इलाम, ८ माघः इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाले जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई आर्थिक सहयोग उपलब्ध गराएको छ । दक्षिण कोरियामा बस्ने नेपालीहरूले कोरियाबाट सङ्कलन गरिएको रकम संस्थालाई हस्तान्तरण गरिएको हो । समाजले शनिबार इलामको माईभगवती बृद्धाश्रमका लागि भवन निर्माणका लागि ४१ हजार, गोलाखर्कमा रहेको राहसल बाल अनाथलयलाई एक लाख एक हजार र दृष्टिविहीन बालबालिकालाई लत्ताकपडाका लागि २१ हजार नगद हस्तान्तरण गरिएको हो । बृद्धाश्रममा निर्माणाधीन भवनका लागि रकम अभाव भएको जानकारी प्राप्त भएपछि कोरियामा बस्ने नेपालीहरूले सहयोग सङ्कलन गरिएको इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार प्रतिक बोहोराले जानकारी दिए ।
त्यस्तैगरी गोलाखर्कमा रहेका अनाथ बालबालिकालाई शिक्षादिक्षामा टेवा पु¥याउने उद्देश्यले एक लाख एक हजार नगद हस्तान्तरण गरिएको छ । सूर्याेदय सेवा समाजका सल्लाहकार बोहोराले अनाथलयमा कार्यक्रमको आयोजना गरी अनाथलयका अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गरे । इलाम सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि बालमन्दिरकी श्रोत शिक्षिका महेश्वरी पाण्डेलाई समाजको तर्फबाट २१ हजार नगद हस्तान्तरण गरिएको हो । कोरियामा बस्ने इलामे तथा नेपाली दाजुभाईले आफूहरूले पाउने पारिश्रमिकबाट केही रकम र कोरियामा विभिन्न कार्यक्रम आयोजनाबाट रकम सङ्कलन गरी अनाथ, बृद्धबृद्धा तथा दृष्टिविहीन बालबालिकालाई सहयोग गरिएको समाजका सल्लाहकार शान्तिप्रसाद गौतमले बताए । इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाले यसअघि दोलखा जिल्लाको नाम्दु गाविसका करिब दुई सय भूकम्प पीडित, ताप्लेजुङ र सप्तरीका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले आर्थिक अवस्था कमजोर भएर काठमाडौंमा उपचाररत इनपाका सुशान्त तामाङलाई हालै तीन लाख रुपैंयाँ आर्थिक सहयोग प्रदान गरेको समाजका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिए ।
0 comments:
Post a Comment