इलाम, २ माघः इलाम नगरपालिका ५ सुकिलुम्बामा फाल्गुनन्द विमानस्थल निर्माण शुरु हुँदा स्थानीयले ठ्रलै सपना बुनेका थिए । तर अहिले त्यो सपना मर्दै गएको छ । चार बर्ष अघि निर्माण शुरु हुँदा विमानस्थलकै पेटीमा घर भएकी चन्द्रकला खातीलाई धेरैले ‘अब काम दाम दुवै हुन्छ’ भनेका थिए । त्यो आश्वाासन पुरा भएन । कच्ची घरको पेटीमा उभिएर खातीले गुनासो गरिन्, ‘विमानस्थलले न रोजगार न घरबार बनायो ।’ दश रोपनी जमिन भएका उनीहरु अहिले १ रोपनीभन्दा कम जमिनमा खुम्चिएका छन् । मुआब्जा पाउने बेलामा टाठाबाठा आफन्तले पैसा लगेपछि सुकुम्बासी बन्ने चिन्ता बढेको उनले सुनाइन् । निर्माणाधीन विमानस्थल पेटीमा घर भएको खाती परिवारका नौ जना सदस्य सानो चिमे घरमा बसेको निकै भयो । बर्खा शुरु भएपछि उनीहरुको बास घरमा हुदो रहेनछ । खातीले सुनाईन्, ‘जेठदेखि दशैंसम्म अरुकै घरमा बस्छौं ।’ यस बर्षको दशैंअघिसम्म उनीहरुले स्थानीय छिमेकी याम निरौलाको घरमा बिताए ।
खातीले भनिन्, ‘हाम्रो जस्तै विजोक छ अरु पान सात घरको पनि ।’ गिट्टी कुटेर दैनिकी चलाउदै आएकी चन्द्रकलाकी ५२ बर्षीय आमा नरमाया खाती जग्गा गुमेपछि धेरैदिन रुदै हिडेकी थिइन् । आँशु झरौला जस्तो गरेर उनले गिट्टी कुट्ने कामसमेत नपाएको बताईन् ।
मुआब्जा लिएर विमानस्थलबाट तल घर बनाएकी रनमाया तामाङको मन पनि पिरोलिएको छ । उनले विमास्थल अब बन्दैन भन्ने हल्ला सुनेकी छिन् । गाउँका अरुले पनि यस्तै हल्ला सुनेका छन् । ज–जसले सुनेका छन्, उनीहरु सबै निराश देखिन्छन् । तामाङले भनिन्, ‘धेरैलाई सोधेँ, कसैले बन्छ भन्छन्, कसैले बन्दैन भन्छन् ।’ उनको दोश्रो पीर चाहिँ उनीसहित आठ घर पहिरोको उच्च जोखिखमा छन् । उनले भनिन्, ‘पीरै पीर छ, पहिरोले घर तान्न लागेको छ ।’ यो बर्ष पनि भल व्यवस्थापन नगर्ने हो भने घर पुरै बगाउने त्रास कायमै छ । पहिरोको चपेटामा परेको घरजग्गा बेच्न खोज्दा पनि कसैले किन्दैन । उनले सुनाईन्, ‘न मर्ने न बाँच्ने अवस्था आयो ।’
स्थानीयलाई पहिले एयरपोर्ट बन्ला जस्तो लागेको थिएन । सरकारले जग्गा देउ भनेपछि स्थानीय बसोबास छोडेर बाहिर जान तयार भएका थिए । तामाङलाई दुखका दिन आउलान् जस्तै लागेको थियो, अहिले त्यस्तै भयो । ‘पहुँच पुग्ने ठाउँमा कराईरहेका छौं, कसैले सुन्दैन’, उनले भनिन् । बनाएको नाली समेत भत्किएपछि जोखिम बढेको उनले बताइन् । उनले पनि खाती परिवारजस्तै गुनासो गरिन्, ‘बर्खा लागेपछि राम्रोसँग सुत्नसमेत पाईदैन ।’
निर्माणाधीन एयरपोर्टभन्दा माथि घर भएकी सरिता तामाङलाई पनि एयरपोर्ट निर्माणको काम सकिएला जस्तो लागेको छैन । पाँच बर्षमा काम सकिन्छ भन्ने सुनेकी उनले चार बर्षमा पनि केहि प्रगति नदेखिएकोले निराश बनेको बताईन् । एयरपोर्टको बाँझोमा बाख्रा चराउदै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘लामो समयदेखि कामनै भएको छैन ।’
सदरमुकामबाट ५ किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्म जग्गा व्यवस्थापनको प्रयास भएको थियो । जग्गा खाली गरिएपछि ४ बर्षअघि काम शुरु गरिएको हो । चाहिएजति बजेट नआउँदा सबै काम अलपत्र परेको स्थानीय बताउँछन् । एयरपोर्ट बनेपछि कमाई होला भन्ने सपना बोकेका स्थानीयको घरखेत निर्माणाधीन एयरपोर्टको भलले बर्षेनि बगाउने गरेको छ ।
विमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको बर्षदिन पछि मात्र नालीको काम शुरु गरिएको थियो । चालु आर्थिक बर्षमा सरकारले एक करोड बजेट विनियोजन गरे पनि यस बर्ष काम शुरु भएको छैन । नागरिक उड्डयान प्राधिकरणका अनुसार विमानस्थललाई कालोपत्रे सहित सञ्चालनको लागि ४३ करोड बजेट लाग्छ । बर्षमा एक करोड मात्र बजेट छुट्टिने हो भने अब ३५ बर्षमा मात्र विमानस्थलको काम सकिने प्राधिकरणको अनुमान छ । प्राधिकरणका इञ्जिनियर नलविक्रम थापाका अनुसार ड्रेनाइज व्यवस्थापनमा १२ करोड, रनवे कालोपत्रेलाई १७ करोड र टर्मिनल भवनलाई ६ करोड हाराहारी बजेट आवश्यक पर्छ । उनका अनुसार आवश्यक बजेट तत्काल उपलब्ध गराएपनि निर्माण सम्पन्न गर्न ३ बर्ष लाग्नेछ । उनले विमानस्थल निर्माणको कामनै रोकिएको हल्ला निराधार भएको बताए । १८ यात्रु अटाउने ट्विनअट्टर जहाज चल्ने विमानस्थलको लागि आवश्यक तीनसय २६ रोपनी जग्गा जिल्लास्थित सरोकारवाला निकाय र व्यक्तिबाट दुईकरोड २६ लाख रकम सङ्कलन गरि स्थानीयबाट अधिग्रहण गरिएको थियो । ६० मिटर चौडा र सातसय ६० मिटर लम्बाई भएको धावनमार्ग निर्माण भएको छ ।
एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री हुँदा शिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेताहरुको चासो पछिल्लो समयमा घटेको स्थानीयको आरोप छ । शिलान्यास अघि नै विमानस्थल बनाउन प्राविधिक रुपमा उपयुक्त नभएको विज्ञहरुले सुझाव दिएका थिए । उनीहरुले झापाको विमानस्थल नजिक रहेको, सडकको सहज पहुँच भएको कारण देखाउदै विमानस्थल बनाउन आवश्यक नभएको समेत सुझाव दिएका थिए ।
विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, नाली निर्माण, विमान पार्किङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको कालोपत्रे सडक र नाली निर्माणको काम बाँकी नै रहेको नेपाल नागरिक उड्डयान प्राधिकरणले जनाएको छ । एयरपोर्ट निर्माण सम्पन्न भई विमानले उडान भर्न थालेपछि मेचीका पहाडी जिल्ला र सिमापारी भारतको दार्जिलिङ, कालिङपोङ र सिक्किमका बासिन्दाका लागि आवागमनमा सहज हुने ठानिएको छ ।
0 comments:
Post a Comment