इलाम १२ असारः बच्चाहरुलाई हेरचाह गर्न सके लागुऔषध प्रयोगकर्ताको संख्या समेत घट्नेमा इलाम सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय इलामले आयोजना गरेको कार्यक्रमका सहभागीले लागुऔषध प्रयोग गर्ने बानीको विकास नै बच्चा अवस्थाबाट सुरु हुने भएकाले उनीहरुको राम्रो हेरचाह गर्न सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बच्चाको दैनिक दिनाचार्य, विचार गर्दै विद्यालय जाँदा, आउँदा र विद्यालय भित्रको क्रियाकलाप समेत निगरानी गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय इलामका प्रमुख जीवनकुमार मल्लले बालबालिकालाई घरबाट टाढा राखेर पढाउँदा समेत कुलतमा फस्न सक्नेभन्दै भरसक घरैमा राखेर विद्यालय पठाउनुपर्ने धारणा ब्यक्त गरे । सात वर्ष देखी बाह् वर्ष उमेर समूहकै धेरै बच्चाहरुले लागुऔषध प्रयोग गर्ने गरेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा नागरिक समाजका अगुवा धर्म गौतमले लागुऔषध सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । लागुऔषध के हो ? यसको प्रयोगबाट पर्ने असर र अपनाउनुपर्ने सावधानीका विषयमा समेत उनले जानकारी गराएका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक शुसिलकुमार यादवले जिल्लामा हाल सम्मको लागुऔषधको बारेमा भएका घटना सम्वन्धि चर्चा गरेका थिए । वर्षेनी लागुऔषध प्रयोग गर्नेको संख्ख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ । प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले प्रस्तुत गरेको तथ्याङ्क अन्सार गत २०७१÷७२ मा लागुऔषध सम्बन्धि तीनवटा मुद्दा परेको, छ वटा प्रतिवादी परेको, तीन जना पक्राउ परेको र तीन जना फरार रहेको उल्लेख छ । त्यस्तै ७२÷७३ मा चार मुद्दा, चौध प्रतिवादी, एघार पक्राउ र तीन जना फरार रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ७३÷७४ मा आठवटा मुद्दा, बाह्वटा प्रतिवादी, दशजना पक्राउ र दुईजना फरार रहेको तथ्याङका उल्लेख छ । कार्यक्रममा सहायक प्रजिअ सफल पोर्तेल, सहित विभिन्न सञ्चार माध्यममा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जनचेतनामुलक वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
