हरियो पत्तीको उत्पादन वृद्धि

इलाम २० जेठ : मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप पनि बढेको छ । गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि यस वर्ष भने उत्पादन दोब्बर भएको छ । यतिबेलाको हरियोपत्ती गुणस्तरीय हुने कृषक बताउछन् । गत वर्ष सिँचाइ अभाव भएका ठाउँमा फस्ट फ्लस उत्पादन चैत अन्तिम सातामात्रै भएको थियो । यस वर्ष चैत सुरूमै चियाले उत्पादन दिन थालेकाले परिमाण पनि बढेको छ । सदरमुकामस्थित इलाम चिया बगानमा यस वर्ष पहिलो टिपाइमै १० हजार किलो हरियोेपत्ती उत्पादन भएको कारखानाकी इन्दिरा गुरूङले बताईन् । कारखानाले दैनिक दुई सय ५० किलोभन्दा बढी हरियोपत्ती प्रशोधन गर्दै आएको छ ।
माइपोखरीस्थित माइपोखरी चिया प्रशोधन कारखानामा पनि यस वर्ष कारखानाले प्रशोधन गर्न नभ्याउने गरी हरियोपत्ती आएको कारखाना सञ्चालक शरद सुव्बाले बताए । उच्च गुणस्तरको अ¥ग्यानिक चिया उत्पादन बढेकाले कारखानाले संकलन भएको हरियोपत्ती नजिकैको अर्काे कारखाना पठाइरहेको जनाएको छ । फाकफोकस्थित तीनजुरे चिया सहकारी संस्थामा पनि यसपटक हरियोपत्ती उत्पादन बढेको छ । गत वर्षभन्दा यस वर्ष ४५ प्रतिशत भन्दा बढी उत्पादन भएको जनाइएको छ । सहकारीले आफैंँ कारखाना स्थापना गरेर पत्ती प्रशोधन गरिरहेको छ । यहाँ तयार भएको तयारी चिया जर्मनी, अमेरिका, जापानसम्म निकासी हुने गरेको छ । कारखानाले प्रतिकिलो रु ७० सम्ममा किसानबाट हरियोपत्ती खरिद गर्दै आएको संस्थाका व्यवस्थापक सोमनाथ शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment