दुवै खुट्टा नभएकी महिलालाई इलाम अस्पतालमा प्रसुति सेवा

इलाम, २६ भदौ : इलाम अस्पतालमा दुवै खुट्टा नभएकी एक महिलालाई सुरक्षित तबरले सेवा उपलब्ध गराएको छ । घुँडादेखि माथि दुवै खुट्टा नभएकी पाँचथर ओयामकी २० वर्षिया जुना राईलाई अस्पतालका डाक्टर प्रभु शाहको नेतृत्वले सुरक्षित ढंगबाट प्रसुति सेवा दिएको अस्पतालका चिकित्सक टिका सापकोटाले बताए । डाक्टर पेशामा लागेर हजारौ प्रसुतिको सेवा दिएपनि यस्तो जटिल किसिमको सेवा अहिलेसम्म नदिएको डाक्टर शाहको भनाई छ । ‘यो एकदमै जटिल समस्या हो, तरपनि हामीले जोखिम मोलेरै सेवा दियौं ।’ उनको भनाई छ । 
गत भदौ २४ गते अस्पतालमा भर्ना भएकी राईलाई उनको परिवारले इलामबाट अन्य अस्पतालमा लगेर उपचार गर्न रकम अभाव भएको र घरमै लैजाने बताएपछि आफूहरुले जोखिम मोलेरै प्रसुति सेवा दिएको डाक्टर शाहले बताए । शुरुमा अप्रेसन गरेर सेवा दिने सोच बनाएपनि नर्मल ढंगबाटै सेवा दिन सकेको बताइएको छ ।  तीन केजी तौल भएकी छोरीलाई जन्म दिएकी राईले आफू पनि आमा बन्न सकेकोमा खुशी भएकी थिइन् । जन्मजात नै अपाङ्गता भएर जन्मिएकी राईको दुइवर्ष अघि सन्तोष राईसँग प्रेम विवाह भएको थियोे । उनका श्रीमान भने अपाङ्गता नभई साधारण मानिस सरह छन् । दुवै खुट्टा नभएको अपाङ्गता महिलासँग विवाह गरेका सन्तोष राईलाई अस्पतालमा रहेका अन्य बिरामी, बिरामीका कुरुवा तथा स्वास्थ्यकर्मीहरुले बधाई समेत दिएका थिए । 
ब्यथा लागेपछि शुरुमा पाँचथर अस्पतालमा प्रसुति गराउन गएपनि अस्पतालले यहाँ नसक्ने भन्दै धरान घोपामा रेफर गरेको थियो । तर आर्थिक अवस्था कमजोर भएका कारण इलाम अस्पतालमा ल्याएको श्रीमान सन्तोषको भनाई छ । इलाम अस्पतालले जटिल किसिमको प्रसुति सेवा दिएपछि सेवा पाएका सुत्केरीलाई अस्पतालले निशुल्क एम्बुलेन्स मार्फत पाँचथर समेत पु¥याउने व्यवस्था मिलाएको अस्पातलका अर्का चिकित्सक गणेश रिजालले जानकारी दिए । प्रसुति सेवा दिदै आएको इलाम अस्पातलले अहिले सम्म यस्तो किसिमको बिरामीलाई जोखिम मोलेर सेवा नदिएको र यो नै पहिलो घटना भएको दाबी गरेको छ । यता पछिल्लो समय अस्पतालमा स्त्री रोग विषेशज्ञ डाक्टरको उपस्थिती पछि प्रसुति सेवा लिनेको चाप पनि बढेको जनाइएको छ । डाक्टरको अभावमा प्रसुति गराउन आउने बिरामीहरुलाई अस्पतालले जिल्ला बाहिरका अस्पतालमा रेफर गर्दै आएको गुनासोहरु यसभन्दा अगाडि आउने गरेको थियो । तर त्यस्तो अवस्थामा अहिले इलाम अस्पताल नरहेको डाक्टर शाहको भनाई छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments: