चियाबारी डेस्क
इलाम, ३ कार्तिकः भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र राङवाङ ग्राम पञ्चायतको विचमा रहेको दश गजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्ने तयारी गरेको समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय इलामले एक अनुगमन तथा निरिक्षण टोली गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोको संयोजकत्वमा गठित टोलीको सदस्यहरुमा अन्य सुरक्षा निकायमा प्रमुख तथा प्रतिनिधि रहेका छन् । टोलीलाई सो क्षेत्रमा गएर स्थलगत निरिक्षण तथा अनुगमनको लागि बुधबारनै जिप्रकाले खटाएको छ । टोली बुधबार साँझ फर्किएपछि मात्र स्थलगत अध्ययन प्रतिवेदन तयार गरि प्रमुख जिल्ला अधिकारी जनकराज दहाललाई बुझाउनेछ । प्रजिअ दहालले प्राप्त प्रतिवेदनको आधारमा मात्र कानुनी रुपमा दशगजा क्षेत्रमा गुम्वा निर्माण गर्न शुरु गरिएको हो भन्ने आधार प्राप्त गरेपछि मात्र गृह मन्त्रालयलाई आवश्यक प्रकृयाको पहलको लागि लिखित रुपमा पठाइने प्रजिअ दहालले बताए ।
भारतले गरेको बलमिच्याइँको नेपाली काङ्ग्रेस इलामले विरोध गरेको छ । नेपाली काङ्ग्रेस इलामका सचिव निरोज खड्गीले बिहीबार इलाम आइपुग्ने रक्षा मन्त्री बालकृष्ण खाड र उनीसँगै इलाम आउने ७ जना केन्द्रिय नेताहरुलाई घटनाको तत्काल जानकारी गराउने कार्यक्रम रहेको बताए । उनले भने, ‘राष्ट्रियताको सवालमा काङ्ग्रेस न हिजो नै चुक्यो, र यो घटना सत्य भएको प्रमाणित भएमा न आज नै चुक्नेछ ।’ एमाले इलामका जिल्ला सचिव महेश बस्नेतले भारत ठूलो राष्ट्र भएर सानालाई हेप्न नपाईने बताए । अन्तराष्ट्रिय कानुनको वेवास्ता गरेर भारतलाई नो म्यान्स ल्याण्डमा कुनै पनि संरचना बनाउने अधिकार नभएको उनले बताए । उनले भने, ‘यदि समाचार सत्य हो भने हाइकमाण्डलाई जानकारी गराउदै एमाले इलामले सो संरचना भत्काउनेसम्मको अभियान चलाउछ ।’ माओवादी केन्द्रका जिल्ला इञ्चार्ज रमणले प्रमुख जिल्ला अधिकारीलाई ध्यनाकर्षण गराउने र प्रशासनको कार्यलाई सहयोग गर्ने प्रतिक्रिया दिए ।
भारतीय पक्षले पुरानो काठको टासी छङ्लीङ गुम्बालाई भत्काएर सामुदायिक हल सहितको पक्की गुम्वा बनाउने तयारी गरिरहेको छ । गुम्बा बनाउन गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा एडमिनिस्टीभ टेरीटोरीयल जिटिए प्रमुख विमल गुरूङले रकम दिने आश्वासन दिएपनि गुम्बा बनाउन लागेको स्थानीयले बताएका छन् । कहि स्थानीयले त्यहाँ एक करोडको संरचना बनाउन लागेको बताएका छन् । तीन महिना अघि गुम्बा बनाउने विषयमा छलफल हुदा नेपाली पक्षले विरोध गरेको थियो । अहिले भने गुम्बा आसपासका छहरा हटाउन शुरु गरिएको छ । अगुवा गुरुङले भने ‘यो धार्मिक र पर्यटकीय कुरा हो, हामी काम रोक्दैनौ ।’ गुम्बा बनेपछि दुवै देशलाई फाइदा पुग्ने भन्दै निर्माणका लागि काम थालेको स्थानीयको भनाई छ । तीन महिना अधि रोकिएको काम शुरु भएपछि नेपाल पट्टीका स्थानीयले दश गजामा भइरहेको कृयाकलाप रोक्न स्थानीय प्रशासनलाई आग्रह गरेको पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले बताए । उनले भने ‘संरचना हटाउने काम शुरु भएको छ, चाडै चासो लिन स्थानीय प्रशासनलाई भनेका छौ ।’ पशुपतिनगर स्थित सिमा प्रशासन कार्यालयका प्रमुख मोहनलाल पनेरुले तीन महिना अघि नेपालको दवावमा रोकिएको गुम्बा निर्माणको काम शुरु गर्न लागेको बताए । उनका अनुसार दशगजा क्षेत्रमा कुनैपनि देशले गतिविधि गर्न पाउँदैन तर भारतीय पक्षले वलमिच्याई शुरु गरेको उनले बताए । उनले जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र लेखेर ‘तीन महिना अघि दुवै देशका प्रतिनिधिको बैठकले दुवै देशको नापी टोलीले ले सिमा यकीन नगरे सम्मा कुनै संरचना नबनाउने सहमति गरेको’ उल्लेख गरेका छन् । उनले दशगजामा नपर्ने गरी गुम्बा बनाए नेपाललाई कुनै आपत्ति नहुने बताए । अहिले बन्न लागेको गुम्बा भने नेपाल भारत सिमा स्तम्भलाई छोएर बन्न लागेको छ । पनेरुले भने सो स्थानमा सिमा प्रशासन र ससस्त्र प्रहरीले विशेष निगरानीको साथ नियालिरहेको छ । ससस्त्र प्रहरीको टोलीले आज पनि निगरानी गरेर फर्केको उनले बताए ।
पशुपतिनगर मै घर भएकी राप्रपा नेपालकी सभाषद लिलादेवी श्रेष्ठले दश गजा क्षेत्रमा संरचना बनाउने प्रयास तत्काल रोक्नुपर्ने बताइन् । उनले ससदमा समेत यस विषयमा कुरा उठाउने भन्दै प्रशासनलाई चासो लिन सजग गराउने जानकारी दिइन् । उनले भनिन् ‘निर्माण हुनु नराम्रो हैन तर भारतले आफ्नो भुमिमा बनाउनु पर्छ दश गजामा हैन ।’ उनले जिटिए प्रमुखले भारतीय रुपयाँ ४० लाख दिएको थाहा पाएको बताइन् । उनले भनिन् हाम्रो कुरा कसैले सुन्दैन स्थानीय प्रशासनले पनि बोल्नु परो । फाटकमा नेपाली भुमीमा ४ बर्ष देखि भारतीय प्रहरीको पोस्ट राखिएको छ भने दशगजामै कस्टम कार्यालय बनाएको बर्षौ भयो । पोहोर मात्र भारतीय प्रहरीको किचन बनाएको सांसद श्रेष्ठले बताइन् । उनले भनिन् ‘त्यति वेला हामीले विरोध गर्दा सरकारले साथ दिएन, अहिले पनि सरकार बोलेन भने हाम्रो केहि लाग्दैन ।’

0 comments:
Post a Comment