इलाम, २२ भदौः भारतले क्वारेन्टाइनको कारण देखाउँदै नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको भन्दै एक सातादेखि निर्यातमा रोक लगाएको छ । करिब १५ वर्षअघि आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाइएको विषादीको अवशेष नेपाली अदुवामा पाइएको भन्दै निर्यात रोकिएको हो । निर्यात रोकिएपछि पछिल्लो एक सातामा निर्यात गर्न तयार पारिएको सात हजार दुई सय मेट्रिक टन (झन्डै ७२ लाख किलो) अदुवा मुलुकका विभिन्न स्थानमा अलपत्र परेको छ । कृषि विकास मन्त्रालयका अनुसार नेपालले सन् २००१ मा प्रतिबन्ध लगाइएको अल्दीकार्ब (एएलडीआईसीएआरबी) नामको विषादीको अवशेष नेपाली अदुवामा पाइएको दाबी गर्दै भारतले गत भदौ १६ गतेदेखि निर्यातमा रोक लगाएको हो । ‘यो औषधिको आयात, बिक्री, वितरण र प्रयोगमा १५ वर्षअघि नै सरकारले प्रतिबन्ध लगाइसकेको छ’ स्रोतका अनुसार भारतले नेपाली अदुवामा विषादी भेटिएको बहानामा निर्यातमा रोक लगाए पनि भित्री तथ्य अर्कै भेटिएको छ । चीनबाट आयात हुने अदुवालाई नेपाली उत्पादनको नाममा केही व्यवसायीले भारत निर्यात गरेपछि भारतले विषादीको बहानामा नेपाली अदुवाको निर्यातमा रोक लगाएको स्रोतले बताएको छ । नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अनुसार भारतले दिल्लीस्थित सब्जी मण्डीबाट अदुवाको नमुना लिएर गत साता परीक्षण गरेको थियो । तर, अदुवा कुन मुलुकको हो भन्ने पुष्टि भएको छैन् । सब्जी मण्डीबाट लिइएको अदुवाको नमुनामा उच्च परिमाणमा विषादी भेटिएको भन्दै भारतको दिल्लीस्थित क्वारेन्टाइनले प्रतिवेदन दिए लगत्तै अदुवाको नमुना नेपालकै हो भनेर भारतीय भन्सारले नेपाली अदुवाको निर्यातमा रोक लगाएको छ । यता इलाममा भने अदुवा निर्यातमा रोक लगाएपछि पूर्वी नेपालका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् । नेपालमा उत्पादन भएको अदुवाले राम्रो मूल्य नपाएको अवस्थामा चीनमा उत्पादन भएको अदुवा नेपाल हुँदै भारत पुगेको आरोप लगाउँदै भारतले अदुवा नेपालबाट अदुवा आयतमा रोक लगाएको हो । नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रिय सचिव हेमन्त बोहोराका अनुसार चीनबाट नेपाल आएर भारत निकासी हुने अदुवामा विषादीको मात्रा भेटिएको भन्दै अदुवाको निर्यात रोकिएको हो ।
स्रोतका अनुसार भन्सार कर्मचारीसँगको मिलेमतोमा चीनको अदुवा भारत पु¥याउने गरेको हो । पहिले झापाको काँकरभिट्टा नाका र वीरगञ्ज नाकाबाट चीनको अदुवा भारत जाने गरेको थियो । नेपालको अदुवाको स्वाद राम्रो भएपनि आकर्षक नभएकाले चीनको अदुवाको माग भारतमा उच्च छ । चीनको अदुवा चम्किलो र राम्रो पञ्जा भएकाले अन्तराष्ट्रिय बजारमा यसको उच्च माग रहेको विज्ञहरु बताउँछन् । नेपालको अदुवा सानो र नराम्रो देखिने भएकाले उपभोक्ता आकर्षकका लागि समस्या भएको हो । स्रोत भन्छ फलतः कालीमाटी लगायतका ठुला कृषि बजारका व्यापारीलाई तस्करी गर्न सजिलो भएको छ । नेपाल सरकारले २०५७ मा तोकेको अदुवाको मापदण्ड अनुसार बोक्रा फालेको वा नफालेको, सुकेको विभिन्न आकारको अदुवाको गानो, चिस्यान १२ प्रतिशत भन्दा कम भएको, बाह्य पदार्थ २ प्रतिशत भन्दा कम भएको, सुगन्धित तेल १ प्रतिशत भन्दा बढी भएको, क्याल्सयिम अक्साईड ४ प्रतिशत भन्दा कम भएको र कुनै रंगको प्रयोग नभएको अदुवा निर्यातका योग्य हुन्छ । तर नेपालमा माटो सहितको अदुवा भारत पुग्ने गरेको सचिव बोहोराले बताए । उनले नेपालबाट भारत पु¥याउने अदुवाको कानुनी हैसियत समेत नबनेकाले समस्या पर्ने गरेको छ ।
नेपालका २६ जिल्लामा अदुवा खेती हुँदै आएको छ । इलाम सबैभन्दा बढी अदुवा उत्पादन गर्ने जिल्ला हो । अदुवाको बिक्री नहुँदा किसानबाट किनेको अदुवा निकासी नभएको दश बाह्र दिनहुँदा गोदाममा अदुवा कुहिन थालेको र अझै केही दिन यस्तै अवस्था हुने हो भने सबै अदुवा कुहिने अवस्था छ । कृषकलाई मात्र हैन व्यापारीलाई पनि ठूलै घाटा हुने बरबोटेका व्यापारी कृष्ण पौड्याल वताउँछन् । अदुवा बिक्री नहुँदा व्यापारी समेत मारमा परेको इलामको चुरेघाँटीकी व्यापारी पद्मा श्रेष्ठले बताइन । उनले अदुवा धेरै दिन राख्न नसक्ने भएकाले समस्या भएको बताइन । सुर्योदय न.पा–६ कि हेममाया प्रधानले अदुवा बिक्री नै हुन छोडेको भन्दै चिन्ता व्यक्त गरिन् ।
यता कृषकहरु पनि अब अदुवा बिक्री नहुने भयो भन्ने चिन्तामा रहेका छन् । धेरै जसो किसानले अदुवाको माउ बिक्री गरिसकेका भए पनि अब उत्पादन हुने अदुवा अहिलेको तुलानामा धेरै उत्पादन हुने र त्यसले वजारमा भाउ नपाए अदुवा के गर्ने भन्ने चिन्तामा रहेका छन् । इलाम पाँचथरबाट अधिकांश अदुवा झापाको धुलाबारी हुँदै भारत निकासी हुने गरेको छ । अदुवा बिक्री नहुँदा इलामका १२ हजार ९ सय ३२ परिवार किसान प्रभावित भएको जिल्ला कृषि विकास कार्यालय इलामका सुचना अधिकारी प्रकाशमणी काफ्लेको भनाइ रहेको छ । इलामका सबै गाउँ विकास समितिमा खेती गरिए पनि मुख्य उत्पादन भने जिर्मले, समालबुङ, शान्तिपुर, लक्ष्मीपुर, गोदक, चिसापानी, नामसालिङ, गोर्खे, बरबोटे, पशुपतिनगर, नयाँबजार, कोलबुङ गाविस र तीन नगरपालिकाका ३ हजार २ सय ३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुने गरेको छ । त्यस्तै पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ । उक्त जिल्लाका सबै गाविसमा गरिने खेतीवाट यस वर्ष २१ हजार १ सय ७७ टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ । जिल्लाका आङसराङ, पौवासारताप, रानीटार, नागिन, फिदिम न.पा., रानीगाउँ गाविसमा बढिमात्रमा अदुवाको उत्पादन हुने गरेको छ ।
0 comments:
Post a Comment