इलाम, २८ भदौ । नेपालकै पहिलो महिला निर्देशकको पहिचान बनाएकी सुचित्रा श्रेष्ठले हिन्दी फिल्म निर्देशन गर्ने भएकी छिन् । चलचित्र निर्देशक समाजकी अध्यक्ष समेत रहेकी श्रेष्ठले नेपाल र भारत दुवै देशमा खिचिने तथा नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने फिल्म ‘चक्र’मा निर्देशन गर्ने भएकी हुन् । दुवै मुलुकका दर्शकलाई लक्षित गरी दुई भाषामा निर्माण हुने भएकाले भारतीय निर्देशक राजेश राजले सुचित्रासँग निर्देशनमा साझेदारी गरेका हुन् । नेपाली र हिन्दी दुई भाषीय समुदायमा खिचिने भएकाले दुवैतर्फको रहनसहन बुझ्न अनि संस्कृतिमा भिज्दै फिल्म निर्माणको लागि सहजता कायम गर्न दुई निर्देशक राखिएको निर्माण पक्षले बताएको छ । फिल्मको निर्माणमा समेत साझेदारी गरेकी निर्देशक सुचित्राले फिल्म बनाउने मुख्य निर्माता अनवर राज र कथा लेखक शशि कुमारसँग केही वर्ष अघिदेखि नै कुरा भए पनि बल्ल आएर काम शुरु हुन लागेको बताइन् । नेपाली फिल्म बजारमा बढ्दो हिन्दी फिल्मको प्रभाव नियाल्दै हिन्दी भाषाको फिल्म निर्देशनमा लागेको र उक्त फिल्मका लागि प्राविधिक र प्रविधि भने नेपालकै प्रयोग गर्ने सुचित्राको दाबी छ । उनका अनुसार फिल्मको ७५ प्रतिशत भारतको बिहारमा र २५ प्रतिशत नेपालमा छायाङ्कन हुनेछ । फिल्ममा नेपाल र भारत दुवै देशका कलाकार मुख्य भूमिकामा रहनेछन् भने मुख्य नायक नेपाली रहे हिरोइन भारतीय र मुख्य हिरोइन भारतीय रहेमा नेपालका हिरोलाई मौका दिइने सुचित्राको भनाइ छ । कलाकार छनोट छिट्टै गरिने पनि उनले जानकारी दिइन् । १२ करोड भारतीय रुपैयाँ बजेट बताइएको सो फिल्म आगामी लक्ष्मीपूजाको दिनबाट फ्लोरमा जानेछ ।

वि.सं.२०४८ सालमै नेपाल टेलिभिजनको लागि स्मृति, अकल्पित जस्ता चर्चित टेलिचलचित्र बनाएर सफल निर्देशकमा आफुलाई दज्र्याएकी सुचित्राले आफ्नै लेखन तथा निर्देशनमा भाइटीका टेलिफिल्म बनाएपछि आफुलाई अब्बल लेखक पनि सावित गरिन् । उनले वि.सं.२०५५ सालमा काठमाडौंका तिर्थ श्रेष्ठसँग लगनगाँठो कसिन् । शिक्षासेवी तिर्थको रुचि फरक क्षेत्रमा भएपनि आफ्नो पतिबाट उनले चलचित्र क्षेत्रमा राम्रो सपोर्ट पाइरहेको बताइन् ।
उनका छोरा शाश्वत श्रेष्ठले पनि हालसम्म ३ वटा चलचित्रमा बालकलाकारको रुपमा आफ्नो अब्बल प्रस्तुति दिइसकेका छन् । सुचित्राले वि.सं.२०५८ सालमा निर्देशन गरेको ‘प्रेमयुद्ध’ नै पहिलो नेपाली महिलाले निर्देशन गरेको चलचित्र हो ।
cafeguff.com is also another nice blog visit facebook.com/caafeguff for the latest and funniest trolls focused on trending topics
ReplyDelete