गाउँका पीडा र क्रन्दनहरु

चियाबारी डबली

एक्काइसौं शताब्दीको अत्याधुनिक कम्प्युटर युगमा प्रवेश गरे पनि हामी नेपाली र हाम्रो नेपालको अवस्था भने खासै परिवर्तन हुन सकेको छैन । संसारका अरु मुलुक विकासको चरमचुलीमा भौतिक सम्पन्नता र समृद्धिका आकाश छुन लाग्दा हामी भने अझै पनि उही प्राचिन युगमा झैं बाँच्न विवश छौं । विशेषतः पहाडी गाउँ, भित्री दूरदराज र उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाको जीवन अत्यन्त कष्टकर छ । शहर बजार, राजधानी र संभ्रान्त, उच्चकुलीन वर्गको जीवन हाम्रै देशमा पनि कुनै युरोपियन वा अमेरिकनको भन्दा कम छैन । यसरी एउटै देशभित्र हुने र नहुने, धनी र गरीब, गाउँ र शहरका बीचको जीवन शैली र जीवनस्तरमा आकाश जमिनको अन्तर पाइन्छ । अनि यो अन्तर निरन्तर बढ्दो पनि छ ।
शहरमा सुनको भाउमाथि निकै चर्चा भए पनि गाउँमा नूनको भाउ निकै चर्को भएकोमा मानिस दुःखित भेटिन्छन् । शहर रक्सी र कल गर्लको रमाइलोमा नाचिरहे पनि भित्री गाउँमा अभाव, अनिकाल र अकाल मृत्युको भयले मानिस बाँचिरहेका छन् । शहर डिस्को, क्याब्रेजस्ता उत्ताउला पश्चिमी संस्कृतिमा मस्त रहेकै बेला पश्चिम पहाडका स्कुले केटाकेटी यार्चागुम्बा सङ्कलनमा व्यस्त छन् । यता काठमाडौंका पार्टीहलमा भोज भतेरमा शहरियाहरु रमाइरहँदा कर्णालीका युवा भारतीय बजारमा ढोके पालेका रुपमा प्राण खर्च कमाइरहेछन् । मुगुमा पेट भर्न चामलको अनिकाल छ, तर शहरमा बास्मती चामल फालाफाल छ । जाजरकोट रगत मासी र झाडा पखालाले सोत्तर भइरहेछ । बझाङका ग्रामीण स्वास्थ्य केन्द्रमा सिटामोल पाइँदैन् । रुकुम भोकभोकै छ महिनौंदेखि । उता मकवानपुरका चेपाङहरुका बास ओढारमा समेत पहिरो जाँदा जङ्गलमा बास छ । थुप्रै राउटे अघिल्लो महिना भोकले मरे । यसपाली च्याउ खाएर धादिङका गरीबले स्वर्गको बाटो तताए । माथि माथि पहाडतिर अन्नको अभावमा गिठ्ठा, भ्याकुरले जीवन धानिरहेका छन् थुप्रै नेपाली ।
यस्तै छ हाम्रो हाल, बेहाल छ बेहाल । शहरमा मालामाल छ । रक्सी र रुपैंयाँ फालाफाल छ । यता गाउँ टुलुटुलू शहरी रमिता हेरिरहेछ । रेडियो टेलिभिजनमा देखिरहेछ । शहरिया कुकुर बास्मती दूध भात डकार्दै महलभित्र सोफामा निदाइरहेछ । उता गाउँमा सुत्केरीले चामलको भात नपाउँदा बालकलाई दूध पुग्दैन, सुकेनास लाग्छ सानैमा । तिनको सुकेको छाती र चिरिएको मन आफैंलाई धिक्कारी रहेछ । प्राथमिक शिक्षा निशुल्क गरेको सरकारका विद्यालय खाली खाली छन् । विद्यार्थी भारी बोक्न सदरमुकाम गए । शिक्षक आ–आफ्नो घर । भूकम्पले घरबार गुमाएका गरिब जङ्गलमा पाल हालेर कन्दमुलमा बाँचेका छन् । घरमात्र खाएन भुकम्पले । बाबु, आमा, छोराछोरी, श्रीमान, श्रीमती सबै खायो । आमा–बाबु गुमाएको १२ वर्षे बालक अभिभावक भएर बनीबुतोबाट भाइ बहिनीलाई आधापेट ख्वाएर पालिरहेछ । 
गाउँ सुनसान छ । खेतबारी बाँझैछन् । बुढा बुबा–आमा एकसाथ कुर्दै घर रुँङ्दै चाउरिएर लम्पसार छन् । सबै युवा भारततर्फ कुल्ली, ज्यामी, बहादुर बन्न हिँडेपछि गाउँ सुनसान छ । पानी खुवाउने कोही छैन । सिन्धुपाल्चोकका कतिपय गाउँ पहिरोले आफ्नो बनाएपछि लाज ढाक्ने वस्त्र छैन गाउँलेका । मीठो खान परै जाओस, चिउरा र चाउचाउसम्म पाउँदैनन् ती । प्यूठानतिर अज्ञात रोगको महामारी हुँदा घरै रित्तिएका छन् कतिवटा । अघाउँजी खान नपाउँदा ग्याष्ट्रिक बिग्रिएर अल्सर मात्र होइन क्यान्सरले ग्रस्त छन् गाउँका गाउँ । हुम्लेलीहरु बिचरा पैसाको अनुहार देख्दै रहेनछन् । पैसै चिन्दा रहेनछन् । गरिबका छोराको जीवन अर्कैको ढाक्रे भरियामा बित्छ । छोराछोरीलाई अघाउँजी खुवाउन नसक्दा रोल्पाका मगरहरु डाँको छाडेर रोइरहेछन् । उता बाजुरामा ज्वरोले दर्जनौको ज्यान लियो । यता डोल्पामा चिनियाँ भोटे नून पनि पाइएन । २० केजी चामल लिन सदरमुकाम झरेका अछामेहरु १० दिनमा घर फर्कन्छन् । यसपल्टको खडेरीले मकै छर्न पाएनन् मुस्ताङेहरुले । असिनाले पोहोर धान लागेपछि फेरि धान देखेका छैनन् दैलेखका दलितहरुले ।
काठमाडौंमा ओली सरकार बनेको पनि थाहा थिएन र सरकार गएको पनि थाहा छैन डोल्पालीलाई । प्रचण्डको सरकारसँग के मतलब कालिकोटेलाई ! त्यो सरकारले केही दिने होइन । नयाँ वानेश्वरमा सांसदहरु कुर्लिरहेछन् आफ्नो भत्ता बढाउन, ७५ हजार थोरै भयो रे १ सरकार खर्बांैको बजेट बनाउँछ संसदमा, जुम्लेलीहरुलाई एक रुपैंया पुग्ने होइन् । बाढीले पूल बगाएपछि तुइनमा झुण्डिएर खोला वारिपारी गर्नुपर्छ । रामेछापका माझी भोकभोकै छन् रे,  अस्तिको असिनाले गहुँ बाली सखाप पारेछ । माथि सुनकोशीका दनुवारहरुले भारी बोक्ने काम नपाउँदा चामल किन्न सकेनन् । गाउँका बलिया बाङ्गा विदेशिए पछि मलामी पाइन छाडेछ तामाकोशी तिर । यसरी भोकै नाङ्गै दवाइ उपचारबिनै रोएर बाँचिरहेछन् निर्दोष, निमुखा, गरिब गाउँलेहरु । स्कूल जान छाडेर केटाजति जम्मै माछा मार्न जान्छन् रे भोटेकोशीमा । यसपल्ट दसैं नमनाउने परे तातोपानी बाह्रबिसेबासीहरुले । सबैका घरमा शोक परेको छ पहिराले । पोहोरको भूकम्पले रुवाएको मन आँशु रित्तिए पनि रुनु परेको छ । अझै के के हुनुपरेको छ । कसलाई के थाहा छ ? गोरखाको उत्तरी भोटेगाउँमा सरकारी चामल लान बाटो नहुँदा अघिल्लो महिनादेखि गाउँ भोकै छ । लामटाङे शेर्पाहरु बिरामी भए भने अस्पताल लाने बाटै छैन रे । गाउँमै मरिरहेछन् भाइरल ज्वरोले । गोरेटो बाटो पनि पहिरोले भत्काए पछि लेकबेंसी, घरखेतसम्म गर्न नपाउँदा टापुबासी भएका छन् । नून बोकेर ल्याउने, खाद्यको चामल ल्याउने गोरेटो नहुँदा सधैं ब्रत बसिरहेछन् कन्दमूलका भरमा कालीकोटे ठकुरीहरु । खै कति दुःखका कुरा बताऔं बताइसक्नु भए पो ! आजलाई यति ल !
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment