महिलालाई अर्थपूर्ण सहभागी गराउन अनुरोध

याम माबोहाङ लिम्बू

इलाम, २७ भदौंः इलाममा गठन भएको महिला शसक्तिकरण समूहले महिला नेतृत्वको अर्थपूर्ण सहभागीता सुनिश्चित गराउन सोमबार जिल्ला विकास समितिको कार्यालय र राजनीतिक दललाई अनुरोध पत्र बुझाएको छ । मानव अधिकार मञ्च नेपाल इलाम अन्तर्गत सञ्चालन भइरहेको स्थानीय सुशासनमा महिला सहभागिता सबलिकरण परियोजनाले गाउँ विकास समिति स्तरमा गठन गरेको महिला समूहका पदाधिकारी र परियोजना स्रोत केन्द्रको सदस्य रहेका जिल्ला तहका राजनीतिक दलका महिला नेतृत्वका समुहले अनुरोध पत्र बुझाएको परियोजना संयोजक शिखरनाथ सापकोटाले जानकारी गराए ।  जारी संविधानले प्रदान गरेको महिला अधिकारको कार्यान्वयन हुनुपर्ने । समावेशी सहभागीता र निर्णायक तहमा महिलाको अनिवार्य सुनिश्चितता हुनुपर्ने, जिल्ला तथा मातहतका नेतृत्व चयनमा समेत महिला, दलित, जनजाति, पिछाडि पारिएका समुदाय, अल्पसंख्यकलाई समेत समेट्नु पर्ने माग पत्र नेपाली कांग्रेस, नेकपा एमाले र जिल्ला विकास समितिको कार्यालयमा पुगी अनुरोध पत्र पेश गरिएको परियोजनाका मनकुमार बराइलीले जनाए ।
 माग पत्र ग्रहण गर्दै महिलालाई नेतृत्वमा ल्याउन अवसर दिन प्रतिवद्ध रहेको बताए । अनुरोध पत्र ग्रहण गर्दै नेकपा एमाले इलामका सचिव महेश बस्नेतले महिलाको विषयमा पार्टी स्पष्ट भएकोले सहभागीतामा प्रतिवद्ध भएको बताए । उनले पार्टीमा महिलालाई नेतृत्वमा दिन सदस्यता र सहभागीतामा पनि महिला आफै अगाडि बड्नु पर्नेमा जोड दिए । जिल्ला विकास समिति इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले अनुरोध पत्रलिदै महिलाको बारेमा संविधानले नै ग्यारेन्टी गरिसकेकोले राज्यको संयन्त्रले यसको कार्यान्वयन गर्नु दायित्व भएको बताए । उनले भने ‘समूहको अनुरोधलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेका छौं ।’
महिलालाई स्थानीय तहमा सुशासन, निर्णायक तहमा अनिवार्य अर्थपूर्ण सहभागी गराउनुपर्ने । निर्वाचन तथा राजनीतिक दलका विभिन्न क्षेत्रमा सहभागिताको अधिकारका लागि महिलाको आवाज अभिबृद्धि गर्नु पर्ने, स्थानीय नागरिक खासगरी पछाडि पारिएका सीमान्तकृत महिलाको आयआर्जनका अवसरमा पहुँच स्थापित गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मैत्री कानुन नियम नियमावली नीति बन्नुपर्ने बुझाइएको अनुरोध पत्रमा उल्लेख छ ।
पार्टीको सबै तहमा महिला सदस्यको विस्तार तथा कमिटीको पदाधिकारीमा समावेशीता गर्नुपर्ने । सबै निकायका निर्माण तथा योजना कार्यान्वयनमा महिलालाई सहभागी गराई राज्यको स्रोत र साधनमा अभ्यास गर्ने अवसर दिएर नेतृत्व प्रदान गर्दै आयआर्जनमा पहुँच स्थापना गर्न अवसर दिनुपर्ने अनुरोध गरिएको छ ।
 परियोजना महिला स्रोत केन्द्रका सदस्य नेकपा एमालेकी शोभा पराजुली, नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कलिका कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चकी रिप्पल राई अखिल नेपाल महिला संघकी तीर्थ ढकालसँगै गाउँ विकास समितिका समूह शान्तिपुर गाविसकी मनमाया राई, सीता न्यौपाने दानाबारी गाविसबाट विष्णुमाया आचार्य, महमाईबाट सरस्वती तुम्बाहाम्फे धनकुमारी राई, चिसापानीकी रुपा राई, सुमित्रा तामाङ र चुलाचुलीकी अनिता त्रिखत्री संगीता थुलङले अनुरोध पत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment