सोम आचार्य
इलाम, ५ भदौः जिल्लामा फुटबल र फुटबल खेलाडीको इतिहासको महत्व छुट्टै छ । चाहे पेट्रोम्याक्स बालेर टुँडिखेलमा फुटबल खेलेको इतिहास होस् वा ग्राम विकास कपको इतिहास । समयले इलाममा राष्ट्रिय स्तरका खेलाडीहरु समेतको उत्पादन गरेको छ । यस्तै इलाममा फुटबलको इतिहास खोतल्दा बिर्सन नसकिने नाम हो, हरिहर काफ्ले । आफनो समयका चर्चित फुटबलर । यस पटकको सिनियर सिटिजन स्तम्भमा यिनै काफ्लेसँगको साक्षात्कार ।
मेरो जन्म वि.स. १९९४ साल भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन इलाम नगरपालिका वार्ड न. ३मा बुवा चन्द्रकान्त काप्mले र आमा दमयन्ता काप्mलेको कोखबाट भएको हो । म अहिले असी वर्षको भएँ । मेरो हजुरबुबा राइटर छबिलाल काप्mले सङखुवासभाबाट इलाम बसाइँ सरेर आउनुभएको हो । हामी दाजुभाइ तीन जना हौ । तीन भाइ मध्येको म कान्छो हुँ ।
मेरो बाल्यवस्था यही इलाम नगरपालिकामा नै बित्यो । मैलै सरस्वती कन्या हाइस्कूल अर्थात हालको आर्दश उच्च माविमा दश कक्षा सम्मको अध्ययन गरे । वि.स. २००५ सालबाट औपचारिक रुपमा विद्यालय जान शुरु गरेको हुँ ।
त्यो बेला कक्षा आठसम्म अध्ययन गरेको जो कोहीलाई पनि नर्मल तालिम दिइन्थ्यो । मैले वि.सं. २०१४ सालमा करिब एक वर्ष नर्मल तालिम लिएँ । एक वर्षको लामो नर्मल तालिम सकिएपछि मलाई सङ्खुवासभा पठायो र मैले एक वर्ष त्यही पढाएँ । एक वर्षको सङ्खुवासभा बसाइपछि म फेरि पनि इलाम नै आएँ र शिक्षकको रुपमा साङरुम्बा गाविस गएँ । वि.स. २०१९ सालमा म साङरुम्बा गाविसबाट इलामको सोयाक गाविसको निन्दाखुमा रहेको महेश्वरी प्राविमा सरुवा भएँ र त्यहाँ उन्नाइस साल भरी शिक्षकको रुपमा काम गरेँ । वि.स. २०१९ सालमा घरेलु तथा साना उद्योग कार्यालयले बैदार पदको विज्ञापन खुलायो र त्यसमा भिडेँ । त्यसमा अन्य निकैजनाले प्रतिष्पर्धा गरेका थिए । अरुलाई पछि पार्दै मैले बैदार पदमा नाम निकाँले र लगातार वि.स. २०३८ सालसम्म घरेलु तथा साना उद्योग कार्यालयमा जागीर खाएँ ।
जागीरको दौरान मैले इलाम बाहेक अन्य विभिन्न जिल्लामा पनि काम गरेको छु । केही समयपछि बैदारबाट मुखिया हुँद्रै खरिदारमा बढुवा भएँ । जागिरकै शिलशिलामा म पाँचथर स्थित घरेलु तथा साना उद्योग कार्यालयमा कामु कार्यालय प्रमुखको रुपमा सरुवा भएर गएँ । मलाई कामु कार्यालय प्रमुख बनाउने कुरामा भने त्यो बेलाका प्रभावशाली व्यक्तित्व पूर्वमन्त्री पद्मसुन्दर लावतीको प्रमुख भूमिका छ । पद्मसुन्दर लावतीको इलामका यामप्रसाद चापागाँई, सोमनाथ बाँस्तोलाहरुसँग राम्रो सम्बन्ध थियो । यामप्रसाद र सोमनाथहरुकै माध्यमबाट मलाई कामु कार्यालय प्रमुख बनाएर इलामबाट पाँचथर सरुवा गरियो । वि.सं. २०३८ सालमा मलाई पाँचथरबाट बैतडी सरुवा गरियो तर म उता गइन किनकी बैतडी मलाई टाढा भयो पहिलो कुरो, दोश्रो कारण त मेरो पेन्सन पनि पाकिसकेको थियो ।
मेरो विवाह साह्रै सानो उमेरमा भएको हो । मेरो विवाह हुँदा म मात्र १३ वर्षको थिएँ भने मेरी श्रीमती त आठ वर्षकी मात्र । हामीले विवाहअघि एक अर्कालाई देखेका पनि थिएनौ । विवाह पनि के भन्नु र त्यो त भाँडाकुटी खेल जस्तो पो लाग्छ, अहिले त । मेरो विवाहको पछाडि एउटा रमाइलो कथा पनि छ । खासमा मेरो माइला दाजुलाई दिने कुरा भएको थिएछ तर सासू ससुराले माईलालाई नभई मलाई चै दिने निर्णय गर्नुभएछ । विवाह भएको तीन वर्षसम्म लगातार रुपमा उनी त माइतमै नै बसिन् । विवाह भएको तीन वर्षपछि मात्र हाम्रो एकआपसमा भेट भएको हो । मलाई नै उहाँहरुले रोज्नु पर्ने कारण चै मेरो हजुरबुबा ससुरा सोयाकबाट घोडा लिएर इलाम आइरहनु हुन्थ्यो । घोडा हाम्रै घरछेउमा बाध्नुहुन्थ्यो । म चैँ घोडालाई घाँस दिने गर्थे, सायद त्यही कारण हुन पनि सक्छ सासु ससुराले मलाई रोज्नुको कारण । अहिले हामी बस्दै गरेको ठाँउमा खाली दुईवटा मात्र घर थियो । जुन मेरै मूल घर हो । यहाँ भन्दा मूनि मगर गाउँ र खड्गी गाउँ थियो । यो ठाउँलाई त बाँसबारी, दानाबारी जस्ता नामले पो चिनिन्थ्यो । यहाँ त पूरै बाँसघारी थियो । अहिले माई मेडिकल भएको ठाउँदेखि तल पशु कार्यालयसम्म बाँसघारी थियो । यहाँ सल्ला, फलेदो, चिलाउने जस्ता रुखहरु प्रशस्त थिए । यो ठाउँ त पूरै जङ्गल पो थियो । माथि बजारतिर रहेका मारवाडीहरु दिशा जान लोटा बोकेर यही आउने गर्थे । हामी पनि खुल्ला ठाउँमा नै जाने गथ्र्यौ । यो ठाउँमा पूरै बाघ भालु लाग्ने गथ्र्यो । बाघ भालु खेद्न हामी साँझ भएपछि राँको लिएर निस्कने गथ्र्याै । टिन ठटाउथ्यौ । हामीले पालेको खसी बाख्रा त कति खाको छ कति बाघले । बिस्तारै बस्ती विकासको क्रमसँगै बाघ भालु आउन छाडे । तल शेरामा शिव गौतमकी बहिनीलाई त सुतेकै ठाउँबाट बाघले लिएर गएछ र मारेछ ।
म सानै उमेरदेखि फुटबल खेल्ने गर्थे । केटाकेटीदेखि नै फुटबल खेल्ने हाम्रो समूह नै थियो । केटाकेटीमा धेरै फुटबल खेले पनि मैले पहिलो पटक फुटबल प्रतियोगीतामा भने वि.स.२०१४ सालमा पहिलो पटक भाग लिएँ । त्यहो बेला ग्राम विकास कप भनेर खुब प्रचलित थियो । मैले ग्राम विकास टिमको तर्फबाट खेलेको थिएँ । म लाष्ट डिफेन्सबाट खेल्थे । हाम्रो समूहमा गंंगा उपे्रती किपर हुनुहुन्थ्यो । हामीले बजारको टिमलाई हराएका थियौ । यसरी पहिलो पटक मैले वि.स. २०१४ सालमा ग्राम विकास कप जिते । त्यसैगरी वि.स. २०१८ सालमा फेरि ग्राम विकास कप खेल्यौ । यस पटक भने हाम्रो समुहमा खड्गप्रसाद बैद्य पनि सामेल हुनुभयो । म र खड्गप्रसाद बैद्य भएपछि कसैले पनि नसक्ने । हामी दुवैजना डिफेन्स खेल्थ्यौ । दर्शकहरु पनि यी दुई जनालाई कसैले पनि सक्दैन भन्थे । यसरी फुटबल खेल्ने म जागिर खान थालेपछि भने खेलमा पूर्णबिराम नै लाग्यो ।
हामीले फुटबल खेल्दा त केटीहरुको लाइन नै लाग्ने गथ्र्याे । लोभी मन त हो, केटीहरु झुम्मिदा हाम्रो पनि मनले कहाँ मान्थ्यो र । तर पनि मन थाम्नु पथ्र्याे । सानैमा विवाह गरिएको थियो । घरमा श्रीमती थिइन अनि दायाँबायाँ गरेर भयो त । त्यतिखेर चाहेको भए त धेरै जना ल्याइन्थ्यो ।
अहिले ठूलो टुँडिखेलको नामले परिचित मैदान मेरो हजुरबुवा राइटर छबिलाल काफ्लेको नाममा थियो । त्योबेला हाम्रो जग्गा त आँखाले समेत देख्न नसक्ने गरी थियो रे । धेरै जग्गा भएकोले कर तिर्न पनि समस्या हुने गथ्र्यो भन्नुहुन्थ्यो बुवाले । यति राम्रो ठाउँमा त्यति राम्रो जग्गा भएकोले सेनाको आँखा समेत लागेछ । सेनालाई पनि खेल्ने जग्गा चाहिने भएको कारणले त्यसमा आँखा लाग्नु स्वभाविक पनि थियो । वि.स. २०३२ सालमा बत्तीस हजार रुपैंयाँ नै लिएर हजूरबुबाको नाममा रहेको जग्गा तत्कालिन शाही सेनाको नाममा पास गरिदिएको हो । यो जग्गा नेपाली सेनाको मातहतमा गएकोमा मलाई कुनै पश्चाताप पनि छैन् । सेनाको नाममा रहेको यो मैदानमा अब कसैले पनि व्यक्तिगत प्रयोजनको लागि केही पनि गर्न त सक्दैन । यहाँ फुटबल अभ्यास गर्ने केटाकेटीहरु भविष्यका राम्रा र सफल फुटबल खेलाडी बन्न सक्छन जसले इलामको चर्चा मुलुक भरि फैलाउन सक्छन् । अहिले पनि यो मैदानमा खेलेका केही भाइबहिनीहरुको नाम मुलुक भरी चलेको छ । सेलाइसकेको खेल पनि केही मेरा छोराहरुको सक्रियतामा अन्तराष्ट्रिय स्तरका टिम समेतलाई आमन्त्रण गरी विगत दुई वर्षदेखि सञ्चालन गरी त्यसबाट भएको मुनाफा समेतलाई सही सदुपयोग गर्दै हाल आएर हाम्रो खेलमैदानको स्तरोन्नतिमा लागि परेको मैले चश्मा नलाई देखेको छु ।
अहिले पनि फुटबल खेलौ खेलौ लाग्छ । हामी बुढापाकाको टिम बनाएर कसैले खेलाए पनि खेल्थे । केटाहरुसँग पो खेल्न सकिदैन त । मेरै उमेरकाहरुसँग खेल्न सकिहालिन्छ नि ।
0 comments:
Post a Comment