वास्तविक मूल्य पाउँदैनन् ‘किसानले’, तीन तह पार गरेर मात्र उपभोक्ताकोमा तरकारी

इलाम ५ पुसः इलाममा किसानले बारीभरी तरकारी फलाएर घरैबाट बेचेपनि वास्तविक मूल्य पाउँदैनन् । बजारमा तरकारीको मूल्य घटेको खबर पनि छैन । तर किसानले कहिल्यैं बास्तविक मुल्य नपाउँदा उनीहरु चिन्तित छन् । बारीमा तरकारी नफलाउनेले नाफा कमाइ खाने गरेका छन् । जो कृषि फसलको व्यापारमा बिचौलीको काम गर्छन् । कृषकबाट न्यूनतम मूल्यमा फसल लिन्छन् र स्थानीय बजारसँगै तराईको बजारमा खुद्रा बिक्री गर्छन् । खुद्रा बिक्रेताबाट मात्र उपभोक्ताले उपभोगका लागि सिधै खरिद गर्छन् ।
अहिले प्रायः किसानको बारीमा इस्कुस प्रशस्त पाइन्छ । तर यहाँका धेरै किसानले आफूले उत्पादन गरेको इस्कुस बेच्दैनन् । न्यून मूल्यमा इस्कुस बिक्री गर्नुभन्दा किसानले गाईबस्तुको खोले बनाउन प्रयोग गर्छन् । बजारमा ३० रुपैयाँ प्रतिकिलो भन्दामाथि पर्ने इस्कुसको दाम किसानले तीनदेखि पाँच रुपैयाँसम्म मात्र पाउँछन् । 
गाउँका किसानलाई फलाएको फसलको वास्तविक मूल्य समेत थाहा हुँदैन् । इस्कुस फलाएर बिक्री गर्नेले भन्दा बिचौलियाले बढी आम्दानी लिन्छन् । फसल उठाउँदाको रोज पनि बस्दैन् । बेच्नु भन्दा त गाईवस्तुलाई खोले दिनै फाइदा हुने गाउँका किसानले भन्ने गरेका छन् । बजारमा रायोको सागको भाऊ एक मुठाको २५ रुपैयाँदेखि ४० रुपैयाँसम्म पर्छ । बजारमा यति महङ्गो मूल्यमा किनबेच हुने रायोको सागलाई बारीमा भने १० रुपैयाँ भन्दा थोरै पर्छ । आफूले उत्पादन गरेको साग बजारमा आफैँ पु¥याउने किसानले जति मूल्य पाउँछन्, बजार पु¥याउन नसक्ने किसानले बारीबाटै बेच्दा आधाभन्दा कम मुुल्य पाउँछन् । 
जुनसुकै सिजनहोस रायोको भाउ प्रतिमुठा १५ रुपैयाँ भन्दा कम हुँदैन । रायो उत्पादन हुने मुख्य सिजन मंसिर–फागुन महिनामा किसानले प्रतिमुुठा पाँच–पन्ध्र रुपैयाँ हाराहारीले मात्र आफ्नो उत्पादनको मूल्य पाउँछन् । इस्कुस, साग मात्रै होइन, काँक्रा, आलु, कोपी, खुर्सानी, टमटर, मटरकोसा, मुला, फर्सी, फलाउने किसानको हातमा पनि थोरै मूल्य मात्र पर्छ । बजारमा ३०÷४० रुपैयाँ पर्ने काँक्रालाई किसानले भने १० रुपैयाँ हाराहारी भन्दा माथि मूल्यमा बेच्न सक्दैनन् ।
गाउँबाट दिनहुँ तरकारी बिहानै गाडीमा स्थानीय बजारसँगै तराईका बजारहरुमा पुग्छन् । किसानको बारीबाट तरकारी संकलन गरेर यहाँका ब्यवसायीले तराईका बजार पु¥याउँछन् । त्यहाँ तरकारीको होलसेल क्रेतालाई बिक्री गरेर फर्किन्छन् । झापाका बजारहरुमा बसेर इलामका गाउँबाट गएको गाडी नै तरकारी किन्ने ब्यवसायीहरुले त्यसलाई खुद्रा तरकारी पसलहरुमा पु¥याउँछन् । खुद्रे पसलहरुबाट मात्रै उपभोक्ताले तरकारी किन्न पाउँछन् । उत्पादकदेखि तीन तहको बिचौलिया पार गरेर पहाडी क्षेत्रमा उत्पादन भएको तरकारी उपभोक्ताको भान्सासम्म पुग्छ । बारीबाट तरकारी किन्ने ब्यवसायीले सवारी भाडा र निश्चित नाफा राखेर तराईका ठूला ब्यापारीलाई तरकारी दिन्छन् । उनीहरुले त्यसमा नाफा राख्छन् र आफ्नो खर्च जोडेर खुद्रे ब्यवसायीलाई तरकारी दिन्छन् । तरकारी बिक्रेताले पनि नाफा लिएर उपभोक्तालाई तरकारी बेच्छन् । उत्पादकले थोरै मूल्यमा बिक्री गरेको तरकारी उपभोक्ताको भान्सासम्म पुग्दा छोइनसक्नु महङ्गो भएको हुन्छ । त्यसबाट बिचौलियाले भने मनग्ये नाफा कमाउँछन् । 
जिल्लाबाट ४० हजार सात सय २४ मेट्रिक टन तरकारी निर्यात हुने जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क छ । जसमध्ये तरकारी बिक्रीबाट मात्र एक अर्ब ४२ करोड ५३ लाख भन्दा बढी रकम भित्रिने गरेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ४५ हजार दुई सय ४९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लामा भित्रिने यतिका रकम किसानको हातमा भने थोरै मात्र पर्दछ । बजारमा गएको नमूना अध्ययन् गरेर तरकारीको आम्दानी निकाल्नेको हातबाट कार्यालयले आम्दानीको कति रकम किसानले पाउँछन् भनेर अहिलेसम्म अध्ययन् गरेको छैन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment