सुदिप श्रेष्ठ
इलाम, २७ फागुनः स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति इलामले सिफरिस गरेको इलामको स्थानीय तहको संरचनामा हेरफेर गर्दै सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ । नयाँ संविधानअनुसार स्थानीय तह निर्धारण आयोगले बनाएको प्रतिवेदन परिमार्जनसहित सरकारले राजपत्रमा प्रकाशित गरेको हो । संविधानअनुसार यो प्रतिवेदन प्रकाशित भएपछि शुक्रबारदेखि यसअघिका सबै स्थानीय निकाय खारेज भएका छन् । स्थानीय निकायलाई हटाएर संविधानअनुरुप स्थानीय तह बनेपछि शुक्रबारदेखि कार्यान्वयनमा आएको हो । मन्त्रिपरिषदले यही फागुन २२ मा सातसय ४४ स्थानीय तह हुनेगरी गरेको निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको छ । इलाममा भएको ३ नगरपालिका र ४३ गाविसको संरचना खारेज भई शुक्रबारदेखिनै ४ नगरपालिका र ६ गाउँपालिकाको तह कार्यान्वयन भएको छ । इलाम नगरपालिका, देउमाई नगरपलिका, सुर्योदय नगरपालिका र माई नगरपालिका गरि चार स्थानीय तहमा नगरपालिका शुक्रबारदेखि कार्यान्वयनमा आएको छ भने गाउँपालिकाहरुमा चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम, सन्दकपुर, माईजोगमाई र रोङ रहेका छन् । यो सँगै शुक्रबारदेखिनै लागु हुनेगरि इलाम नगरपालिकामा इलाम नपा, गोदक, सोयाक, बरबोटे, सुम्बेक, पुवामझुवा, साखेजुङ, माइपोखरीको बडा नं. १, २, ३, साङरुम्बाको वडा नं. १ देखि ६ र सिद्धिथुम्काको वडा नं. ७ समाहित भएका छन् । परिमार्जनसहित राजपत्रमा प्रकाशित भएको तथ्याङ्कमा इलामबाट सिफारिस गरिएको संरचनामा १३ ठाउँमा परिमार्जन गरिएको छ । परिमार्जन गरिएकोमा वडा संरचना र गाउँपालिकाका केन्द्रहरु मात्र छन् । देउमाई नगरपालिकाको वडा नं. २ मा देउमाई वडा नं. १ र चमैताको वडा नं. ७ र ८ सिफारिस गरिएकोमा चमैताको वडा नं. ७ र देउमाईको वडा नं. १ र २ मिसिएर स्थानीय तह बनेको छ । यसैगरि देउमाई नगरपालिकाको वडा नं. ४ मा देउमाई वडा नं. २, ३, ४ सिफारिस गरिएकोमा देउमाईको वडा नं. ३ र ४ मिसिएर स्थानीय तह बनेको छ ।
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति इलामले माई नगरपालिकाको केन्द्र दानाबारीको शितली गोल्टार सिफरिस गरेकोमा राजपत्रमा भने साविकको दानाबारी गाविसलाई कायम गरेको छ । फाकफोकथुम गाउँपालिकाको केन्द्र फाकफोक ९ साप्तिनमा सिफारिस गरिएकोमा राजपत्रमा आमचोक गाविस तोकिएको छ । पुर्नसंरचना प्राविधिक सहयोग समिति इलामले आमचोकलाई पहिलो बिकल्पको रुपमा सिफारिस गरेको थियो । यसै गरि फाकफोकथुम गाउँपालिकाको वडा नं. ६ मा एकतप्पाको १ देखि ४ र चमैताको वडा नं. ९ सिफारिस गरिएकोमा राजपत्रमा एकतप्पाको १ देखि ४ तथा चमैताको वडा नं. ८ र ९ हुने व्यवस्था गरिएको छ ।
चुलाचुली गाउँपालिकाको केन्द्र समेत हेरफेर भएको छ । चुलाचुली गाउँपालिकाको केन्द्र चुलाचुली ७ सिफारिस गरिएकोमा राजपत्रमा साविकको चुलाचुली गाविस हुने व्यवस्था गरिएको छ ।चुलाचुलीको बडा नं. ४ मा वडा नं. ७ र ८ हुने सिफारिस गरिएकोमा चुलाचुली वडा नं. ७ मात्र हुने व्यवस्था गरिएको छ ।
चुलाचुली गाउँपालिकाको वडा नं. ५ मा साक्फारा १, २ र चुलाचुली ९ सिफारिस गरिएकोमा चुलाचुली ८ र ९ मात्र हुे व्यवस्था गरिएको छ । चुलाचुली गाउँपालिकाको बडा नं. ६ मा साक्फाराको वडा नं. ३ देखि ९ सिफारिस गरिएकोमा साक्फाराको ९ नै वडा रहने व्यवस्था सहित राजपत्रमा प्रकाशित गरिएको छ ।
माङ्सेबुङ गाउँपालिकाको केन्द्र इभाङ ६ चतुरे सिफारिस गरिएकोमा राजपत्रमा साविकको इभाङ गाविस नै केन्द्र हुने व्यवस्था छ ।
रोङ गाउँपालिकाको वडा नं. ३ मा इरौटारको वडा नं. ३, ४ कोल्बुङको वडा नं. १, २, ५, ६, ७, ८ सिफारिस गरिएकोमा इरौटारको वडा नं. २,४ र कोल्बुङको वडा नं. १, २, ५, ६, ७, ८ हुने व्यवस्था गरिएको छ । यसैगरि सोहि गाउँपालिकाको वडा नं. ४ मा इरौटार २ र कोल्बुङको वडा नं. ३, ४, ९ सिफारिस गरिएकोमा इरौटारको वडा नं. ३ तथा कोल्बुङको ३, ४ र ९ हुने व्यवस्था छ ।
सन्दकपुर गाउँपालिकाको केन्द्र सिफरिस गरेभन्दा परिवर्तन भएको छ । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति इलामले देउराली बजारलाई केन्द्र सिफरिस गरेपनि राजपत्रमा साविकको माइपोखरी गाविस भवनलाई केन्द्र भएको उल्लेख गरिएको छ । योसँगै सिफारिस भएको भन्दा १३ वटा फेरबदल भई स्थानीय तह राजपत्रमा प्रकाशित छ ।
0 comments:
Post a Comment