इलाम, २२ भदौ ः इलाममा १० वटा स्थानीय तह पुनःसंरचना गर्ने विषयले औपचारिक प्रवेश पाएको छ । बुधबार स्थानीय विकास अधिकारी मदन कोईरालाको संयोजकत्वमा रहेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनैतिक दल र सञ्चारकर्मीसँग गरेको छलफलमा १० स्थानीय तहको प्रस्ताव औपचारिक रुपमा आएको छ । छलफलमा प्राविधिक सहयोग समिति र विभिन्न ४ राजनैतिक दलले आ–आफ्नो खाका प्रस्तावका रुपमा पेश गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र राप्रपाले छुट्टाछुट्टै खाका छलफलका लागि प्रस्तुत गरेका थिए ।
प्राविधिक सहयोग समितिको प्रस्तावमा तीन नगरपालिका र सात गाउँपालिका बनाउने प्रस्ताव छ । समितिले साविकको चुलाचुली गाविस, बाँझोको वडा नम्बर २ र साकफाराको १ र २ लाई मिलाएर फाल्गुनन्द गाउँपालिका प्रस्ताव गरेको छ । २१ हजार दुई सय ३२ जनसंख्या रहने सो गाउँपालिकाको केन्द्र चुलाचुलीको पेल्टीमारी÷शिखरकटेरी प्रस्ताव गरेको छ ।
बाँझोको वडा नम्बर २ बाहेकका सबै वडा, साकफाराको बाँकी वडा, महमाईको १ देखि ४ सम्म र इभाङ गाविस मिलाएर माङ्सेबुङ गाउँपालिका प्रस्ताव गरेको छ । धार्मिकस्थल माङ्सेबुङलाई केन्द्र प्रस्ताव गरिएको सो गाउँपालिकामा १७ हजार नौ सय ८६ जनसंख्या रहेको छ । त्यस्तै दानाबारी, महमाई ५ देखि ९, चिसापानी ४ र ६ बाहेकका वडा र लक्ष्मीपुरको २ र ५ माई गाउँपालिकाको प्रस्ताव गरेको छ । यसको केन्द्र दानाबारीको शितली बजार प्रस्ताव गरेको छ जसको जनसंख्या २९ हजार पाँच सय २५ छ ।
फाकफोक, आमचोक, फुएतप्पा, लुम्दे र गजुरमुखीलाई मिलाएर फाकफोक वा गजुरमुखी गाउँपालिका प्रस्ताव गरेको छ । १९ हजार दुई सय ६४ जनसंख्या रहने यसको केन्द्र साविकको आमचोक गाविस प्रस्ताव गरेको छ । देउमाइ नगरपालिका, जितपुर, सिद्धिथुम्का, साङरुम्वाका वडा नं. ७, ८ र ९, शान्तिडाँडाका वडाहरु ५ देखि ९ सम्म, चमैता र एकतप्पा गाविस मिलाएर मंगलबारे बजार केन्द्र रहने गरी देउमाई नगरपालिका प्रस्ताव गरेको छ । सो नगरपालिकाको जनसंख्या ३६ हजार पाँच सय ६४ रहेको छ ।
इलाम नगरपालिका, गोदकका वडा नम्बर १ देखि ५ सम्म, सोयाकका सबै चिसापानीका ४, ६ र ७ वडा, साङरुम्वाका १ देखि ६ सम्म, शान्तिडाँडाका १ देखि ४, बरबोटे, सुम्बेक, साँखेजुङ गाविस मिलाएर इलाम नगरपालिका र यसको केन्द्र इलाम बजारलाई प्रस्ताव गरेको छ । जनसंख्या ४५ हजार नौ सय ९४ छ । नयाँबजार, जोगमाई, नामसालिङ, प्याङ र सोयाङ गाविस मिलाएर जोगमाई÷सिद्धपोखरी गाउँपालिकाको प्रस्ताव गरेको छ । २१ हजार पाँच सय ६१ जनसंख्या रहेको यसको केन्द्र नयाँबजारमा रहने प्रस्ताव गरिएको छ ।
सूर्याेदय नगरपालिका, गोदकका वडा नं. ६ देखि ९, गोर्खे, समालबुङ, श्रीअन्तु, पशुपतिनगर र लक्ष्मीपुरका २ बाहेकका वडाहरु मिलाएर सूर्याेदय नगरपालिका यसको केन्द्र फिक्कल बजारमा रहने गरि प्रस्ताव गरेको छ । जनसंख्या ५६ हजार तीन सय ९६ छ । त्यस्तै पुवामझुवा, माईमझुवा, माईपोखरी, सुलुबुङ, माबु, जमुना गाविस मिलाएर सन्दकपुर गाउँपालिका प्रस्ताव गरेको छ । २० हजार छ सय ७७ जनसंख्या रहेको सो केन्द्रको प्रस्ताव सुलुबुङको देउराली बजार प्रस्ताव गरिएको छ ।
राजनैतिक दलहहरुको प्रस्ताव प्राविधिक समितिका भन्दा केही मात्र फरक छ । कांग्रेस, माओवादी केन्द्र, राप्रपा नेपाल र राप्रपाको प्रस्ताव अधिकांश समितिको प्रस्तावसँग मेल खाएपनि केही फरक छन् । एमालेले भने आयोगले तोकेको आठ वटामा नै सहमति भएको भन्दै नयाँ खाका ल्याएन । उसले सो प्रस्ताव पहिले नै प्राविधिक सहयोग समितिमा पेश गरिसकेको छ । सबै प्रस्तावमाथि बिहीबार बस्ने अर्को बैठकमा वृहत छलफल गरी अन्तिम प्रस्तावको रुपमा खाका तयार गर्ने निर्णय भएको छ ।
प्राविधिक सहयोग समिति र राजनैतिक दलको प्रस्तावमा स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको भने कुनै प्रस्ताव आएको छैन । स्थानीय तह पुनसंरचना प्रविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधिको ३.२.४ मा स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र निर्धारणका आधारहरु तोकेको छ । कार्यविधि अनुसार अतिअल्पसंख्यकहरुको बसोबासको क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन सकिन्छ । त्यस्तै एक जात समुदाय वा भाषा, संस्कृति भएको समुदायको सघन उपस्थिति रहेको क्षेत्र समेटी स्वायत्त क्षेत्र बनाउन सकिन्छ । यसअघिको आठ प्रस्तावमा स्वायत्त र संरक्षित क्षेत्र प्रस्ताव नगरिएको भन्दै किरात याक्थुङ चुम्लुङले प्रस्ताव सहित मागपत्र समितिसमक्ष पेश गरेको थियो ।
प्राविधिक सहयोग समितिले आयोगमा सिफारिस गर्नुअघि यसअघि प्रस्तावित आठ र १० दुवै प्रस्ताव उपर स्थानीयको प्रस्तावित केन्द्रमा गएर राय सुझाव लिनेछ ।
समितिले यसै साता विभिन्न आठ स्थानमा गएर स्थानीय राजनैतिक दल र सरोकारवालाहरुसँग छलफलको आयोजना गर्ने जनाएको छ । सो छलफलमा प्राविधिक सहयोग समितिको आठ र राजनैतिक दलहरुको सहमतिको १० स्थानीय तहको प्रस्तावित रुपका बारेमा राय, सुझाव लिइनेछ । छलफलबाट आएको सुझावका आधारमा आवश्यक परिमार्जन गरी अन्तिम रुप दिने संयोजक कोइरालाले जानकारी दिए ।
0 comments:
Post a Comment