दोस्रो रमपम झापा गोल्डकपः उपाधि होडमा झापा र मनाङ


झापा, २३ माघः मोफसलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल आज सोमबार हुँदैछ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रतियोगिताको उपाधिका लागि आयोजक रमपम झापा–११ र यो सिजनकै सर्वाधिक सफल मानिएको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी फुटबल क्लब मैदान उत्रिदैछन् । घरेलु टोली झापा–११ ले शुक्रबारको पहिलो सेमीफाइनल खेलमा हिमालयन शेर्पालाई ४–०  गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो । मनाङले भने शनिबारको अन्तिम सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको हो । यी दुबै टोलीले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरिसकेका छन् । र, उपाधि उचाल्ने लक्ष्यका साथ सोमबार मैदानमा उत्रँदै छन् ।
डिफेन्डिङ च्याम्पियन आर्मी यसपटक सेमीफाइनलबाटै घर फर्किएपछि आफ्नो टीमलाई केही सहज महसुश भएको झापा–११ का कप्तान प्रवेश कटुवालले बताए । ‘फाइनलमा मनाङसँगै भेट होस् भन्ने हामी पनि चाहन्थ्यौँ,’ आइतबार रङ्गशालामा आयोजित प्रि–म्याच कन्फरेन्समा प्रवेशले भने, ‘आर्मी शारीरिकरुपमा बलियो टोली थियो । मनाङ र हामी (झापा–११) टेक्निकल्ली बलियो छौँ ।’ 
गतवर्षको झापा गोल्डकपमा घरेलु टोली झापा–११ आर्मीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । ‘गत वर्षको हारको पीडा भुलाउन यसपटक जीतको विकल्प छैन,’ प्रवेशले भने । झापा–११ फाइनलमा ४–३–३ को पोजिसनमा मैदान उत्रिने उनले जानकारी दिए । टिमवर्क नै झापा–११ का लागि जित्ने आधार भएको बताएका उनले सबै खेलाडी फाइनल भिड्न तयार रहेको प्रतिक्रिया दिए । 
मनाङका प्रशिक्षक छिरिङ गुरुङले आफ्नो टीम यो सिजनमा सशक्त रहेको दाबी गरे । गत वर्षको झापा गोल्डकपको सेमीफाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो । यसपटक सेमीफाइनलमै आर्मीलाई हराउँदै मनाङले बदला लियो । आर्मीलाई पाखा लगाएपछि उपाधि जित्नेमा आफूहरु ढुक्क रहेको प्रशिक्षक गुरुङ बताउँछन् । यद्दपि, उनले फाइनल खेलका लागि टीमको रणनीति भने सुनाउन चाहेनन् । ‘हाम्रो रणनीतिसँगै केही खेलाडी पनि फेरिन सक्छन्,’ उनले भने । टोली मजबुत रहेसँगै टिमवर्क पनि राम्रो हुनु नै उपाधि उचाल्ने आधार भएको उनको भनाई छ । प्रशिक्षक गुरुङले विक्रम लामा र रोहित चन्द आएपछि मनाङ झनै बलियो भएको बताए । 
अघिल्लो सिजनमा झापा र मनाङ २ पटक आमने–सामने भएका थिए । दुईवटै भिडन्तमा मनाङले बाजी मारेकाले मनोबल उच्च रहेको गुरुङ बताउँछन् । उनले झापा–११ को मिडफिल्डको भने तारिफ गरे । यसअघि झापा र मनाङको भेट ६ पटक भइसकेको छ । जसमा मनाङले ४ खेल जित्दा झापाले २ वटा मात्र जीत निकाल्न सकेको थियो । एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment