आत्महत्यामा इलामलाई उछिन्दै झापा


इलाम, २३ पुस ः कक्षा ११ को परीक्षा बिग्रिएको पीडा सहन नसकेर झापा बिर्तामोड नगरपालिका –६ निवासी एक किशोरीले शुक्रबार झुण्डिएर आत्महत्या गरिन् । बिर्तामोडस्थित एक कलेजमा अध्ययनरत ती किशोरीले घरको सिलिङमा सलको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनी जस्तै इलाम लक्ष्मीपुर–२ निवासी १९ वर्षीय एक किशोरीले पनि ११को परीक्षामा सोचे जस्तो नतिजा (डिस्टिङ्सन) ल्याउन नसकेपछि गएको शनिबार आत्महत्याको असफल प्रयास गरिन् । उनी बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएकी छिन् । उनले शनिबार दिउँसो १ः२० मा आत्महत्याको असफल प्रयास गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । इलामबाट अध्ययनका लागि झापा आएकी उनी बिर्तामोड नगरपालिका–६ किरात चोकमा डेरा गरी बस्दै आएकी थिइन् । उनी बिर्तामोडमा रहेको देवी उच्च माविमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले सोचे जस्तो नतिजा ल्याउन नसकेपछि आत्महत्याको असफल प्रयास गरेकी हुन् । 
कोठामा उनले तारको पासो लगाएर आत्महत्याको प्रयास गर्दागर्दै आफन्तले देखेपछि तत्काल उनको उद्धार गरिएको प्रहरीले जनाएको छ । पासो लाग्नुअघि उनले हातको नशा काटेको प्रहरीले जनाएको छ । उनीहरु त पछिल्ला प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटना झापामा एकपछि अर्को गर्दै क्रमिक रुपमा बढेर गएको छ । पछिल्लो समय मानसिक तनावका कारण आत्महत्या गर्नेको संख्या झापामा अधिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा झापामा ५९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने उमेर समूह १६ देखि २५ वर्षको अधिक छ । १६ देखि २५ वर्ष उमेर समूहका २० जनाले ४ महिनामा आत्महत्या गरेका छन् । त्यस्तै ५१ देखि माथिका १५, ३६ देखि ५० वर्ष उमेर समूहका १३, २६ देखि ३५ वर्ष उमेर समूहका ९, १५ वर्षमुनिका २ जना बालबालिकाले पनि आत्महत्या गरेका छन् । दुई वर्षअघिसम्म आत्महत्या गर्नेको संख्या नेपालमै इलाम अग्रस्थानमा थियो । तर, पछिल्लो दुई वर्षमा झापा आत्महत्या गर्नेको संख्या देशमै अग्र स्थानमा छ । पछिल्लो तीन वर्षमा झापामा आत्महत्या गर्नेको संख्या ७०९ रहेको छ भने चालू आर्थिक वर्षको चार महिनाको जोड्दा आत्महत्या गर्नेको संख्या ७ सय ६८ पुगेको छ । चालू आर्थिक वर्षमा झापामा झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक क्षेत्रीका अनुसार ५१ जनाले पछिल्लो चार महिनामा झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै आठ जनाले विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरी उपरीक्षक क्षेत्रीले बताए । प्रहरीका अनुसार आर्थिक वर्ष ०७०÷०७१मा ५१ जनाले विषादी सेवन, १८३ ले झुण्डिएर, १ जनाले आगो, १ जनाले औजार प्रयोग गरी आत्महत्या गरेका छन् । त्यस्तै ०७१÷०७२मा ५५ जनाले विषादी सेवन, १८३ जनाले झुण्डिएर, ३ जनाले आगो लगाएर आत्महत्या गरेका छन् । 
त्यस्तै आर्थिक वर्ष ०७२÷०७३मा विषादी सेवन गरेर ४२, १९३ले झुण्डिएर र आगो लगाएर तीन जना तथा औजार प्रयोग गरी दुई जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । झापाको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा कार्यरत मानसिक तथा नशा रोग विशेषज्ञ डा.सन्दिव बर्माका अनुसार कसै कसैले वंशाणुगत कारणले पनि आत्महत्या गर्ने गरेका छन् । उनका अनुसार अधिकांशले मानसिक तनाव, बेरोजगारी, लागूऔषध र अत्याधिक मदिरा सेवन, घरायसी समस्या, विलासिताको जीवन जीउने चाहना लगायतका कारणले आत्महत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment