इलाम, २९ भदौः पुवामझुवासीले अखण्ड पुवामझुवाको माग गरेका छन् । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति इलामले स्थानीय तहको अन्तिम रुप तयार गर्नुपूर्व नै पुवामझुवाबासी अखण्ड पुवामझुवाको माग गर्दै सदरमुकाममा राजनैतिक दलका प्रमुख तथा पदाधिकारी र समितिका संयोजक भएको स्थान स्थानमा गएर पुवामझुवालाई टुक्राउन नहुने बताएका हुन् । केन्द्रबाट आएको निर्देशन बमोजिम प्राविधिक सहयोग समितिले ३ नगरपालिका र ५ गाउँपालिका सहित ८ स्थानीय संरचनाको नाम र वडा सहित तयार गरिसकेको छ भने इलामका स्थानीय राजनैतिक दलको सहमतिमा १० वटा स्थानीय संरचना हुने गरी सहमति भएको छ । ८ वडा स्थानीय निकाय हुनेगरि समितिले बनाएको संरचनामा पुवामझुवा देउमाई नगरपालिकामा पर्छ । यता दलहरुले बनाएको संरचनामा पुवामझुवा वडा नं. ५ मात्र सन्दकपुर गाउँपालिकामा पर्छ भने बाँकी वडा इलाम नगरपालिकामा पर्छ । पुवामझुवाका नेपाली काङ्ग्रेसका सभापति डुनबहादुर खत्री, एमालेका अध्यक्ष डिल्ली राई र माओवादी केन्द्रका सचिव पदम सापकोटाले ५ नम्बर वडालाई मात्र छुट्टै गाउँपालिकामा मिसाए आफुहरु आन्दोलित हुने चियाबारी दैनिकलाई बताए । उनीहरुले आफ्ना जिल्ला नेताहरुसँग समेत गुनासो गरिसकेका छन् । तर जिल्ला नेताहरुले आफुहरुलाई आशलाग्दो कुरा नगरेको उनीहरुको गुनासो छ । सयको सङ्ख्यामा इलाम आएका पुवामझुवाबासीले वडा नम्बर ५ लाई मात्र टुक्राए आफुहरु आन्दोलित हुने बताए । पुवामझुवाका बुद्ध राईले भने, ‘छोटे राजाहरु उत्पादन गर्दा जनताले दुःख पाउने गरेको र यो पनि त्यसकै उदाहण भएको बताए ।’ पुवामझुवा गाविसका सचिव अनिल श्रेष्ठले सबै पुवाझुवाबासीले साझा रुपमा ५ नम्बर वटालाई टुक्राउन नहुने माग गरेर आफुसमक्ष पनि आएको बताए ।
केन्द्र र वडाका विषयमा माइपोखरी गाविस, प्रस्तावित फाकफोकथुम गाउँपालिका, पुवामझुवा गाविस लगायतका जनताहरुले निर्णय सच्याउनुपर्ने माग राख्दै आएका छन् । यता स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक मदन कोइरालाले स्थानीय तह पुर्नसंरचनाको खाकाले अन्तिम रुप पाईसकेकोले अब निर्णय गरिएको भन्दा केहि पनि परिवर्तन गर्न नसकिने बताए ।
0 comments:
Post a Comment