतले ए, वि, एफ र जि राखेर दुरुपयोग गरिरहेका थिए । त्यस्तै मोरङ मिर्गौलिया ६ बस्ने यामबहादुर बराइली कामीको लाइसेन्स नम्बरमा ०१–०६७२३४ मा मेचीनगर नगरपालिका १० का शेखर शर्मा गुराँगाई नाम रहेको छ । शेखरले ०५८ पुस ९ मा लिएको सोही नम्बर लाइसेन्सलाई कामीले ०६८ श्रावण २० जारी मिति लेखेर प्रयोग गरिरहेका थिए ।
चन्द्रगढी बस्ने कामीचन राजवंशीको लाइसेन्स नम्बर ०१–०८२७२४ मा राजगढ बस्ने गजेन्द्र राजवंशीको नाम रहेको छ । गजेन्द्रले ए अनुमति लिएपनि कामीचनले ए र बी राखेर प्रयोग गर्दै आइरहेका थिए । सुनसरी डुमराहा बस्ने बाबुराम चौधरीको लाइसेन्स नम्बर ०२–७०३२५ मा झापा हल्दिवारी १ का सुनिल महतोले ए र बी राखेर प्रयोग गर्दै आइरहेका थिए । त्यसैगरी झापा हल्दीवारी १ का नविन आचार्यकोे लाइसेन्स नम्बर ०१–०९९७८८ मा सुनसरीका भरौला बस्ने जितेन्द्रराज धामीको नाम उल्लेख भएकोेमा नविनले ०७० माघ ५ मा जारी गरेको लाइसेन्समा धामीले ०७२ माघ १९ जारी मिति राखेर प्रयोग गर्दै आइरहेको यातायात व्यवस्था कार्यालयको रेकर्डमा रहेको अधिकृत मनोजकुमार ठाकुरले बताए ।
गिरोहले नक्कली लाइसेन्स बनाउदा लाइसेन्सको कार्ड देखि लिएर सहि छाप त बाहिरै गरिरहेका छन् तर सरकारको छाप चिन्ह अर्थात होलोग्राम चाहि कहाँबाट फेला पार्छ यस विषयमा गम्भिर प्रश्न उठेको छ । चालकले लाइसेन्स हरायो भनि प्रतिलिपी बनाउन आउनेवाट यस्तो पेशामा संलग्न गिरोहले लाइसेन्समा लगाएको होलोग्राम पुनः प्रयोग गरी नक्कली लाइसेन्स बनाउने काम गर्दै आइरहेको हुन सक्ने यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जनार्दन भट्टराईले बताए । नक्कली लाइसेन्सको विषयमा कार्यालयका सुचना अधिकारी तथा अधिकृत टंकबहादुर कार्कीले हाम्रो तर्फबाट कुनै कमजोरी र मिलोमतो नरहेको ठोकुवा गरे । यस्ता प्रकारका लाइसेन्स बनाउनेमा ठुलो गिरोह रहेकाले यसको तत्काल छानविन र अनुसन्धान गरिनु पर्ने कार्कीको भनाई छ ।
यता नक्कली लाइसेन्स बनाउने गिरोहमा आवद्ध व्यक्तिले ट्रायल फेला भएका चालकलाई लाइसेन्स बनाइदिन छु भन्दै प्रति लाइसेन्स १८ देखि ३० हजार सम्म लिने गरेको बुझिएको छ । गिरोहबाट लाइसेन्स लिएका चालक चेकजाँच वा अन्य कुनै समस्यामा नपरेसम्म पाँच वर्ष उसले थाहा नै पाउदैन । यातायात कार्यालयमा जब उसले लाइसेन्स नविकरण गर्न आउछ त्यस बेला चालकले आफनो लाइसेन्स नक्कली भएको थाहा पाउने घटनाहरु यातायातमा आउने गरेको कार्यालयका कर्मचारीहरु बताउछन् ।
सडक चेकजाचमा लाइसेन्स चिन्न नसकिने भएकोले यसको दुरुपयोग बढन थालेको इन्स्पेक्टर गिरीले बताए । जिल्लाका ट्राफिक प्रहरीलाई यातायात कार्यालय जस्तै लाइसेन्स जाँच गर्ने सफ्टवेयर नदिएसम्म नक्कली लाइसेन्स नियन्त्रण हुन नसक्ने उनले बताए । कम्युटरमा नम्बर पोष्ट गर्ने प्रविधि जब देखि शुरु हुन्छ, समस्या आफै टरेर जान्छ । पुष्टि भएका नक्कली लाइसेन्समा उल्लेखित व्यक्तिलाई खोज तलासको माध्यमवाट चाडो भन्दा चाडो पक्राउ गरी कार्वाहीको दायरामा ल्याएमात्र गिरोह पक्राउ गर्न सकिने उनले बताए ।
0 comments:
Post a Comment