कोइला र खरानीहरु लगाएर सडक कालो भएपछि राहत महसुस

जिर्मले, ५ पुसः  निमार्ण थालिएको चारदशक पुग्न लागेपनि हालसम्म कच्ची सडक नै निमार्ण सम्पन्न नभएको हर्कटे धजे सलकपूर सडकको हर्कटे रम्भ्याङ्ग खण्डमा कालो भएपछि यात्रु र चालकले राहत महसुस गर्न थालेका छन् । मेची राजमार्गबाट झापाको काकँडभिट्टा जोड्न सबैभन्दा छोटो मानिएको वि.सं.२०३५ सालबाट निर्माण थालिएको हर्कटे धजे सलकपूरको करिब चौध किलोमिटर लामो सो सडकको हर्कटे तारगाउँ हुँदै जिर्मले–६को धजे खण्डमा हाल नियमित मोटर गुडिरहेको अवस्था रहेकोमा उक्त सडकको तारगाउँ र रम्भ्याङ्गको विभिन्न विकट खण्डमा कालो बनाइएपछि उक्त सडकमा यात्रा गर्ने यात्रु र चालकलाई राहत मिलेको हो ।
हालसम्म नेपाल सरकारले बाटो बनाउने वचन दिएको तर काम भने पटक्कै नगरिएको उक्त सडकमा यात्रा गर्ने यात्रुहरुले सडक कालो देखेको भएपनि कसरी कालो भयो भन्ने थाहा नहोला ? उक्त सडमा वर्षादको समयमा हिलाम्मे हुने भएकोले हिलो र चिप्लो व्यवस्थापन गर्न नजिकै रहेको तारागाउँ चिया कारखानाबाट निस्किने कोइला र खरानीहरु जिर्ण सडकको आधा दर्जन भन्दा बढी स्थानमा छरेर बाटोको हिलो पुर्दा बाटो कालो भएको हो ।  सोही कोइलाको कालोमाथि यातायातको साधन गुडाउदा चालक र यात्रुहरुलाई समेत हिलोमा भन्दा सजिलो महसुस भएको उक्त सडकमा नियमित गाडी गुडाउदै आएका चालक निमा तामाङ्गले बताए । 
विगत वर्षहरुमा पूर्वाञ्चल सडक डिभिजनको एक नम्बर कार्यालय इलामले आ.व.२०७०÷०७१ सम्म लगानी गर्दै आएको उक्त सडक विगत दुई वर्षदेखि जिल्ला विकास समितिलाई जिम्मा लगाइएको बताइएको भएपनि जिल्ला विकास समिति इलामले बजेट नदिएको कारण विगत दुईवर्ष यता सरकारी स्तरबाट कुनैपनि मर्मत र निमार्णको काम भएको छैन् । तर जिर्मलेको नागरिकहरुको लागि अर्को विकल्प नभएपछि समुहगत रुपमा बजेट संकलन गरिने गरेको जिर्मले–४ का श्याम आचार्यले बताए ।   
हर्कटे धजे खण्डको नौ किलोमिटर सडकमा हाल मोटर गुडिरहेको र जिर्मलेको सलकपूरबाट झापाको काकँडभिट्टा सम्म पनि मोटर गुडिरहेको भएपनि जिर्मले–६को धजेबाट सलकपूर खण्डको चार किलोमिटर खण्डमा रहेको गाजले डाँडो खण्डमा करिब दुईसय मिटर जति पहिरोले दुईवर्ष अघिदेखि अवरुद्ध गरेको कारण जिर्मलेको जनजीवन कष्टकर भएको जिर्मले–६का युवा विनोद राईले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment