आदिवासी भवनका लागि जग्गादान
आमचोक, २० भदौ (चियाबारी संवाददातां)ः आमचोक गाविस निवासी एक समाजसेवीले आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद्लाई भवन निर्माणका लागि दुई लाख मूल्य बराबरको जग्गादान गरेका छन् । आमचोक–५ निवासी बजिरमान थेगिमले चार आना जग्गा दान दिएका हुन् । उक्त जग्गामा परिषद्ले आर्थिक सहयोग जुटाएर यसै वर्ष भवन निर्माण गर्ने परिषद आमचोकका अध्यक्ष कुलबहादुर लिम्बूले बताए ।
गोलभेँडाबाट दश लाखसम्म आम्दानी
पाँचथर, २० भदौ (चियाबारी संवाददाता)ः पाँचथरको उत्तरी भेगका किसानले गोलभेँडा खेतीबाट दश लाख रुपैंयाँसम्म आम्दानी गर्न थालेका छन् । जिल्लाको अमरपुर, पञ्चमी, नाँगी, थर्पु, भारपालगायत गाविसका कृषकले व्यावसायिक गोलभेँडा खेती गरेर वार्षिक प्रतिपरिवार डेढ लाखदेखि दश लाखसम्म आम्दानी गर्न सफल भएका हुन् । जिल्लामा १२ हजार भन्दा बढी कृषकले गोलभेँडालाई नै मुख्य व्यवसायिक खेतीको रुपमा अपनाएको पाँचथर जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अमरपुर गाविसमा मात्र ८ सय घर परिवारले सो खेती गर्दै आएका छन् ।
गोलभेँडा खेतीबाट यहाँका कृषकको आर्थिक जीवनस्तर माथि उकास्सिएको अमपुरका समरबहादुर अधिकारीले जानकारी दिए । गत वर्ष जिल्लाबाट ४७ करोड रुपैंयाँ बराबरको गोलभेँडा निकासी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बेनुप्रसाद प्रसाईंले बताए । विभिन्न कृषि समूह तथा सहकारीमा आबद्ध भई सामूहिक रुपमा गोलभेँडा खेतीमा लागेर यहाँका किसानले राम्रो कमाइ गरेका हुन् ।कार्यालयले समेत वैदेशिक रोजगारबाट फर्किएका युवालाई अनुदान दिएर गोलभेँडा खेतीतर्फ आकर्षित गराएको छ । सहकारीहरुले उचित मूल्य दिई सङ्कलन गरेको गोलभेँडा ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, चितवन, काठमाडौँ र भारतको सिलगुडीसम्म निर्यात हुने गरेको नाँगीका कृषक चन्द्रमणि बास्कोटाले बताए ।
उनले भने– उत्पादनस्थलबाटै गत वर्ष २० रुपैयाँमा बिक्री भएको यहाँको गोलभेँडा यस वर्ष प्रतिकिलो ४० रुपैंयाँमा किनबेच भइरहेको छ । जिल्लामा ३ सय ९२ हेक्टर जमिनमा गोलभेँडा खेती भएको र कार्यालयले कृषकलाई बीउबिजन, प्रविधि र प्लास्टिक टनेल उपलब्ध गराएको छ ।
इलाम व्यापारी संघ फाइनलमा
इलाम, १९ भाद्र (चियाबारी संवाददाता)ः दानाबारी, २० भाद्र । दानाबारीमा जारी पाल्टार नकाउट फुटबल प्रतियोगिताको सोमबारको खेलमा विजयी बन्दै इलाम व्यपारी संघ फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत सोमबार भएको पहिलो सेमिफाइनलमा इलाम व्यापारी संघले आयोजक दिपज्योती ए को चुनौती २–० ले पन्छाएको हो । विजयी टिमका तर्फबाट खेलको दोस्रो हाफमा अतिरिक्त खेलाडी अर्जुन थापा र किशोर मगरले गोल गरेका थिए । इलाम व्यापारी संघले भोली हुने केएपmसी झापा र पेल्टीमारी झापाबिचको विजेतासँग उपाधीको लागी प्रतिस्पर्धा गर्नेछ । २३ गते समापन गरिने प्रतियोगिताको विजेता टिमले नगद २० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्ने छ ।
0 comments:
Post a Comment