मुना अधिकारी
इलामः दोस्रो चरणको निर्वाचन मिति नजिकिदै गर्दा निर्वाचन आचारसहिंताबारे राष्ट्रिय मानव अधिकार आयोगले ध्यानार्षण गराएको छ । इलाममा भएका निर्वाचन आचारसहिंताका बारेमा निर्वाचनमा खटिने कर्मचारी, पत्रकार, मतदान अधिकृत लगायतलाई आफ्नो कार्य मर्यादित ढङ्गबाट गर्नका लागि आयोगले आह्वान गरेको छ ।
निर्वाचनको मौन अवधिको समयबाट कुनै पनि राजनीतिक दलहरुले प्रचारप्रसार गर्न नपाइने र १२ गतेबाट राजनीतिक गतिविधि झल्किने कुनै प्रकारका पोसाक लाउन नहुने जस्ता विषयहरुको ध्यानाकर्षण गराएको हो ।
यस्तै इलाम जिल्लामा दलहरुले प्रचारप्रसार कार्यमा आचारसहिंता उल्लंघन गरेका सन्दर्भमा समेत सरोकारवाला निकायहरुसँग छलफल गर्दै राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको हो ।
निर्वाचनको दिन प्रयोग हुने सवारीसाधन पास सम्बन्धमा प्रष्ट पार्नका लागि साथै निर्वाचन गतिविधिमा भएका अन्योललाई हटाउन सबै जिल्लाहरुमा राष्ट्रिय मानव अधिकारको दृष्टिबाट निर्वाचन अवधिमा दलहरु लगायत अन्य मतदाता लगायतलाई मनोनयनको अवस्था, निर्वाचन अवधि र मतगणना अवधिभरी आयोगले पर्यावेक्षण गर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बताए ।
चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि इच्छा र चाहनाले नै बालबालिकाहरु पार्टीका झण्डा बोक्ने टोपी लगाउने गरेको अनुगमनमा पाइएको र यस्ता कार्य राजनीतिक दलहरुले भरसक नगर्न र बालबालिकालाई चुनावमा सहभागी नगरायन आग्रह गरेको छ ।
यस्तै रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाहरुमा मौन अवधिको समयबाट कुने पनि राजनीतिक दलहरुको प्रचारप्रसार, विज्ञापन बजाउन नहुने जनाएको छ । पहिलो चरणको निर्वाचनमा मतपत्र च्यात्ने तथा मतको दुरुपयोग गर्नेलाई निर्वाचन अधिकृतले धरौटी, जमानी जस्ता शब्दै प्रयोग नगरि सोझै पाँच वर्ष कारागार भित्र राख्ने सजाय तोक्न पनि राष्ट्रिय मानव अधिकार आयोगले आह्वान गरेको छ ।
छलफल कार्यक्रममा उच्च अदालत बार इकाईका अध्यक्ष सुदिप बोहोरा मानव अधिकार मञ्च इलामका सचिव देवेन्द्र विश्वकर्मा, नागरिक अगुवा धर्म गौतम, सञ्चारकर्मीहरु लगायतले जिज्ञासा राखेका थिए ।
