तेस्रो माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीब्र

इलाम, २९ माघः इलाम सदरमुकाममा भव्य र प्रतिष्ठित रुपमा विसं. २०७१ सालदेखि संचालन हुँदै आएको माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी तीब्र गतिमा अगाडि बढेको छ । आगामी चैत १७ गतेदेखि २६ गतेसम्म स्थानीय ठुलो टुँडिखेलमा आयोजना हुने प्रतियोगिताको तयारीको लागि विविध समिति तथा निणर्यहरु गरिएको छ । शनिबार प्रतियोगिताको आयोजक संस्था माईभ्याली फुटबल क्लबको दोस्रो साधारण सभा तथा प्रतियोगिताको पुर्व तयारी सन्दर्भमा आयोजित कार्यक्रममा यस बारे जानकारी गराईएको हो । प्रतियोगिता संचालनार्थ आयोजक टीम तयारी गर्नको लागि महेश श्रेष्ठको संयोजकत्वमा मंगेश बस्नेत र मुकेश दाहाल भएको खेलाडी छनौट उपसमिति गठन भएको छ । जुन समितिले जिल्लाभरका उत्कृष्ट फुटबल खेलाडीहरु छान्ने र उनीहरुलाई प्रशिक्षण दिने बताईएको छ । त्यस्तै प्रतियोगितामा सहभागी हुने टीमका खेलाडी–प्रशिक्षक–अफिसियल, अतिथि, खेल निर्णायक टोली लगायतकाहरुको खानपिन तथा बसोबासको प्रबन्ध मिलाउन पुस्कर बुर्जाको संयोजकत्वमा छेतेन शेर्पा, थेवा तामाङ र सुरेन राई सम्मिलित अतिथि व्यवस्थापन उपसमिति गठन भएको छ । यता प्रतियोगितामा सहभागी हुने टीमहरु निश्चय गर्नको लागि जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्गीको संयोजकत्वमा क्लबका अध्यक्ष धिरेन चेम्जोङ, जनकराज सिंह, विप्लव कोइराला र मुकेश दाहाल भएको उपसमिति चयन भएको छ । उपसमितिका अनुसार प्रतियोगितामा १० टीमको सहभागिता रहने र पोखराको साहारा फुटबल क्लब अनुपस्थित हुने भएमा भुटानका क्लबलाई निमन्त्रणा गरिनेछ ।
प्रतियोगितालाई मर्यादित बनाउन तिलक ठकुरीको संयोजकत्वमा वीरेन्द्र देवान, साङ्गे येल्मु, कृष्ण कार्की, छेतेन शेर्पा, सचिन भक्तराज सम्मिलित स्वयमसेवक परिचालन उपसमिति गठन भएको छ । समितिका अनुसार यसपटक क्लबका सबै साधारण सदस्यहरुलाई नैं स्वयम सेवकको रुपमा परिचालन गरिने भएको छ । प्रतियोगिताको सम्पुर्ण पक्षहरुको प्रचार–प्रसार गर्नको लागि क्लबका उपाध्यक्ष वसन्त थाम्सुहाङको संयोजकत्वमा जनकराज सिंह, राजेश पराजुली र सन्दिप प्रधान रहेको उपसमिति गठन भएको छ । समितिका अनुसार प्रतियोगिता तयारी अवस्था देखि संचालन अवधिमा सम्म विभिन्न संचार संस्थाहरुसँग समन्वय गरी छापा लगायत रेडियो, टेलिभिजन र अनलाईनमा प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाइनेछ । त्यस्तै रविन राईको संयोजकत्वमा सुवास राई, सनमान तामाङ, गोपाल सुवेदी, राम खत्री, गणेश खतिवडा सम्मिलित प्राथमिक उपचार उपसमिति गठन भएको छ । यता मर्मत संभार भईरहेको खेल आयोजनास्थल ठुलो टुँडिखेलको स्तर कायम राख्न क्लबका सचिव दिनेश काफ्लेको संयोजकत्वमा होम खवास, जीवन देवान, सुजन भक्तराज, वीरेन्द्र देवान, विप्लव कोइराला सम्मिलित उपसमिति गठन भएको छ । प्रतियोगिताको आयोजकतर्फबाट खेलाडी प्रशिक्षण गर्नको लागि मंगेश बस्नेत, दर्शन भक्तराज, याम राई र राजु थापा सम्मिलित उपसमिति समेत गठन भएको छ ।
साधारण सभामा क्लबका अध्यक्ष चेम्जोङले हालसम्म प्रतियोगिता संचालनको क्रममा भईरहेको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तेस्रो संस्करण आयोजना गर्न यस पटकदेखि पहिलो पुरस्कारको प्रायोजन अन्य संस्करणहरुमा पनि नियमितरुपमा गर्नका लागि गोर्खा ब्रुअरी अर्थात टुर्बोग बियरसँग सहमति भएको, उत्कृष्ट खेलाडीलाई प्रदान गरिने यामाहा मोटरसाईकल प्रयोजन गर्न कम्पनीसँग सहमति भएको, रमपम चाउचाउ र मारुती सिमेन्ट उत्पादक कम्पनीसँग यसपटक पनि प्रायोजनको लागि सहमति भएको अध्यक्ष चेम्जोङले बताए । क्लबको दिगो आम्दानी तथा प्रतियोगितामा समेत प्रयोग गर्ने हेतुले यस भन्दा अघिल्लो प्रतियोगितामा पहिलो पुरस्कार प्रायोजन गर्ने समाजसेवी पञ्चकन्या जहरसिंहगाउँ निवासी हाल राजधानीमा रहेका तारा सापकोटाद्धारा एम्बुलेन्स प्राप्त गरिने, प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजन गर्नको लागि समाजसेवी तथा राजनैतिककर्मी डम्बर खड्कासँग संवाद भईरहेको, क्लबले महिला तथा विद्यालय स्तरीय फुटबल प्रतियोगिता संचालन गर्न इलाम नगरपालिका निवासी हाल काठमाडौंमा रहेका वसन्त पराजुलीसँग समन्वय भईरहेको बारे सभामा जानकारी दिईएको थियो । हाल मर्मत भईरहेको ठुलो टुँडिखेलको खर्च १० लाख छयहत्तर हजार आठ सय नब्बे रुपैंयाँ भएको र केहि रकम भुक्तानी दिन बाँकी रहेको जनाइएको छ । 
साधारण सभाकै अवसरमा क्लबका साधारण सदस्य अर्जुनजंग सिजापतिले प्रतियोगिता संचालनका लागि एक्काईस हजार रुपैंयाँ समेत उपलब्ध गराएका छन् । क्लबले विधान अनुरुप कार्य समितिको बैठकमा नियमित उपस्थित नभएका एक सदस्यको स्थानमा तिलक ठकुरीलाई सदस्य चयन गरेको छ । साथै यो फुटबल प्रतियोगिता इलामबासीहरुको प्रतिष्ठा भएकोले यसलाई दिगो रुपमा संचालन गर्ने व्यवस्था मिलाउनका लागि सम्पुर्ण इलामबासीहरुलाई तन, मन र धनको सहयोग माग गर्ने साधारण सभाले निणर्य समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment