फिदिम ३ माघ ः गत सालसम्म राम्रो मूल्यमा विक्री हुने किवीले यो साल बजार नपाउँदा सराङडाडा ३ कि जुनु लावती चिन्तित छिन् । आफ्नो बारीमा हुर्किएका तीन सय बोटमा फलेको १६ क्यून्टल (१६०० केजी) किवी विक्री नलाग्दा लावती चिन्तित बनेकी हुन् ।
“चार बर्ष पहिले लगाएको किवीले गत वर्षदेखि फल दिन शुरु गरेको छ,” लावतीले भनिन् “यो वर्ष किवी विक्री गर्नै गह्रो भो ।” पोहोर साल उत्पादन भएको पाँच क्युन्टल किवी प्रतिकिलो चार सय रुपैँयाले सहजै विक्री गरेको लावती बताउछिन् । “यो साल १६ क्युन्टन किवी उत्पादन भो, तर विक्री गर्नै मुस्किल छ,” लावतीले भनिन् ।
बजार अभावले किवी विक्री नलाग्ने भएपछि लावतीले प्रतिकिलो एक सय रुपैँयामा नै किवी विक्री गर्दैछिन् । तर, पनि उत्पादन भएको सबै किवी विक्री लागेको छैन । “फिदिम, इलाम र झापाको बजारसम्म लगेर बेच्ने गरेको छु,” लावतीले भनिन् “विभिन्न बजारमा पु¥याउँदा पनि विक्री गर्नै मुस्किल छ ।” जतिसुकै सस्तोमा विक्री गर्न खोजेपनि अझै पाँच सय क्युन्टल किवी विक्री नभएको उनले सुनाईन् ।
उता सिदिन ३ का सुकबहादुर मेयोङ्बाले पनि दुई सय ५० किलो किवी उत्पादन गरे । तर विक्री गर्न निकै गाह्रो भएको उनले सुनाए । “फलफुलको राज भनेर अन्धाधुन्द खेती गरियो,” मेयोङबाले भने “ राम्रो उत्पादन हुन थालेपछि मूल्य पनि छैन, विक्री गर्नका लागि बजारको पनि अभाव छ, स्थानीय बजारमा सबै खपत हुँदैन ।”
लावती र मेयोङ्बा जस्तै जिल्लाका अधिकांस किसानले किवी खेती गरेका छन् । महंगो मूल्य तिरेर किवीको विरुवा खरिद गरि यहाँका कृषकहरुले खेती शुरु गरेका हुन् । “अहिलेसम्म त किवी रोप्ने मात्रा काम भयो,” मेयोङ्बाले भने “यसपालीदेखि राम्ररी उत्पादन शुरु भएको छ, विक्री गर्ने बजारको टुंगो नहुँदा किवी कुहिने सम्भावना छ ।”
उत्पादन बृद्धि भएसँगै किवीको बजार सुनिश्चित नहुँदा समस्या आएको हो । फलफुलको राज भनेर चिनिएको किवीको खेती छिमेकि जिल्ला इलामको सुलुबुङबाट सुरु गरिएको हो । सबै फलफुलको स्वाद एउटै किवीको फलमा पाईने र स्वास्थ्यका लागि किवी लाभदायीक हुने भनाई छ । स्वास्थवर्दक हुने र राम्रो मूल्य पाउने आशामा कृषकहरुले बजारको अध्ययन नगरी किवी खेती गरेका हुन् ।
प्रतिगोट तीन सय देखि पाँच सय रुपैँया सम्ममा किवीको विरुवा खरिद गरेर कृषकहरुले खेती शुरु गरेका हुन् । गाउँकै अग्रज कृषहरुको सक्रियतामा यसको खेती शुरु गरिएको हो । तर, ठूलो मात्रामा उत्पादन भएको फल विक्री गर्नमा समस्या आएको छ । बोटबाट फल टिपेपछि धेरै दिन नटिक्ने र भण्डारणको व्यवस्था पनि नगरिएकाले कृषकहरुले उत्पादन गरेको किवी कुहिएर खेर जाने भएको हो ।
“सिमित मात्रमा उत्पादन भएको किवी जिल्लामै खपत हुन्थ्यो,” कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले भने “धेरै उत्पादन भएपछि खपत हुने सम्भावना छैन् ।” कृषकहरुकै सक्रियतामा प्राविधिकहरु गाँउमै झिकाएर किसानले यसको खेती गरेका हुन् । जिल्लामा कति क्षेत्रफमा किवी खेती गरियो भन्ने एकिन विवरण छैन् । प्रत्येक गाविसका कृषकले यसको खेती गरेका छन् । अधिकांश किसान किविको खेती गरेकाले ठूलो परिमाणमा किवी उत्पादन भएको छ । एकै चोटी ठूलो परिमाणमा उत्पादन भएको किवीले बजार नपाँउदा किसान चिन्तामा छन् । सबै गाविसबाट किवी उत्पादन शुरु भएपनि त्यसको व्यवस्थापनका लागि कुनै निकाले पनि चासो दिएको छैन । प्राविधिकहरुका अनुसार १५ सय देखि २५ सय मिटरको उचाईमा किवी खेती गर्न उपयुत्त मानिन्छ । विगत सात बर्ष यता पाँचथरमा किवीको खेती गर्न शुरु गरिएको भएता पनि दुई वर्ष यता कृृषकहरुले उल्लेख्य मात्रामा यसको खेती शुरु गरेका छन् । ओसिलो र भिरालो जमिनमा किवी खेती गर्न उपयुक्त हुने भएकाले पनि कृषहरु यसको खेतीतर्फ आकर्षित भए । बजारको अध्ययन नगरि अन्धाधुन्द किवीको खेती शुरु गरिएकाले उल्लेख्य मात्रामा यसको उत्पादन हुन थालेपछि बजारको समस्या भएको हो । किवीको फललाई प्रशोधन गर्ने कुनै उद्योग अहिलेसम्म नेपालमा बनेको छैन् । जसले गर्दा विक्रीमै समस्या आएको हो ।
0 comments:
Post a Comment