सुदिप श्रेष्ठ
इलाम, ३२ साउनः स्थानीय निकायको अनुसासन तथा सुसासन नाप्ने यन्त्र एमसिपिएममा इलामका सबै गाविस फेल भएका छन् । जिल्ला विकास समिति इलामले तोकिएको थप समयमा पनि इलामका गाविसहरुको एमसिपिएम तथ्यांक सम्बन्धित आयोगलाई नपठाएकै कारण सबै गाविस एमसिपीएममा फेल भएको हो । सबै गाविस फेल भएको स्थानीय विकास मन्त्रालयको स्थानीय निकाय वित्तीय आयोगले पुष्टि गरेको छ ।
नेपाल सरकारले स्थानीय निकायहरुलाई तोकेको न्यूनतम सर्तमा जिविस इलाम आफै पनि पहिले भन्दा झरेर थप अनुदानको ९० प्रतिसत मात्र पाउने वर्गमा परेको तथा इलाम नगरपालिका फेल नै भएर थप अनुदान नपाउने समाचार हामीले यसअघिनै प्रकाशित गरिसेका छौ । फेल भएकाहरुले यस आर्थिक बर्षमा सर्तमा आधारित थप अनुदान पाउने छैनन् । तोकिएको समय माघ मसान्तमा आयोगमा पठाइसक्नुपर्ने कागजात गाविस सचिवहरुको आन्दोलनको कारण म्याद थप गरि असार २४ गते सम्म बढाएपनि जिविस इलामबाट थपिएको म्यादसम्म पनि एमसिपिएम सम्बन्धि कागजात प्राप्त नभएको आयोगकी सुचना अधिकृत कल्पना श्रेष्ठले बताइन् । जिविस इलामको चरम लापरबाहिका कारण इलामका ४३ वटा गाविसका बासिन्दाले पाउने अधिकारबाट बञ्चित हुनेभएको हो ।
आयोगले असार ३० गते नै आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको देशभरका स्थानीय निकायहरुको नतिजामा इलामका गाविसको नतिजा हेर्न सकिन्छ । यससँगै जिल्ला विकास समितिभित्रको सुसासनमा प्रश्न उठ्नु स्वभाविक मानिएको छ । जिविस इलामका सुचना अधिकारी तथा योजना अधिकृत छविलाल खतिवडाले सबै गाविसको कागजात समयमा आयोगमा नपुगेको कारण फेल भएको स्विकारे ।
उनले गाविसहरुले समयमा जिविसलाई कागजात नबुझाएको कारण जिविसले समेत ढिलाई गर्न पुगेको बताए । उनले पुर्नमुल्यांकनका लागि आयोगसँग कुरा भइरहेको बताए पनि आयोगका सदस्य सचिव पुरुषोत्तम नेपालले सो कुरा अस्विकार गरे । स्थानीय निकाय वित्तिय आयोगका सदस्य सचिव एवं मन्त्रालयका सहसचिव समेत रहेका नेपालले हामीसँग कुरा गर्दै अब प्रकाशित नतिजामा कुनै फेबदल नुहने बताए ।
यता हामीसँग सम्पर्कमा आएका अधिकांश गाविस सचिवहरुले समयमानै जिविसलाई कागजात बुझाएको प्रतिक्रिया दिए । सेवा प्रवाह, पारदर्शिता, वित्तीय व्यवस्थापन, राजस्व संकलन क्षमतालगायत सूचकांकका आधारमा वित्तीय आयोगले जिविस, नगरपालिका र गाविसको मूल्यांकन गर्छ ।
0 comments:
Post a Comment