दार्जिलिङमा आन्दोलनका क्रममा तीनको ज्यान गयो

दार्जिलिङ, ३ असार: भारतमा छुट्टै राज्यको माग गर्दै आएको गोर्खाल्याण्ड समर्थकको हत्या गरिएको छ । प्रदर्शनको क्रममा रहेका गोर्खाल्याण्ड समर्थकहरुलाई भारतीय सेनाले गोली हानी हत्या गरेको हो । हालसम्म तीनजना आन्दोलनकारीको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  
दार्जिलिङमा पुलिसले टीयर ग्याँससँगै गोली चलाएका थिए । स्थानीय प्रशासनले गोली नचलाएको बताइरहेको छ भने मृतकको शरिरबाट सेनाले चलाएको गोली पाइएको छ । ‘हामीले अहिलेसम्म दुईजनाको शव प्राप्त गरिसकेका छौँ,’ भारतबाट प्रकाशन हुने नेपाली समाचार पोर्टल खबरम्यागजिनसँग विनय तामाङले भने, ‘अझ एकको शव निकाल्न पाइएको छैन । 
जम्मा तीनको मृत्यु भइसकेको छ । एकजनाको शव सिंहमारी पुलिस स्टेशनमाथिको जङ्गलमा छ भन्ने खबर आएको छ ।’ यता पुलिसले गोली नचलाएको जिकिर गरिरहेको छ तर भारतीय राष्ट्रिय मिडियाले टीयर ग्याँससितै गोली चलाएको दृष्य पनि देखाइरहेको छ । विनय तामाङले घाइते हुनेहरूको संख्या सय नाघेको बताएका छन् । गोली चलेपछि र सिंहमारीमा आईआरबी कमान्डेन्ट किरण तामाङमाथि पनि आक्रमण गरिएको छ । ममता ब्यानर्जी सरकारले दङ्गा भड्काउन नेपाली मुलका सैनिकलाई नियोजित तवरले आक्रमण गरेको आन्दोलनकारीले दाबी गरेका छन् । आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड प्राप्तिको लागि यो आन्दोलन अन्तिम लडाई भएको बताएका छन् ।  आन्दोलनकारीको हत्याको विरोध गर्दै गोर्खाल्याण्डका समर्थकहरुले सिलिगुढीमा मौन जुलुस निकालेका छन् । यसैबिच पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोजमुमो आतङ्कककारी भएको प्रतिक्रिया दिएकी छिन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता