सुमन लेप्चा
हर्कटे, ८ माघः इलामको सूर्योदय नगरपालिका–१२ मा पर्ने हर्कटेबजार प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको पहाडी क्षेत्र हो । जहिले पनि एकैनासको चिसो वातावरण हुनु यस क्षेत्रको प्रमुख विशेषता हो । उत्तरमा मनोरम कन्याम चियाबगान र दक्षिणमा सानो पाथीभरा मन्दिरले यस क्षेत्रको विकासमा थोरै भए पनि टेवा पु¥याएको छ । आफ्नो छातीबाट मेची राजमार्ग कुदेकाले यातायातको दृष्टिकोणबाट पनि सुगम ठाउँ हो हर्कटे बजार । ब्राह्मण, क्षेत्री, तामाङ्ग, राई, लिम्बू, खबास, गुरुङ्ग, विश्वकर्माको बाहुल बसोबास रहेको यस क्षेत्रमा ९८ प्रतिशत मानिस शिक्षित, १ दशमलव ५ प्रतिशत साक्षर र ० दशमलव ५ प्रतिशत निरक्षर रहेको सूर्योदय नगरपालिकाको तथ्याङ्कमा छ ।
यहाँका बासिन्दाहरुको पेशा कृषि नै हो । बेमौसमी खेतीका साथै प्रमुख नगदेबालीको रुपमा चिया, अदुवा, अम्लिसोबाट नै यहाँका मानिसले आय आर्जन गर्दछन् । तर पनि ७० प्रतिशत बासिन्दाहरुले होटल व्यवसाय र व्यापार गरेर पनि जीवनलाई थप शसक्त बनाउँदै लगेको पाइन्छ । रेखा, गीता, मुस्कान, झापा, सत्कार, कन्याम इन होटलहरु र दुर्गा दाइको किराना पसल, खगेन्द्र दाइको दूध डेरी, मनित फ्रेस मासु पसल, भण्डारी अंकलको चिया पसल, विकास मोटरसाइकल ग्यारेज र विजय पूल हाउस आदि यस बजारका गहना हुन् । व्यापार व्यवसाय गर्न खुलेका परिश्रमी हातका नविनतम यी नमूनाहरुले हर्कटे बजारको पहिचानलाई थप गहकिलो बनाइदिएका छन् । यहाँका बसिन्दाहरु एकअर्काप्रति सदभाव राख्ने, मृदुभाषी र मिलनसार पनि छन् । यहाँ मंगलबारको दिन हटिया लाग्ने गर्छ । दैनिक आवश्यक आधारभूत समानहरु खरिद गर्न अम्बे, गोगने, कन्याम, पाल्टाँगी, डब्बुगाउँ, कुटिडाँडा, गुप्ती, चिण्डेपानी, कोलबुङ्ग, तारगाउँ, जिर्मले, फाजीगाउँ, गोरख, श्रीअन्तु, समालबुङ्ग आदि स्थानबाट सर्वसाधारणको बजार भर्न आउने ठाउँ नै हर्कटे बजार हो । व्यवहारिक दृष्टिकोणले पनि यो स्थानलाई केन्द्रविन्दू मान्छन् यहाँका बासिन्दाहरु । यो क्षेत्रभित्र लुकेर बसेको पर्यटकीय भौगोलिक स्थान छ । जुन कार्य हामीले अहिले ग¥र्यौं भने निश्चित भोलिका दिनमा हर्कटे बजार पर्यटकीयस्थल बन्नेमा दुईमत छैन ।
हर्कटे बजार आफैंमा स्वर्ग झैँ छ तर प्रचार प्रसारको कमी अनि यस क्षेत्रमा भएको स्रोत साधनको पहिचान गर्नमा ढिलाई गरेको कारण सोचे अनुरुप विकास हुन सकेको छैन । वास्तवमा हर्कटे भौगोलिक बनावटले एकदमै साथ दिएको ठाउँ हो भन्दा फरक पर्दैन । किनकि यो क्षेत्र यति मिलेको छ कि, जता र्हेयो त्यतै पर्यटकीय स्थल बन्ने आधारहरु देखिन्छन् । यस क्षेत्रका बासिन्दाहरुलाई एकपटक बाघधारा जाने बाटोको डाँडामा उभिएर पारीपट्टि तारगाउँ जाने बाटोलाई हेर्दा कल्पना गर्न सकिन्छ कि ‘यहाँ एउटा झोलुङ्गे पूल भएको भए !’ त्यहाँभित्र हर्कटेलाई पर्यटकीय स्थल बनाउने प्रशस्तै आधारहरु देख्न सकिन्छ । अनि विकासको काम गर्ने जाँगर चल्नेछ साथै एकदिन अवश्य हर्कटे पर्यटकीय स्थल बन्ने कुरामा विश्वस्त बन्न सकिन्छ । यस ठाउँमा झोलुङ्गे पूल बनाउने हो भने भोटेकोसीमा गरिने बन्जीजम्प यही गराउन सकिन्छ । अनि त्यो झोलुङ्गे पूलमा उभिएर देखिने दृश्यहरुले पर्यटकलाई लोभ्याउने छ । कल्पित स्वर्गमा पाउने आनन्द यहाँ बनाइने झोलुङ्गे पूलमा उभिएर पाइनेछ । हर्कटेमा रहेको यस्तो भौगोलिक बनावटको प्रयोग गरी मानव निर्मित संरचनाले नेपालको पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय स्थल बन्नेमा दुईमत नहोला ।
यस भेगका शिक्षक–बुद्विजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा बासिन्दाहरु एकजुट भए यस क्षेत्रको प्रचारप्रसार गर्नको निम्ति कार्यक्रम संचालन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सकिन्छ र पर्यटकीय स्थल बनाएर विकासको छलाङ्ग मार्न सकिन्छ । यस क्षेत्रको सौन्दर्य प्याकेजमा समावेश गरेर बेच्न सक्छौं । यस क्षेत्रका हरेक बेरोजगार मानिसहरु स्वरोजगार हुनेछन् र आसपासमा उत्पादित अग्र्यानिक कृषिजन्य सामाग्रीहरु बिक्री गर्न टाढा जानु पर्ने छैन् ।
0 comments:
Post a Comment