रेडपान्डा संरक्षणका लागि ‘रेडपान्डा शिक्षा’

इलाम, २९ भदौ ः लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन भएको छ । रेड पान्डा संरक्षण शुरु भएका इलामका आठ, पाँचथरका छ र ताप्लेजुङका १२ विद्यालयमा रेड पान्डा संरक्षणका लागि ‘रुट एन्ड सुट्स’ अभियान सञ्चालन भएको हो । विश्वमै लोपोन्मुख रेड पान्डा संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले रेड पान्डा संरक्षणका गतिविधि सञ्चालन भइरहेका तीन जिल्लाका लेकाली क्षेत्रका विद्यालयमा यो अभियान सञ्चालन गरिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका युवराज पिसीले बताए ।
यो अभियान सञ्चालन भएका तीन जिल्लाका विद्यालयमा वातावरण शिक्षकलाई नेताको रूपमा राखेर रेडपान्डा संरक्षणका लागि विद्यार्थीको समूह बनाइने गरेको छ । अभियान अन्तर्गत विद्यार्थीलाई विद्यालयमै ‘रेड पान्डा शिक्षा’ दिइने गरेको छ । रेड पान्डा शिक्षाबाट रेड पान्डाका बारेमा जानकारी पाएका विद्यार्थीले आफ्नो क्षेत्रमा रेड पान्डाको आहार–विहार, तस्करी आदिका बारेमा सूचना दिने पिसीले बताए । विद्यार्थीले सङ्कलन गरेको सूचना सही र भरपर्दोसमेत हुने देखिएकाले रेड पान्डाको बासस्थान आसपासका विद्यालयमा ‘रुट्स एन्ड सुट्स’ अभियान सञ्चालन गरिएको हो ।
रुट एन्ड सुट्स अभियानमा विद्यार्थीलाई रेडपान्डा संरक्षणकर्ता संस्थाले विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छन् । अभियान अन्तर्गत विद्यार्थीले रेडपान्डा सम्बन्धी जानकारीमूलक भित्तेपत्रिका प्रकाशन, हाजिरीजवाफ, वादविवाद प्रतियोगिता, सरसफाइ र मासिँदै गएको रेडपान्डाको आहारा निगालो, भालुचिन्डे लगायतका बिरुवा रोप्ने कामसमेत गरेको संस्थाका फिञ्जु शेर्पाले बताए ।
रेडपान्डाको बासस्थान रहेको मेचीका तीन पहाडी जिल्लामा विद्यालयमै रेडपान्डाको विषयमा पढाउनका लागि पाठ्यक्रम निर्माण अन्तिम तयारीमा रहेको बताइएको छ । रेडपान्डा पाइएका र संरक्षणका गतिविधि भइरहेका इलाम, पाँचथर र ताप्लेजुङका विद्यालयमा रेडपान्डाका विषयमा पढाउनका लागि पाठ्यक्रम बनाई जिल्ला शिक्षा कार्यालयमार्फत शिक्षा विभागमा पठाई सकिएको संस्थाले जनाएको छ । रासस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment