ताप्लेजुङ, १० माघः मेची अञ्चलको हिमाली जिल्ला ताप्लेजुङमा महिलाका लागि ब्युटिपार्लर व्यवसाय स्वरोजगारको माध्यम बनेको छ । पछिल्लो समय युवा पुस्ता सौन्दर्यप्रति बढी आकर्षित बन्दै गएसँगै ब्युटिपार्लर व्यवसाय फस्टाएको र यही व्यवसाय महिलाहरुका लागि स्वरोजगारको माध्यम बन्दै गएको हो । ब्युटिपार्लर स्वरोजगार बन्नका लागि भरपर्दो माध्यम बनेकाले हाल व्यवसाय सञ्चालन गर्नमा महिलाहरु बढी आकर्षित पनि बन्दै गएका छन् । हिजोआज सदरमुकाम फुङ्लिङ लगायतका बजार तथा गाउँ–गाउँमा व्युटिपार्लर व्यवसाय खुल्नेक्रम रहेको छ । जति संख्यामा ब्युटिपार्लर खुलेपनि राम्रैसँग व्यवसाय चलेको सञ्चालकहरु बताउँछन् । आजभन्दा करिब १८ वर्ष अगाडि पहिलो पटक सदरमुकाम फुङ्लिङ बजारमा ब्युटिपार्लर स्थापना गरी सोही व्यवसाय आत्मनिर्भरको माध्यम बनेको सञ्चालक शान्ति सिवा बताउँछन् । ‘शान्ति’ ब्युटिपार्लर स्थापनाको दुई÷चार वर्षसम्म खासै आम्दानी नभए पनि त्यसपछि देखि भने ग्राहकहरु बढ्दै गएको र आम्दानी पनि राम्रो हुँदै गएको ब्युटिसियन शान्तिको भनाइ छ ।
सुरुमा ग्रामीण क्षेत्रका मानिसहरुको मात्र बजारमा बढी जमघट हुने र उनीहरुलाई सौन्दर्यको वास्ता नहुने हुँदा ब्युटिपार्लरका ग्राहक न्यून हुने गरेको सिवाको अनुभव छ । विस्तारै युवा तथा महिलाले व्यटिपार्लरको विषयमा बुझ्दै गएको र सौन्दर्यतामा उनीहरु आकर्षित बन्दै गएपछि ग्राहक बढ्दै गएको पनि सिवाले बताए । बजारभित्रै घर भएपछि कुनै न कुनै व्यवसाय अँगाल्नुपर्छ भन्ने लागेर सुरुमा ढाका उद्योग चलाउने मनसाय बनाए पनि व्युटिपार्लर व्यवसाय सुरु गरेको र हाल आएर यसै व्यवसायमा आत्मनिर्भर बनेको उनले बताए । व्यवसायबाट हुने आम्दानीले घरखर्च लगायत सबै खर्च धान्दै आएको उनको भनाइ छ । यस्तै, एक दशक अघिदेखि सदरमुकाम फुङ्लिङको मुख्यबजार वीरेन्द चौकमा मोर्डन ब्युटिपार्लर सञ्चालन गर्दै आएकी केशरी मादेनले पनि व्यवसायबाट राम्रो आम्दानी हुने बताइन् । करिब दुई लाख रुपैयाँ जति खर्चिएर काठमाडौंको फ्रेण्डसिप व्युटिपार्लर र झापा दमकको मोर्डन ब्युटिपार्लरमा डिप्लोमा सम्मको कोर्ष पूरा गरी आपूmले प्राप्त गरेको सोही सीपबाट यहाँ आएर ब्युटिपार्लर व्यवसाय सुरु गरेको मादेनको भनाइ छ ।
फुङ्लिङ बजारमा व्यवसाय सञ्चालन गरेपछि आम्दानी राम्रै हुँदै आएको मादेनले बताइन् । मादेन भन्छिन्, ‘आपूmले प्रदान गर्ने सेवाप्रति ग्राहकहरु सन्तुष्ट भएरै होला, प्रायः ग्राहकको भीड लाग्ने गरेको छ ।’ उनले व्यवसाय सुरु गरेदेखि नै न्यूनतम् २० देखि २५ हजार रुपैयाँसम्म मासिक आम्दानी भएको र त्यही आम्दानबाट बजारमा घडेरी खरिद गरी पक्की घर बनाएको बताइन् । हाल आफ्नै घरमा व्यवसाय ब्यवसाय सञ्चालन गर्दै आएको र आम्दानी पनि राम्रै रहेको उनको भनाइ छ । त्यस्तै, फुङ्लिङ बजारको हिकोला टोलमा न्यू सौन्दर्य ब्युटिपार्लर व्यवसाय सञ्चालन गर्दै आएकी सीता श्रेष्ठले पनि राम्रै आम्दानी हुँदै आएको बताइन् । विगत पाँच वर्षदेखि व्यवसाय सुरु गरेको र हाल मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म आम्दानी भइरहेको श्रेष्ठले बताइन् । उनले आफ्नो व्यवसायबाट ब्युटिपार्लर सम्बन्धी सम्पूर्ण सुविधाहरु र तालिम समेत दिने गरेको जानकारी दिइन् । पार्लरमा युवा पुस्ताका महिला मात्र नभई पुरुषहरु समेत आउने गरेको उनको भनाइ छ ।
यसरी ब्युटिपार्लर व्यवसाय सञ्चालन गरेर महिलाहरु आत्मनिर्भर बन्दै गएका र व्यवसायबाट हुने आम्दानीले जीवनशैलीमा नै परिवर्तन ल्याएको उनीहरु बताउँछन् । पार्लर व्यवसायबाट स्वरोजगार र आत्मनिर्भर बन्न सकिने भएकाले हाल सदरमुकाम फुङ्लिङ बजारमा मात्रै दुई दर्जन बढी ब्युटिपार्लर व्यवसाय सञ्चालित छन् भने ग्रामीण क्षेत्रमा रहेका चौक बजारहरुमा समेत दर्जनौ संख्यामा पार्लरहरु खुलेका छन् । यता घरेलु तथा साना उद्योग विकास समिति कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार भने सदरमुकामभित्र १७ र सदरमुकाम बाहिर तीन वटा मात्र ब्युटिपार्लर व्यवसाय सञ्चालन गर्नेगरी दर्ता भएका छन् । यो संख्यालाई हेर्दा दर्ता भएर भन्दा पनि दर्ता बिना नै धेरै संख्यामा पार्लर व्यवसाय सञ्चालन भइरहेका छन् ।
0 comments:
Post a Comment