जस्बिरेको कोठीडाँडामा पर्यटकीय पुर्वाधार तयार गरिने

माईपोखरी, ७ माघ: पुर्वको पर्यटकीय जिल्ला इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन स्थानीयहरु सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार ९ सय ५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो बनाउन र वनभोज थलोको रूपमा विकास गर्न स्थानीय जस्बिरे पर्यटन विकास सरोकार समितिनै बनाएर अघि बढिरहेका छन् ।
वि.सं १९२० मा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले यो ठाउँ मन पराएर कोठी बनाएर केही समय बसेकाले यस ठाउँको नाम नै कोठीडाँडा रहन गएको थियो । तत्कालिन शासनकालमा जङ्गबहादुर राणाका छोरी–ज्वाइँको दरबार भएकाले पनि कोठीडाँडाको ऐतिहासिक महत्व रहेको जस्बिरेका पूर्व शिक्षक सूर्य सुब्बाले बताए । यसको ऐतिहासिकतासँगै जोडेर आकर्षक थलोको रूपमा विकास गर्न स्थानीय जुटेको पनि उनले बताए ।
माइपोखरी गाविसले दिएको ५० हजारमा स्थानीयले आफ्नै तर्फबाट एक लाख ५० हजार रुपैंयाँ सङ्कलन गरी डाँडामा बाटो पु¥याएका छन् । डाँडाको वरिपरि बाटो निर्माण गरिरहेका छन्, जसको माध्यमबाट डाँडा वरिपरि घुमेर इलाम जिल्लाको आधाभन्दा बढी रमणीय भू–भाग दृश्यावलोकन गर्न सकिन्छ । चियाले ढाकिएको यो डाँडामा पार्क, चिल्ड्रेन पार्क निर्माण गर्दै घुम्न र वनभोज खान आउने पर्यटकका लागि आकर्षक थलो बनाउन लागिएको सरोकार समितिका अध्यक्ष गृष्म सुब्बाले बताए । यसका लागि गुरुयोजना बनाउने काम भइरहेको पनि उनले जानकारी दिए । वातावरणलाई समेत ध्यानमा राखेर प्राकृतिक रूपमा रमाउन चाहनेको रोजाइ कोठीडाँडा बन्न सकोस् भन्ने उद्देश्यले काम सुरू गरिएको स्थानीय कमल मुखियाले बताए ।
स्थानीय जनजीवन र संस्कृति झल्कने प्रतिमा स्थापना गर्ने र लोप भएर गएको रोटेपिङ बनाएर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको अध्यक्ष सुब्बाले बताए । ‘स्थानीय स्रोत साधन उपयोग गरेर यसलाई हामी सुन्दर बनाउने योजनामा छौँ’, अध्यक्ष सुब्बाले भने, ‘दातृ निकाय र सरकारलाई हारगुहार गरेर हामी कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन लागिपरेका छौँ ।’ पर्यटन विकासका लागि कोठीडाँडाका जग्गाधनीले समेत मञ्जुरी दिइसकेकाले यसलाई आवश्यकता अनुसार सुन्दर बनाउन कुनै समस्या नहुने पनि समितिले जनाएको छ ।
कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय जुटिरहेका बेला मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले स्थलगत निरीक्षण गरेर यो डाँडालाई पर्यटकीयस्थल बनाउन आफू पनि सकारात्मक रहेको बताए । डाँडाको अवलोकनपछि उनले यहाँबाट देखिने मनोरम दृष्यले पर्यटकलाई लोभ्याउने भएकाले यसको पर्यटकीय सम्भावना रहेको उनको बुझाइ छ । स्थानीय पर्यटन सरोकार समितिले निर्देशक द्यौरालीलाई डाँडाको पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गरेका छन् । कोठीडाँडा जिल्लाको सबैभन्दा बढी भू–भाग दृष्यावलोकनका लागि सबैभन्दा सहज र उत्तम थलो भएको बरबोटे गाविसका पूर्वउपाध्यक्ष गङ्गा भूर्तेलले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment