ताप्लेजुङ–चीन जोड्ने सडक निर्माणका लागि अर्थले दियो ६० करोड

ताप्लेजुङ, असार: नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार–ओलाङ्चुङगोला–टीपतालापास सडक खण्ड निर्माणका लागि अर्थ मन्त्रालयले ६० करोड रुपैंयाँ निकासा गरेको छ । वहुवर्षीय ठेक्कामार्फत कार्य अघि बढाउन अर्थले उक्त रकमको स्वीकृती दिएको हो । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई वहुवर्षीय ठेक्काको सहमति प्रदान गरेको हो । उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले वहुवर्षीय ठेक्का प्रणालीमार्फत कार्य अघि बढाउन अर्थ मन्त्रालयले भौतिक योजना मन्त्रालयलाई ६० करोड ४५ लाखको बजेटमा सहमति दिएको बताए । करिब ३ महिनाअघि लोकमार्ग आयोजनाले निमार्णाधीन सडक खण्डलाई ओलाङ्चुङगोला र टीपतालापाससम्म जोड्ने प्रयासस्वरुप ६० करोड बढीको बजेट प्रस्ताव सडक विभागमा पेश गरेको बताएको थियो । सडक विभाग हुँदै भौतिक मन्त्रालयमार्फत अर्थ पुगेको बजेट प्रस्तावलाई अर्थले सहमति प्रदान गरेपछि पूर्वी नेपालको समृद्धिको ढोका खुल्ने संकेत देखिएको छ । उत्तर दक्षिण लोकमार्ग आयोजनाको यो खण्डका लागि बजेट प्राथामिकतामा नपरेको स्थानीयको गुनासो र दलहरुको तीव्र दबावसँगै अर्थले लोकमार्ग आयोजनाको बाँकी कामका लागि वहुवर्षीय ठेक्का प्रणालीमा सहमति जनाउँदै रकम कबोलसमेत गरेको छ ।
अर्थले भौतिक योजना मन्त्रालयलाई राष्ट्रिय योजना आयोगको वहुवर्षीय ठेक्का बन्दोबस्ती सम्बन्धी निर्देशिका–२०७३ का मापदण्ड पूरा गरी कार्य अघि बढाउन, राष्ट्रिय योजना आयोगबाट संशोधित कार्यक्रम स्वीकृत तथा सहमति लिन र प्रत्येक वर्ष सञ्चालन हुने क्रियाकलाप र नतिजा झल्कने गरी गुरुयोजना स्वीकृत गर्नसमेत परिपत्र गरेको छ ।उत्तर दक्षिण लोकमार्ग आयोजना हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेकोे प्रस्तावलाई भौतिक मन्त्रालयले चलानी नम्बर १९०८, मिति २०७३ साल चैत २७ गते अर्थ मत्रालयमा पेश गरेको थियो । लोकमार्ग आयोजनाका प्रमुख नेपालीले टीपतालापासबाट ओलाङ्चुङगोलातर्फको सडक निमार्ण कार्य जारी रहेको र सुकेटार–ओलाङ्चुङगोला सडकका लागि पनि वहुवर्षीय ठेक्का गर्न अनुमति प्राप्त भएकोले नयाँ आशाको सञ्चार भएको बताए ।  चालू बजेटबाट निमार्णाधीन यो सडक खण्डको लेलेपसम्म जोड्न सकिने र वहुवर्षीय ठेक्का सडक निमार्णका लागि प्राप्त भएको अनुमति अनुसार अब निमार्ण कार्यले थप गति लिने नेपालीले जानकारी दिए । यसैबीच, सुकेटारबाट पाथीभरा जाने सडक खण्डको ३ किलोमिटर भाग चालू आर्थिक वर्ष्भित्रै कालोपत्रे हुने भएको छ । 
उत्तर दक्षिण लोकमार्ग आयोजनाले अहिले पक्की रहेको भागबाट पाथीभरातर्फ जाने मार्गको ३ किलोमिटर सडक खण्ड वि.सं.२०७५ साल अगावै पक्की बनाइ सक्ने गरी योजना अघि बढेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता