अमलेखगञ्जमा ८ करोड ३६ लाख लिटर क्षमताका तेल ट्यांक थपिने

आयल निगमले सरकारसँग माग्यो ३३.६ हेक्टर जग्गा

२९ भदौ, काठमाडौं । बाराको अमलेखगञ्जमा मात्रै ८ करोड ३६ लाख लिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि नयाँ पूर्वाधार निर्माण गरिने भएको छ । नेपाल आयल निगमले रक्सौल अमलेखगञ्ज पाइपलाइनको निर्माण सुरु भएलगत्तै दुई चरणमा अमलेखगञ्जमा ठूलो भण्डारण केन्द्र स्थापना गर्ने तयारी गरेको हो ।
अहिले काठमाडौंका लागि वीरगञ्जबाट आयात गरिने पेट्रोलियम पदार्थको भण्डारणका लागि यो मुख्य डिपो हो । र, त्यहाँको स्टोरज क्षमता २ करोड ३६ लाख लिटर छ । यसको क्षमतालाई वृहत रुपमा विस्तार गरेर यसलाई मुख्य भण्डारण केन्द्रका रुपमा विकास गर्न लागिएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।
उनका अनुसार पहिलो चरणमा अमलेखगञ्जमा ८२ लाख लिटरको पेट्रोल भण्डारण ट्यांक स्थापना गरिनेछ ।
सुरुवातमा ४१ लाख लिटर क्षमतामा दुई वटा पेट्रोल ट्यांक निर्माण गरिनेछ । ‘पाइपलाइन निर्माण भएपछि पेट्रोल भण्डारणका लागि तत्कालै यो दुई वटा ट्यांक निर्माण गर्नैपर्छ’ खनालले भने, ‘पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा हामी अमलेखगञ्जमै थप भण्डारण ट्यांकहरु थप्नेछौं ।’
भण्डारण केन्द्रसहित ल्याब र लोड(अनलोड फेसिलिटीका लागि डिपोको दक्षिणतर्फ रहेको ३३.६ हेक्टरको वन क्षेत्रको जग्गा उपलब्ध गराउन नेपाल आयल निगमले सरकारसँग माग गरेको छ, जुन पर्सा वन्यजन्तु आरक्षको स्वामित्वमा छ ।
यो जमिन प्राप्त हुनासाथ डिपोको क्षमता विस्तार गर्ने काम अघि बढ्ने आयल निगमले जनाएको छ । निगमले दोस्रो चरणमा अमलेखगञ्जमै ४ करोड १० लाख लिटर क्षमताका ३ वटा डिपोको निर्माण गर्नेछ । त्यसपछि अमलेखगञ्जमा २ करोड ५० लाख लिटरको नयाँ पेट्रोल भण्डार स्थापना हुनेछ ।
निगमले अमलेखगञ्जमा पेट्रोलको मात्रै होइन,अन्य इन्धनको पनि डिपो क्षमतमा विस्तार गर्ने बताएको छ । दोस्रो चरणमा अमलेखगञ्जमै डिजेलको १ करोड १६ लाख लिटर क्षमताका ४ वटा ट्यांक निर्माण गरिनेछ । यसमा झण्डै ४ करोड ५४ लाख किलोलिटर डिजेल भण्डारण गर्न सकिनेछ ।
यस्तै हवाइन्धनका ४ करोड १० लाख लिटर क्षमताका ३ वटा ट्यांक पनि बन्नेछन् भने मट्टतिेलका लागि २ करोड ३० लाख लिटर क्षमताका २ वटा ट्यांक बन्ने प्रवक्ता खनालले बताए ।
‘अहिले निगमसँग ३ दिनका लागिमात्रै माग धान्नसक्ने क्षमता छ । अब यसलाई कम्तिमा ९० दिनको बनाउन अत्यावश्यक छ’ खनालले भने,’हामीले त्यसैअनुसार थानकोट डिपोदेखि क्षेत्रीय डिपोको क्षमता वृद्धिका लागि योजना बनाएका छौं । अमलेखगञ्ज डिपोलाई भने पाइपलाइन बनेपछिको अवस्थालाई ध्यानमा राखेर विस्तार गर्न जरुरी छ ।’
निगमले थानकोट डिपोको ४२ सय किलोलिटर क्षमतमा विस्तारका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment