‘दार्जिलिङमा अस्थायी बसोबास गर्ने नेपालका नेपालीलाई त्यो पीडा गएर सोध्नुहोस् र त्यसको पनि समाचार बनाउनुहोस्’
समग्र दार्जिलिङ गोर्खाल्याण्डको मागमा आन्दोलित छ । गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा शुरु भएको यो पछिल्लो आन्दोलनमा स्थानीय अन्य राजनीतिक दलहरु आफ्नो झण्डा त्यागेर गोर्खाल्याण्डको मागमा सडकमा उत्रिसकेका छन् । आन्दोलनको क्रममा ४ जनाले ज्यान गुमाइसकेका छन् भने सैयौ घाइते भइसकेका छन् । गोर्खाल्याण्डको समर्थनमा इलाम, धरान, काडमाण्डौ लगायत नेपालका विभिन्न सहरहरुमा समेत प्रदर्शन भइसकेको छ । केहि दिन अघिसम्मको सामाजिक सञ्जालहरुमा हेर्ने हो भने समग्र देश नै दार्जिलिङमा गोर्खाल्याण्डको माग जायज भएको र नेपालमा रहेका नेपालीहरुको समर्थन रहेको अभिव्यक्ति पाइन्छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दार्जिलिङमा गोर्खाल्याण्डको माग जायज भएको प्रतिक्रिया दिइसकेका छन् । अहिले दुई दिन अघिजस्तो परिस्थिति छैन । समग्र नेपाल सामाजिक सञ्जालमा एण्टी गोर्खाल्याण्ड मुभमेण्टमा स्खतिल भइसकेको छ । दार्जिलिङका नेपालीले नेपालका नेपालीहरुको आन्दोलनमा समर्थन आवश्यक नभएको र गोर्खाल्याण्ड स्थापनामा दार्जिलिङबासीहरु आफै सक्षम भएको प्रतिक्रियाहरु सामाजिक सञ्जालमा आउन थालेपछि परिस्थिति बदलिएको छ । दार्जिलिङका नेपालीहरुले नेपालका नेपालीहरुलाई गरेको दुव्र्यबहारले सिमा नाघेपछि परिस्थिति उल्टिएको हो । नेपालका नेपालीहरुलाई अनपढ, पहाडे, पाखे, गरिब, भारतसँग निर्भर देशका जनता जस्ता शब्दहरुको प्रयोग गर्ने तथा व्याक अफ नेपाल ह्यासट्याग ट्रेण्ड गरेपछि दुव्र्यबहारका विरुद्ध नेपालका नेपालीहरु खनिन शुरु गरेका छन् । गोर्खा जनमुक्ति मोर्चाका एक नेताले त ‘नेपाल जस्तो गरिब राष्ट्रसँग आन्दोलन र गोर्खाल्याण्डको सम्बन्ध हुनु असम्भव भएको’ मिडियामा प्रतिक्रिया दिएपछि दार्जिलिङप्रतिको नेपाली सद्भावमा खलल आएको हो ।
एक दिन अघि सम्म भारतीय नेपालीहरुको दुव्र्यबहारको प्रतिकार मात्र गरेका नेपालका नेपालीहरुले सामाजिक सञ्जालमा दार्जिलिङबासीले गोर्खाल्याण्ड नामको राज्य माग गर्नु जायज नभएको बताएका छन् । इलाम र झापाको पर्यटन प्रवद्र्धनका लागि खुलेको नर्थ नेपाल एडभेञ्चर ट्राभल्स सञ्चालन गरेर इलाममा बसोबास गरेका लक्ष्मीपुर झापाका युवा प्रशान्त गिरीले त एक भिडियो नै सार्वजनिक गरेर गोर्खाल्याण्ड नामको खुलेर विरोध गरेका छन् । उनले भिडियोमा यसो भनेका छन्, ‘नमस्ते, फेसबुक, युट्युब तथा अन्य सामाजिक सञ्जालमार्फत जोडिनुभएका सम्पूर्ण नेपालीहरु, भारतको पश्चिम बङ्गालमा छुट्टै गोर्खाल्याण्ड राज्य मागको विरुद्धमा म उभिएको छु । माने लिनुस्, ममता व्यानर्जी सरकारले केन्द्रिय सरकारलाई छुट्टै गोर्खाल्याण्ड राज्य दियो । त्यसपछि को २÷४ बर्षमा के हुनेवाला छ, थाहा छ ?? तपाई नेपालीलाई एउटा विदेशीले विदेशी भुमिमा गोर्खाल्याण्ड कहाँ पर्छ भनेर सोध्यो भने के उत्तर दिनुहुन्छ ?? तपाईले त्यति बेला भन्नै पर्छ, गोर्खाल्याण्ड भारतमा पर्छ । किनकि त्यहाँ त एउटा प्रान्तकै नाम गोर्खाल्याण्ड हुनेछ । विश्बभरका मानिसहरुले गोर्खाल्याण्ड भारतमा छ भनि बुझ्न कत्ति बर्ष पनि लाग्दैन । अनि २÷४ बर्षमा नै नेपालको सयौ बर्षको गौरबको गोरखा इतिहास नामेट हुनेछ । यसलाई म फेरि दोहो¥याएर भन्छु, दार्जिलिङ क्षेत्रलाई गोर्खाल्याण्ड भन्ने हो भने नेपाललाई के भन्ने ?? विश्बको कुनै कुनामा हामी गोरखे भनेर चिनाउदा, ‘‘ओ, सो यु आर फ्रम इण्डिया ??’’ भनेर विदेशीले भन्दा हामीले उत्तर के दिने ?? अब, तपाई हाम्रो हातमा छ, हामी गोर्खालीको इतिहास नामेट पार्ने कि, भारतमा बस्ने नेपालीभाषी हरुको छुट्टै राज्यको नाम गोर्खाल्याण्ड राख्नुको अलावा अरु नै नाम सुझाव दिने ?? म यहाँबाट पश्चिम बङ्गालका मुख्य मन्त्री ममता व्यानर्जी तथा सो क्षेत्रका विजेपी का सांसद सुरेन्द्र सिंह अहलुवालियालाई अनुरोध गर्न चाहन्छु, सिंगो नेपाल देश नै गोर्खाल्याण्ड हो, दार्जिलिङ होइन । दार्जिलिङमा छुट्टै राज्यको हामी समर्थन गर्दछौ, तर त्यसको नाम गोर्खाल्याण्ड नराख्न अनुरोध गर्दछु, त्यसो नगरिएमा म यो गोर्खा भुमिबाट चुनौती दिन चाहन्छु, तपाईले यसको बदलामा कुनै पनि मूल्य चुकाउन तयार हुनुपर्छ ।’
उनको यो भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ । उनको यो भिडियो विभिन्न फेसबुक पेजहरुमा अप्रत्यक्ष रुपमा २० लाख ले हेरिसकेका छन्, प्रत्यक्ष १२ लाखले हेरिसकेका छन् । २ लाख भन्दा बढीले सो भिडियोमा प्रतिक्रिया दिइसकेका छन् । नेपालको गौरब र नेपालको शान गोर्खा भन्ने शब्दावलीलाई भारतीयले प्रयोग गर्न पाउदैनन्, यदि गोर्खाल्याण्ड राज्यको भारतमा स्थापना भयो भने विश्वले गोर्खा भनेको भारत हो भनेर बुझ्न कति पनि वेर नलाग्ने सो भिडियोको मर्म हो । भिडियोको विषयमा चियाबारी दैनिकसँग कुरा गर्दै उनले भने, ‘सगरमाथा, गौतम बुद्ध र गोर्खालीको देश भनेर चिनिने नेपालको चिनारीलाई भारतलाई हस्तान्तरण गर्न दिइनु हुदैन ।’ उनको यस भनाइलाई नेपालका नेपालीहरुले सहि कुरा भएको प्रतिक्रिया दिएका छन् । भिडियो को अर्थ सहि लागेर १५ हजारले फेसबुकमा शेयर समेत गरेका छन् । २ सय बर्ष पूरानो गोर्खाको नेपालको इतिहासलाई दुई चारबर्षमै नामेट हुदै गरेको नेपालीहरुले टुलुटुलु हेर्नु नहुने उनको भनाइ छ । भिडियो सार्बजनिक भएपछि नेपालका नेपालीहरुले ‘गोर्खाल्याण्ड इज वन्ली नेपाल’ भन्ने मुभमेण्ट नै सामाजिक सञ्जालमा शुरु गरेका छन् । भारतमा भएका अल्पसङ्ख्यक नेपालीहरुले छुट्टै राज्य पाउनुपर्नेमा आफ्नो समर्थन रहेको बताउदै उनीहरुले नाममा मात्र आफ्नो विरोध रहेको बताएका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ता प्रज्वल भट्टराईले हामीसँग भने, ‘दार्जिलिङमा चरिकोटबाट गएका नेपालीहरु भरियाको काम गर्छन् । नेपालका राजा महाराजा र सम्भ्रान्तवर्गले पनि दार्जिलिङबाट नै औपचारिक शिक्षा लिएको इतिहास हामीसँग छ । अर्को, नेपालको राजनैतिक स्वरुप कहिल्यै पनि स्थिर छैन र भुपरिवेष्टित राष्ट्र भएकोले नेपालको धेरै कुराहरु भारतमा निर्भर छ । यहि तीन आधारका कारण दार्जिलिङका नेपालीहरुले नेपालका नेपालीहरुलाई हेपाहा प्रबृत्ति देखाउदै आएका छन् । त्यो दमन त तपाईले दार्जिलिङमा बसेर मात्र महसुस गर्न सक्नुहुन्छ । दार्जिलिङमा अस्थाइ बसोबास गर्ने नेपालका नेपालीलाई त्यो पीडा गएर सोध्नुहोस् र त्यसको पनि समाचार बनाउनुहोस् ।’