प्रसिद्ध बेहुली ढुङ्गाको कथा.....

पञ्चमी, ३० जेठ  ढकमक्क फुल्ने रातो लालिगुराँस र कतै कतै सेतो गुराँसहरु चैतरबैशाखमा देखिन्छ । सिजनमा वरिपरी मगमग सुगन्धले भरी रहने सेतो फुल्ने चापको वास्ना , चुत्रो र रङ्ग बनिने बनस्पतिका दृश्यका साथमा रमणीय बस्तीहरुले सजिसजाउ भएको पुर्व तर्फ इलाम फाकफोकथुम –४, फुएतप्पा, दक्षिणी पाँचथरको मिक्लाजुङ –४, रबि बजार, पश्चिम पाँचथरका सुन्दर गाउँहरु वलने, आरुबोटे दशमी र उत्तरमा सप्तमी बजार साथै साराङडाँडा जस्त ठाँउहरुको संगम स्थल जुन विकसित हुँदै गरेको रबि बजार देखि २ किलोमिटर उत्तरी भाग महाभारतडाँडामा अवस्थित थामडाँडा हो ।
यसै ठाँउमा प्रसिद्ध बेहुलीढुंगा देवी रहेकी छिन् । नेपाल सरकारको कालोपत्रे (पक्की) सडक बनाउन उच्च प्राथमिकतामा परेको राँके भेडेटार सडक पनि यहि बाटो भएर जान्छ । प्राचिन किम्वदन्ती अनुसार बेहुलीलाई अन्माएर डोली चढाई जन्तीका साथ बेहुलाको घरमा जाँदै गर्दा बेहुलीलाई थामडाँडामा आइपुगे पछि पिसाब लागेकाले उनी पाखा गईन, तर केही समयमा पनि बेहुली फर्किनन् । बेहुलीलाई यताउता सबै ठाँउ खोजी गर्दा कहि कतै भटिएन त्यहीँ विलिन भइन् । बेहुला सहित जन्ती र घरगाउले सबैले खोजे पछि बेहुलीलाई २र३ दिन पछि भेटियो तर निर्जीव रुपमा एक शिलापत्थरको आकारमा बदलिसकेकी थिईन महिला पुर्व तर्फ घोप्टो परेर बसे जस्तो अवस्थामा पाइयो । यसै किम्वदन्तीका आधारमा यस पथर (शिला) ढुंगालाई नारीको रूपमा मान्ने गरिन्छ।उनको निर्जीव अनि अज्ञात पीडाबारे कसैलाई थाहा नभएको र बेहुलीको आँखाबाट अविरल निक्लेको आँसुजल भौतारिदै जाँदा हाल पाँचथर तर्फ बग्ने नुवाखोलाको उत्पति भएको हो भन्ने परम्परागत विश्वास पाइन्छ । यो नदि तम्मोर नदिमा पुगेर सप्तकोसीमा मिसिएको हो भन्छन् स्थानीय सप्तमीबासि पुर्णबहादुर राई ।
बेहुली ढुंगाको दर्शन गर्न आउँदा मानिसहरुले बेहुली घुम्टो, माला, चुरा, श्रृङ्गारका सामान र महिलाले प्रयोग गर्ने बस्त्र पनि चढाउने चलन छ । यहाँ दर्शन गर्नाले चिताएको पुग्ने, ग्रह दशा अन्त्य हुने, आत्मा शान्ति मिल्ने, सत्य तर्फ मन जाने, सद्बुद्धि आउने आदि धार्मिक आस्था रहेको छ ।
कुनै युवा युवतीको विवाह गर्न खोज्दा एक अर्काले चाहे जस्तो वर बधु नपाइएमा र बालबच्चा नहुने दम्पतिले पनि यस स्थलमा आइ माग गर्ने चलन छ । केही समय पहिला यस ठाँउमा एकादशी तिथिको दिन मेलाबजार पनि लाग्ने गरेको र किराँत धर्मवलम्बीहरु उधौलीरउभौली पर्वमा यस ठाँउ आइ पुजा गर्ने गरेको राइले बताए । बेहुलीढुंगा अवस्थित थामडाँडा पुग्दा प्रकृतिका अनेकौं सुन्दर र आकर्षक अग्ला डाँडाकाँडा सहित मनमोहक दृश्य अवलोकन गर्न सकिने जस्ले कयौंको मन लोभ्यएरै छोड्छ बर्णन गरेर साध्यै छैन ।
पर्यटकीय गन्तव्य बन्न सक्ने धार्मिक तिर्थ स्थलको प्रचार प्रसार अधि बढाई बेहुली ढुंगाको महिमालाई कदर गर्नु पर्ने स्थानीयको माग छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment